खलनायकको भूमिकामा प्रतिष्ठित व्यक्तिको संलग्नता



हलेसी (खोटाङ) । ‘गुनासा गरिरहनेको उचाइ पुड्को हुन्छ भन्ने भनाइ छ,’ हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले तुवाचुङ डटकमसँग भने, ‘उल्लिखित भनाइसँग जानकार छु । तर, नगरवासीको भाग्य र भविष्यसँग सम्बन्धित मामिलामा भने गुनासो नगरिरहन नसकिँदोरहेछ ।’

नगरप्रमुख राईले संघ, प्रदेश र विभिन्न दातृनिकायबाट प्राप्त योजना र अनुदान जिम्मेवार व्यक्तिहरूबाटै पटक–पटक रोक्न प्रयास भइरहेको आरोप लगाएका छन् । ‘हलेसी मन्दिरको जीर्णाेद्धार, आदिमभूमि तुवाचुङ संरक्षण तथा सिँढी निर्माण, धर्मशाला, बसपार्क, बुङालुङ (रक गार्डेन), हलेसीगढी प्रवेशद्वार, भुम्जुगढी सिँढी निर्माणका लागि प्राप्त योजना र अनुदान जिम्मेवार व्यक्तिहरूबाटै पटक–पटक रोक्न प्रयास भएका थिए,’ उनले सामाजिक सञ्जालमार्फत सांकेतिक रूपमा भने, ‘यसबारे नगरवासीलाई जानकारी गराउनैपर्छ ।’

समृद्ध नगर बनाउने अभियानमा अवरोध गर्न न्वारानदेखिको बल लगाइरहेका आफ्नै साथीभाइ र मित्रहरूले अस्वस्थ प्रतिस्पर्धामात्रै होइन, धन्दा नै चलाइरहेको उनको जिकिर छ । ‘पद्मसम्भवको विशाल मूर्तिसहित पार्क निर्माण गर्ने अभियानमा जुटेका छौं । फेरि उही रोक्ने र छेक्ने शृंखला दोहोरिएको छ,’ उनी आशावादी छन्, ‘खलनायकको भूमिकामा केही प्रतिष्ठित व्यक्ति लागिपरेकै छन् । विकास र समृद्धिको विपक्षमा खरो उभिने साथीहरूको भविष्य समयक्रममा सचेत नागरिकले फैसला गर्नुहुनेछ ।’

कठोर परिस्थिति सामना गर्दै गन्तव्यतर्फ अगाडि बढ्नुको विकल्प छैन । ‘गन्तव्य पहिल्याइरहनेछौं,’ उनी दृढ छन्, ‘तपाईंहरूको अपार माया र साथ–सहयोगप्रति कृतज्ञ छौं ।’

‘हामी विकास र समृद्विको महाअभियानमा छौं । निश्चय नै यो महाअभियान सरल र सहज भने छैन । कठिन मोड छिचोल्दै र सबैसँग हातेमालो गरेरमात्रै गन्तव्यमा पुग्न सकिन्छ,’ नगरप्रमुख इवन राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराए, ‘त्यसैले हलेसी तुवाचुङ नगरपालिकाको वृहत्तर विकासका लागि सबै क्षेत्रलाई समेटेर विषयविज्ञसहित गुरुयोजना निर्माण समितिले दीर्घकालीन सोचसाथ तयार पारेको गुरुयोजना निर्माणको काम नगरपालिकाले गरिरहेको छ ।’

जसअनुसार धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रको संरक्षण र विस्तार गर्दै पर्यटकलाई आकर्षण गरी स्थानीयको आर्थिक आयमा टेवा पुर्याउने विभिन्न काम भइसकेको उनले जानकारी गराए ।

‘नेपाल आयल निगमको सहयोगमा निर्माण हुने धर्मशाला रोक्न गरिएको भरमग्दुर प्रयास अन्ततः विफल भएको थियो,’ उनको भनाइ छ, ‘धर्मशाला शिलान्यासका गर्न मन्त्रीसँग समय मागी तिथिमिति तय भए पनि अन्ततः मन्त्रीको बाहुलीबाट धर्मशाला शिलान्यास गर्न सकिएन ।’

प्रतिक्रिया दिनुहोस्