एउटै भीरबाट लडेर ८ जनाको मृत्यु



हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठमा रहेको तारेभीरबाट लडेर आठजनाको ज्यान गएको छ ।

आठजनामध्ये कसैले घाँस काट्दाकाट्दै लडेर ज्यान गुमाएका छन् भने कतिपयको हिँड्दाहिँड्दै लडेर मृत्यु भएको हो । कसैले मादक पदार्थ खाएर यही बाटो हिँड्दा ज्यान गुमाएको हलेसी मन्दिर व्यवस्थापन समिति पूर्वअध्यक्ष गजुरमान राईले जानकारी गराए ।

तारेभीरबाट लडेर बिर्खबहादुर राई (गैरीगुठ), इन्द्रा राई, घमण्डसिंह राई (तल्लो चिचिङ्गा सल्ले), पञ्चकला राई, कमान परियार, हैकमसिंह राईको भाइ र गोदाम विकको भतिजोले ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेमध्ये इन्द्रा राई घाँस काट्दै गर्दा तारेभीरबाट लडेकी थिइन् । तारेभीर हलेसी महादेवस्थानबाट १ हजार ८०० मिटर दूरीमा रहेको छ । ज्यानमारा तारेभीरबाट आवात–जावत गर्नुको विकल्प छैन ।

किरात बाघवंशी–सल्ले–लामिडाँडा एयरपोर्ट सडक खनिए पनि भीरको बाटो हिँड्नुपर्ने छँदै छ । हलेसी तुवाचुङ नगरपालिका–७ गैरीगुठवासी मात्रै होइन, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेवासीसमेत यही बाटो हिँड्नुपर्ने बाध्यता छ ।

ज्यानमारा तारेभीरबाट ज्यान गुमाउनेले गुमाए पनि जीवितहरू भने अझै डराएका छैनन् । मादक पदार्थ खाएर निष्फिक्री आफ्नै सुरमा तारेभीरबाट हिँडिरहेका बटुवा देखिन्छन् । घाँस काट्नेहरू काटिइरहेकै छन् । ‘होसियारीपूर्वक हिँड्दासमेत डराउनुपर्ने बाटोमा मादक पदार्थ खाएर हिँड्नु भनेको काल निम्त्याउनु हो,’ हलेसी तुवाचुङ नगरपालिका–७ गैरीगुठनिवासी गजुरमान राईले सचेत गराए, ‘भीरबाट लडेपछि अडिने ठाउँ छैन । त्यसैले सबै सचेत भएर यो बाटो हिँड्नुपर्छ । सचेत भएर हिँड्न सुझाउनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्