पौवादुङ्मा गाउँपालिकावासीलाई नआत्तिन अध्यक्ष राईको आग्रह



भोजपुर । पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईले पालिकावासीलाई नआत्तिन आग्रह गरेका छन् । गाउँँपालिकाभित्रका नौजनाको आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि अध्यक्ष राईले पालिकावासीलाई नआत्तिन आग्रह गरेका हुन् ।

आरडीटी परीक्षण नै कोरोना संक्रमणको अन्तिम रिपोर्ट नभएकाले पीसीआर परीक्षण तत्काल गरिने र त्यसका लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय भइसकेकाले चाँडै पीसीआर परीक्षण गरीने उनले जानकारी गराए । तुवाचुङ डटकमसँग कुरा गर्दै उनले भने, ‘जनतालाई परिआएको जस्तोसुकै कठिन परिस्थितिमा पनि गाउँपालिका सरकार समस्या समाधानका लागि तत्पर रहेकाले सबैलाई नआत्तिन आग्रह गर्छु ।’

आफ्ना पालिकावासीको स्वास्थ्य सुरक्षा हामी जनप्रतिनिधिको कर्तव्य भएको उनको भनाइ छ । ‘कुनै कसर बाँकी नराखी आफ्ना पालिकावासीको स्वास्थ्य सुरक्षाका लागि हामी विगतमा पनि लाग्दै आएका छौं । अझै दृढतासाथ लाग्छौं,’ उनले थपे, ‘त्यसैले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन । पालिकावासीलाई भन्छु– गाउँपालिका सरकार तपार्इंहरुको सुरक्षा र जीवनरक्षाका लागि रातदिन नभनी खटिरहेको छ । महामारीबाट बच्न आवश्यक सावधानी अपनाएर घरमै बस्नूस् । त्यसपछि आइलाग्ने अप्ठ्यारा सामना गर्न सदैव गाउँपालिका सरकार तत्पर छ ।’

मंगलबार स्वास्थ्यकर्मी, जनप्रतिनिधि र अन्य फ्रन्टलाइनमा खटिने कर्मचारीलगायत २० जनाको आरडीटी परीक्षणक्रममा नौजनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्