किन्ने कोही नहुँदासमेत सुनको मूल्य प्रतितोला ९४ हजार



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३०० ले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० पुगेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० र तेजाबी सुन प्रतितोला ९२ हजार २६० मा खरिद–बिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ९५ ले बढेर एक हजार १३५ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघ अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔंस १ हजार ८६८.४५ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार शून्यमा झरेको महासंघले जनाएको छ । उनले भने, ‘नेपाली बजारमा मुख्यतः कोरोना असरका कारण कारोबार शून्य भएको हो । देशभरका सुन–चाँदी व्यवसायीले सुनको कारोबार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्