काँग्रेसले ‘नेपाल पुकार’ मार्फत प्रविधिमैत्री अभियान थाल्दै



काठमाडौं । काँग्रेसले पार्टीको केन्द्रीय मुखपत्र ‘नेपाल पुकार’ प्रिन्ट र डिजिटल माध्यममा प्रकाशन गर्ने भएको छ ।

काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको जुम प्रविधिमार्फत भदौ २० र २१ गते सम्पन्न बैठकले यस्तो निर्णय गरेको विभाग सचिव दिनेश थापामगरले जानकारी दिए ।

विभागीय प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई सूचना, सञ्चार र प्रचार क्षेत्रमा आधुनिक प्रविधिमैत्री बनाउँदै अघि बढ्ने अभियान सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले ‘प्रविधिमैत्री अभियान’ सुरुवातमा पार्टीको वेबसाइट यथाशीघ्र अत्याधुनिक रूपान्तरणसाथ सार्वजनिक गर्ने तथा प्रविधिमैत्री अभियान र विभागका अन्य काम चुस्त–दुरुस्त बनाउन विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले गोवद्र्धन रानामगरको संयोजकत्वमा वेबसाइट संयोजन उपसमिति, डा. सुरेश आचार्यको संयोजकत्वमा छहारी संवाद संयोजन, इन्जिनियर दीपेश विष्टको संयोजकत्वमा प्रविधि संयोजन, नीर शाहको संयोजकत्वमा टेलिभिजन नेटवर्क सूचना संयोजन, गोपाल झाको संयोजकत्वमा रेडियो नेटवर्क सूचना संयोजन र दिनेश थापामगरको संयोजकत्वमा नियमित सूचना सम्प्रेषण संयोजन उपसमिति गठन गरेको छ ।

यसैगरी, बैठकले कोरोना संक्रमण वृद्धिदर र मृत्युदर दुवै तीव्रत्तर ढंगले बढ्दै गएकाले जनचेतनामा निर्वाह गर्न सरकारलाई दिने सुझाव अवधारणा निर्माण गर्न डा. अञ्जनी झाको संयोजकत्वमा ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ ।

बैठकले विभिन्न समुदायका मुद्दा र मानसिकताको पछिल्लो स्थितिको सूचना र तथ्य अध्ययन गरेर आवश्यक संवाद रणनीति निर्माण गर्न बजरंग नेपालीलाई अध्ययन कार्यदलको संयोजकको अभिभारा सुम्पेको छ ।

पछिल्लो पुस्तामा पार्टीको विचार र सिद्धान्त सम्प्रेषण गर्नेसम्बन्धमा प्रविधिमार्फत विशेष अभियान अघि बढाउन आवश्यक नीति र योजना निर्माण गरी प्रस्तुत गर्न विकल राईलाई कार्यदल संयोजकका रूपमा जिम्मेवारी सुम्पिएको छ ।

प्रतिक्रिया दिनुहोस्