एकादेशको कथा बन्दै पिङ संस्कृति


लमजुङ । हिन्दु धर्मावलम्बीको महान् चाड दसैंं–तिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि सहर–बजारमा दसैं आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ ।

झन् यस वर्ष कोभिड–१९ का त्रासका कारण दसैंका बेला पिङ हालिएको छैन । विगतमा दसैं आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौं दर्जन रोटेपिङ, जाँतेपिङ र लिंगेपिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्र्याे । बिस्तारै समाजका युवाले आधुनिक कला–संस्कृतिलाई अँगाल्न लागेपछि मौलिक संस्कृतिका अंग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एकचोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि बिस्तारै टुट्दै गएको छ ।

आधुनिकताको विकास क्रमसँगै विभिन्न मेला–महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ । दोर्दी गाउँपालिकाका बुद्धिमान श्रेष्ठले भने, ‘दसैंंका बेला यहाँ केही वर्षसम्म लिंगेपिङ गाउँगाउँमा राखिन्थ्यो । खेलिन्थ्यो । त्यतिमात्रै नभई, प्रायःजसोका घर–घरमा समेत बाबियोको डोरी बनाएर पिङ हालेर खेल्दै आयौं । तर, अहिले घर–घरमा त के, गाउँमै पिङ लोप हुन थालेको छ ।’ कोभिड–१९ ले गर्दा पिङ हालेर भीडभाडसमेत गर्न नहुने भएकाले चाहना भएर स्थानीयले पिङबाट मनोरञ्जन गर्न नसकेको श्रेष्ठको भनाइ छ ।

सालिन्दा दसैं–तिहारमा पिङ हाली खेलेर हुर्कंदै आए पनि केही वर्षदेखि पिङ नै लोप हुन थालेकामा राइनास नगरवासी चिन्ता गर्छन् । सालिन्दा दसैंं–तिहारमा लिंगे तथा रोटेपिङ हालेर खेल्ने खेलाउने गरिए पनि गाउँघरमा केही वर्षदेखि लोप हुँदै गएको बेंसीसहर नगरपालिका–३ गाउँसहरवासी बताउँछन् ।

स्थानीय सुरेश श्रेष्ठका अनुसार गाउँलेले पिङ हाल्दै आए पनि रोटेपिङ निर्माण गर्न धेरै समय र खर्च, आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ । गाउँसहरमा रहेको लमजुङ दरबारनेर सालिन्दा हालिँदै आएको रोटेपिङ गत वर्षदेखि निर्माण भएको छैन । यस वर्ष पिङ हाल्ने स्थानीयको सोच भए पनि कोभिड–१९ का कारण पिङ नबनाइएको श्रेष्ठको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा केही दिनअघि एक सूचना जारी गर्दै भीडभाड नगर्न आग्रह गरिएपछि जिल्लावासीले पिङ निर्माणप्रति चासो दिएनन् ।

प्रतिक्रिया दिनुहोस्