काँग्रेस नेतामा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित


काठमाडौं । काँग्रेससम्बद्ध केही नेतामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयमा गत असोज १५ गते गरिएको पीसीआर परीक्षणक्रममा पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, जङ्गीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायत अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, काठमाडौंबाहिर परीक्षण गरेका केन्द्रीय सदस्य रमेश रिजाल र अजयकुमार चौरसियामा समेत कोरोना संक्रमण पुष्टि भएकाले स्वास्थ्य मापदण्ड ध्यानमा राखी असोज १९ गते बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेस केन्द्रीय समितिको बैठक असोज २५ गते दिउँसो २.०० बजेका लागि निर्धारित गरिएको समेत मुख्य सचिव पौडेलले बताए । काँग्रेसले कोरोना संक्रमण देखिएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवम् अन्य सबैको शीघ्र संक्रमण मुक्तिका लागि कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्