साकेलाको सतर्कता : सामाजिक सुरक्षा–भत्ता सदुपयोगका लागि अभियान



खोटाङ । साकेला गाउँपालिकाले सामाजिक सुरक्षा–भत्ता वितरणमा हुँदै आएको अनियमितता रोक्न अभियान थालेको छ ।

मृत्यु भएका, बसाइँ सरेका, दोहोरो सुविधा लिएका वा अन्य व्यक्तिको नाममा गलत कागजात तयार गरेर सामाजिक सुरक्षा–भत्ता दुरुपयोग भएको सूचना पाएपछि यसअघि हुँदै आएको अनियमितता रोक्न गाउँपालिकाले अभियान थालेको हो ।

यसअघि नक्कली कागजात बनाएर सामाजिक सुरक्षा–भत्ता वितरणमा अनियमितता गरेको पाइएपछि रोक्न अभियान थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । ‘मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहो¥याएर, एउटै नागरिकता नम्बर देखाएर र एउटै जन्ममिति उल्लेख गरेर सामाजिक सुरक्षा–भत्ता दुरुपयोग गरेको पाइयो,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘आगामी दिनमा यस्तो हुन नदिन दाबी विरोधका लागि १५ दिने सूचना जारी गरिएको छ ।’

गाउँपालिकाले आफ्नो आधिकारिक वेबसाइटमार्फत पाँचवटै वडाका सामाजिक सुरक्षा–भत्ता पाउने एक हजार २१४ व्यक्तिको नामावली सार्वजनिक गरेको छ । दाबी विरोधका लागि वडा नम्बर–१ बाँझेच्यानडाँडाका ३५५, वडा नम्बर–२ रतन्छाका २९८, वडा नम्बर–३ खिदिमाका १२७ जना, वडा नम्बर–४ मात्तिमका २५९ र वडा नम्बर–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख डिल्लीमान राईले जानकारी दिए ।

प्रथम चौमासिकमा (साउन–कातिक) कुल १ करोड १९ लाख ३६ हजार रुपैयाँ सामाजिक सुरक्षा–भत्ता निकासा गरिएको गाउँपालिकाले जनाएको छ । अघिल्लो चौमासिकमा १ करोड ६५ लाख सामाजिक सुरक्षा–भत्ता वितरण भएकामा ‘नक्कली व्यक्ति’को नाम कटाउन थालेपछि यो चौमासिकमा १ करोड १९ लाख ३६ हजारमा झरेको लेखा शाखा प्रमुख उत्तम आचार्यले बताए ।

दाबी विरोधपछि सामाजिक सुरक्षा–भत्ता पाउने वास्तविक व्यक्तिको निक्र्योल हुने र सामाजिक सुरक्षा–भत्ताको मात्रा थप घट्ने सम्भावना रहेको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा–भत्ता वितरणमा त्रुटि देखिएपछि लगत कटाउँदा वडा नम्बर–१ बाँझेच्यानडाँडामा ४४ लाख वितरण हुने गरेकामा ३६ लाख ५७ हजारमा झारिएको छ ।

यस्तै, वडा नम्बर–४ मात्तिममा ४२ लाख वितरण हुने गरेकामा हाल २१ लाख २० हजार, वडा नम्बर–५ मात्तिममा ३७ लाख वितरण हुने गरेकामा हाल १९ लाखमा झारिएको छ । अन्य वडाको तुलनामा वडा नम्बर–२ रतन्छा र वडा नम्बर–३ खिदिमामा मात्र सामाजिक सुरक्षा–भत्ता पाउने व्यक्तिको नामावली यकिन देखिएको पञ्जीकरण शाखा प्रमुख राईले जानकारी दिए ।

१० स्थानीय तह रहेको जिल्लामा सामाजिक सुरक्षा–भत्ताको नाममा लाखौं रकम दुरुपयोग हुँदै आएको स्रोतको दाबी छ । यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने वराहपोखरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सामाजिक सुरक्षा–भत्ता वितरणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

स्थानीयले दिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त गाउँपालिकाको कागजात नियन्त्रणमा लिएको छ । मृत्यु भइसकेका र बसाइँ सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा–भत्ता निकासा भइरहेको भन्दै कार्यालयमा उजुरी परेपछि अख्तियारले कागजात नियन्त्रणमा लिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्