चार कुकुरले टोकेरै चितुवा मारे, दुई कुकुर घाइते


गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–९ मा रहेको आरुघाट बजारनजिकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ ।

गोरखाको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेलापरेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए ।

अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरले टोकेर मारेको पाइएको अनुसन्धानका लागि घटनास्थल पुगेका कार्यालय सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिए ।

‘घटनास्थलमा भेटिएको मृत चितुवाको आन्द्राभुँडीसमेत निस्किएको अवस्थामा फेलापरेको छ,’ नेपालीले भने, ‘चितुवालाई आक्रमण गर्ने दुईवटा कुकुर गम्भीर घाइते भएका रहेछन् ।’ जंगल नजिकै रहेकाले आहाराको खोजीमा निस्किएको सानो चितुवाले कुकुरलाई आक्रमण गरेपछि कुकुरहरू मिलेर चितुवालाई चिथोरेर मारेको हुन सक्ने सहायक वन अघिकृत नेपालीले जानकारी गराए ।

चार वयस्क कुकुर मिलेर आक्रमण गरेका कारण सानो उमेरको चितुवा मारिएको उनले बताए । स्थानीयले राति नै थाहा पाएपछि घटनास्थलमा पुग्दा चितुवा मरेको देखेर वन कार्यालयमा जानकारी गराएका थिए ।

वन कार्यालयको टोलीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मृतावस्थामा भेटिएको चितुवाको मुचुल्का तयार गरी सब–डिभिजन वन कार्यालय ध्याम्पेसालपरिसरमा व्यवस्थापन गरिएको सहायक वन अधिकृत नेपालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्