वाप्लुखामा बिजुली–बत्ती बल्दा भोजभतेर


वाप्लुखा (खोटाङ) । शुभकार्यमा भोजभतेर गर्नु स्वाभाविकै हो । तर, विद्युत् विस्तार हुँदासमेत भोजभतेर गरिएपछि स्थानीय कति खुसी भएका होलान् भनेर ठम्याउन असजिलो छैन । प्रसंग– खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन गरेको ७५ लाख र नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको १ करोड रुपैयाँले वाप्लुखामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार हुँदा स्थानीयले भोजभतेरमात्रै गरेनन्, सांस्कृतिक झाँकीसहित खुसियाली मनाए ।

केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि वाप्लुखाको सुम्लेखा र काम्दाखाका ८० घर स्थानीय लाभान्वित भएका छन् । ४२५ घरधुरी रहेको वाप्लुखाका अन्य टोलमा समेत विद्युत् विस्तारलाई तीव्रता दिइएको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका वडाध्यक्ष दीपेन थुलुङले जानकारी गराए ।

किरात राई समुदायको सांस्कृतिक झाँकी साकेला सिलीसहित आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख प्रदीपकुमार राई र उपप्रमुख कविता राईले रिबन काटेर केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको औपचारिक उद्घाटन गर्दा गड्गडाहट ताजी बजेको वल्लोदेखि पल्लो गाउँसम्म सुनिएको थियो ।

‘केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गर्न बाँकी तीन वडाका विद्युतीकरणलाई तीव्रता दिइएको छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘९ वडा रहेको गाउँपालिकाको वडा नम्बर १ लिकुवापोखरीलाई मात्र विद्युत् जोड्न बाँकी छ । भोजपुरसँग सिमाना जोडिएको लिकुवापोखरीको सीमासम्म मेन लाइन विद्युत् विस्तार भइसकेको छ । लिकुवापोखरीसँगै वाप्लुखा र सावाकटहरेमा विद्युतीकरणको कामले तीव्रता पाएको छ ।’

गाउँपालिकाका बड्कादियाले, चिप्रिङ, इन्द्रेणीपोखरी, खोटाङबजार, सिम्पानी र लिच्कीराम्चेका ९५ प्रतिशत उपभोक्ताको घरमा विद्युत् पुगिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्