सिक्री बेचेर पुल हेर्न १०० किलोमिटरको यात्रा


 

बाग्लुङ । मानिसको सोच, इच्छा पनि अनेक हुन्छन् । उसको इच्छाशक्ति दृढ भए जबर्जस्त पूरा गर्ने चाहना हुन्छ । त्यही हुटहुटीमा थिए– निसिखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर ।

हरितालिका तीजको दिन घर छोडेका उनीहरू हराएको खबर भाइरल भयो । निसिखोलाको–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठजनामध्ये चारजना साँझ घरमा फर्के । १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु सिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्कविहीन भए । परिवारले खोजी गर्न झिवाखोला प्रहरीमा निवेदनसमेत दिए । हराएको भनिएको पाँच दिनपछि बागलुङ बजारबाट उनीहरू फेलापरे ।

उनीहरू हराएको नभई, विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुंगेपुल हेर्न बागलुङ आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार नर्सिङकोट घुम्न गएका आठमध्ये चारजना बागलुङका लागि निसिखोलाबाट हिँडेर बुर्तिवाङ आएका थिए ।

बुर्तिवाङको सुन पसलमा सोही दिन तीन किशोरीमध्ये दुई किशोरीले आफूले लगाएको चाँदीको सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको रेग्मीको भनाइ छ । ‘घाँटीमा लगाएको दुई सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको पाइयो,’ रेग्मीले भने, ‘बागलुङ बजारको चिप्लेटी बसपार्कमा बास बसेका उनीहरूले लामो पुल अवलोकन गरेका रहेछन् ।’
कालिका मन्दिरसमेत घुम्न गएका उनीहरूलाई प्रहरीले फर्काएको थियो । पैसा र बास अभावमा घर फर्कन नसकेका उनीहरूलाई प्रहरीले भदौ १० गते बागलुङ बजारमा फेलापारेको थियो ।

बागलुङ बजारमा निषेधाज्ञा भएका कारण घर फर्कन समस्या भएका कारण परिवारको सम्पर्कमा नआएको हुन सक्ने परिवारका सदस्य बताउँछन् । घरबाट घुम्न भनेर निस्केका चारैजना सम्पर्कविहीन भएपछि चिन्तामा रहेको र घुम्नेक्रममै भेटिएको खबरले खुसी दिलाएको श्यामु सिर्पालीका बुवा कोकबहादुर विकले बताए । ‘हामी त तनावमा थियौं, कसैले अपहरण, केही गर्यो कि भनेर डराएका पनि थियौं,’ विकले सुनाए, ‘रामप्रसाद सुनार, अस्मिता सुनारले घरबाट एक हजार र श्यामु सिर्पालीले ६०० बोकेर निस्केका रहेछन् ।’ सिर्पालीका बुवाका अनुसार बागलुङ बजारमा प्रहरीले फेलापारेर बुर्तिवाङ लगेर परिवारको जिम्मामा लगाइदिएको छ ।

उनीहरूले दुई चाँदीको सिक्री बुर्तिवाङ बजारमा तीन हजारमा बिक्री गरी ट्याक्सी चढेर लामो पुल हेर्न बागलुङ बजार १० किमि पैदल र ९० किलोमिटर सवारी यात्रा गरी बागलुङ बजार आएका थिए । सामाजिक सञ्जालमा निकै चर्चा कमाएको रामरेखा अदुवाबारी पुलका विषयमा उनीहरूले जानकारी पाएपछि परिवारलाई खबर नगरी बागलुङ बजारमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्