‘आइसोलेसन’बाट आमालाई भावुक चिट्ठी



आदरणीय आमा,

म कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला संयोजक भएर कति काम गरियो । गरिएन । के–कस्ता सहज वा असहज परिस्थिति सामना गरियो । हाम्रो प्रयास कामयावी भए कि भएनन् ? समीक्षा होला नै । जेहोस् काम गर्दै अघि बढ्दै जाँदा म आफैं पनि कोरोना संक्रमित भए छु ।
कोरोनासँग लडाइँ लडिरहेको अवस्थामा स्वास्थ्यकर्मीको नाताले जनताको स्वस्थ जीवनका लागि काम गरिरहेकी तपाईंको स्याहार–सुसार गर्ने बुहारी पनि कोरोना संक्रमित भइन् ।

हामी ‘आइसोलेसन’मा छौं । १०२ वर्षीया वृद्धा तपाईं लामो समयदेखि ओछ्यान पर्नुभएको छ । बूढ्यौलीको जीर्ण शरीर । त्यतिमात्रै होइन, होश कम भएको अवस्थामा छाडेर ‘आइसोलेसन’मा बसिरहनुपर्दा नमीठो लाग्नु स्वाभाविकै हो । कान्छा खोई भन्दै मेरो खोजी गर्नुहुन्थ्यो रे । यो खबर दाजुहरूबाट पाएकै छु ।

लेखककी १०२ वर्षीया आमा ।

तर, के गर्ने आमा ! आफ्नो स्वास्थ्य, कोरोना संक्रमणका कारण अनि वर्तमान परिस्थितिले म तपाईंलाई भेट्न असमर्थ छु । आमा, मलाई माफ गरिदिनुहोस् ल । खाना राम्ररी खान छाड्नुभएको त असारदेखिकै हो । त्यसैले कार्यालयभन्दा घरमा समय दिन थालेको थिएँ । म ‘आइसोलेसन’मा हिँडेपछि त आज दिउँसो दाजुहरू, बुहारी र छोराहरूबाट जानकारी पाएँ– तपाईं शिथिल हँुदै जानुभएको छ रे । खाना खान छाडेर पेयपदार्थमात्रै पनि मुस्किलले निल्दै हुनुहुन्छ रे । सायद हामी छोराबुहारीकै खोजी इसाराले गरिरहनुभएको होला ।

दुवै दाजु, नाति–नातिनी र पनातिनीहरू त साथमै रहेर तपाईंको स्याहार–सुसार गरिरहनुभएको छ ।

मेरो पुकार सुन्ने कोही छन् भने बिन्ती गर्छु, ‘कम्तीमा हामीले कोरोना जितेर घर पुगेर हाम्री आमासँग भेट होस् । तपाईंको काखमा एकछिन बालकझैं लुटपुटिएर आशीर्वाद लिन पाऊँ ।’

प्रतिक्रिया दिनुहोस्