पूर्वमन्त्री शाही भन्छन्– कोरोना जित्न आत्मबल चाहिन्छ



कर्णाली । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जितेका छन् ।

सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको प्रत्यक्ष निगरानीमा उनी आफ्नै निवासमा आइसोलेसनमा बसेका थिए । नेता शाहीको पीसीआर परीक्षण गर्दा मंगलबार रिपोर्ट नेगेटिभ आएको हो । ‘उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,’ निर्देशक डा. खड्काले भने, ‘अब उहाँ सामान्य जीवनमा जान सक्नुहुन्छ ।’

पूर्वमन्त्री शाहीले कल्पना नगरेको कुरा आफ्नो जीवनमा आइलाग्दा सुरुमा अलि तनाव भए पनि पछि धैर्य गरेर त्यस लाई आफूले सामान्य बनाएको बताए । मिडियाले आफ्नो गोपनीयताको ख्यालै नगरी नामै तोकेर समाचार लेख्दा आफूलाई नमज्जा लागेको अनुभूति उनले प्रकट गरे । यस्ता विषयमा मिडिया संवेदनशील हुनुपर्ने उनको सुझाव छ ।

‘मूलतः कोरोना भाइरस जित्न आत्मबल चाहिने रहेछ,’ नेता शाहीले थपे, ‘माया–ममताको बढी खाँचो पनि त्यत्तिकै हुँदोरहेछ ।’ कोरोनाले नभई मनोविज्ञानले मान्छेलाई गलाउँदो रहेछ भन्ने अनुभूति भएको प्रतिक्रिया दिँदै उनले सुनाए, ‘आत्मबल कमजोर नै बनाइएन । घरमै बसेर तातोपानी खाइयो । दैनिक पसिना बग्नेगरी अभ्यास गरियो । रोग त आफैं च्वाट भयो ।’

नेता शाहीले रोग लाग्दा कोही कसैलाई निराश र कमजोर नबन्न आग्रह गरे । सो अवधिमा आफ्नो स्वास्थ्यबारे चिन्ता गर्ने तथा विभिन्न माध्यमबाट शुभलाभ प्रकट गर्ने सबै शुभेच्छुकप्रति उनले कृतज्ञता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्