दसैं हजुरबाको प्रतिविम्ब



हुन त धेरै नै वर्ष भइसक्यो
पुरानो भयो, फाट्यो
अन्त्यमा मक्किएर धुजाधुजा भई
खै कहाँ मिसिन गयो त्यो जुत्ता ।

हजुरबाले यस्तै दसैंमा
बजारबाट त्यही मिल्ट्री जुत्ता ल्याइदिनुहुँदा
लागेको थियो,
संसारमा मभन्दा भाग्यमानी को होलान् ?
पुरानो भयो, फाट्यो
अन्त्यमा सक्किएर हावामा, खोलामा, आकाशमा
खै कहाँ मिसिन गयो त्यो जुत्ता ।

हुन त धेरै वर्ष भइसक्यो
हजुरबाले किन्दिएको मेरो त्यो जुत्ताजस्तै
हजुरबा पनि उमेर र आयुको जिन्दगीबाट
क्रमशः मक्किँदै–मक्किँदै
अन्त्यमा यो सांसारिकताबाटै सक्किएर
खै कहाँ मिसिन जानुभो ।

हुन त धेरै नै वर्ष भइसक्यो
आज म बाउ बनिसक्दा सम्झिरहेछु
हजुरबा भएर अभावमा पनि
दसैंजस्तो चाडमा
नातिप्रतिको उत्तरदायित्वको कठघरामा
आफैंलाई उभ्याइरहेको छु ।

हुन त धेरै वर्ष नै भइसक्यो
तर मलाई पनि सम्झनाका बचपनाहरूले छोडेका छैनन्
हजुरबाको र मेरो त्यो दसैं
मैले मिल्ट्री जुत्ता पाएको दसैं पोहोर नै जस्तो लाग्छ
तर यस्ता दसैं र यस्ता पोहोरहरू धेरै आएछन्
र, यसपालि पनि आएको छ, एउटा त्यस्तै दसैं
अक्सर यस्ता दसैंहरू
प्रत्यक साल आउने गर्छ
मेरो हजुरबाको प्रतिविम्ब लिएर ।
साझा बस्ती, खोटाङ ।

प्रतिक्रिया दिनुहोस्