मास्क प्रयोग नगर्नेबाट १ लाख राजस्व संकलन


कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारबाही गर्दा १ लाख राजस्व संकलन गरेको छ ।
कार्यालयले दुई साता अवधिमा १ हजार ५९ जनालाई कारबाही गर्दा प्रतिव्यक्ति १०० का दरले १ लाख पाँच हजार ९०० राजस्व संकलन गरेको हो ।

कोभिड–१९ संक्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई १०० जरिवाना निर्देशन दिएको थियो । सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घरबाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असुल गरेको हो ।

सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई संक्रामक रोग ऐन–२०२० बमोजिम कारबाहीस्वरूप जरिवाना तिराइएको बताए ।

यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन उल्लंघन गर्ने ५८३ सवारीसाधन नियन्त्रणमा लिई सवारीधनीलाई कारबाही गरेको छ । त्यसबाट पाँच लाख ८९ हजार ५०० राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्