प्राकृतिक कारणले एक वर्षमा २६ गैंडाको मृत्यु



चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको राष्ट्रिय वन क्षेत्रमा वर्ष दिनमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए । त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६÷२६ गैंडा मरेका थिए । गत आर्थिक वर्ष बूढो भएर ६, जुधेर ३, दलदलमा फसेर ३, ढुसीयुक्त खानाका कारण ४, बाघको आक्रमणका कारण १ गैंडा मरेका थिए ।

त्यसैगरेर करेन्ट लागेर दुई, रूखले किचेर १, स्वास्थ्य समस्याका कारण ३, कारण पत्ता लाग्न नसकेर ३ गैंडा मरेका उप्रेतीले जानकारी दिए । मरेकामध्ये १३ भाले, १० पोथी र ३ पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए । अघिल्लो आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन् । त्यस वर्ष ९ भाले, १४ पोथी र २० को कंकालमात्र भेटिएको थियो । विगतका वर्षमा धेरै गैंडा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वाभाविक तथ्याङ्क आएको उप्रेती बताउँछन् ।

सन् २०१५ को गणनापछि प्राकृतिक कारणबाट गैंडा धेरै मरेका भए पनि चोरी सिकारबाट कम मरेका छन् । पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैंडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैंडाको बासस्थान रहेको छ । गत वर्ष गैंडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ । चालु आर्थिक वर्षमा गणना गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्