निजी विद्यालयमा छोराछोरी पढाउनेलाई १० हजार जरिवाना


दैलेख । गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिवाना तोकेरै पत्र काटेको छ ।

गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्य रूपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो नगरेर जरिवाना तिर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँसभाबाटै पारित गरिएको थियो ।

गाउँसभाले पारित गरेको नीतिविपरीत काम गरेका ३० लाई जरिवाना तोकेर पालिकाले पत्र पठाएको छ । पालिकाको पत्रमा नीति उल्लंघन गरेको भन्दै १० हजार जरिवानासमेत तोकिएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा कार्यान्वयन गर्नेगरी नीति लागू गरिएको थियो । ‘करिब १०० जना सरकारी कर्मचारीलाई पालिकाले नीति पारित गरिसकेको भन्दै छलफल गरेका थियौं । त्यसमध्ये गत वर्षको रेकर्डमाथि छानबिन गरी हेर्दा करिब ७० ले सरकारी विद्यालयमा पठनपाठन सुरु गरिसक्नुभएको छ,’ गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए, ‘बाँकी ३० लाई पत्र काटिएको छ । हामीले सरकारी विद्यालयमा पनि निजी विद्यालयसरहको सुविधा, भौतिक संरचना र शिक्षकको पढाइ व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिएका छौं ।’

पालिकाबाट लाभको पद धारण गर्ने जनप्रतिनिधि र सबै कर्मचारीका लागि नियम अनिवार्य छ । अन्य सरकारी कर्मचारीले समेत यो नियम मान्नुपर्ने कानुन पालिकाले पारित गरिसकेकाले हामीले कार्यान्वयन मात्र गरिदिएको गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्