पौवादुङ्मा गाउँपालिकाद्वारा दैनिक खाजा भत्ता वितरण



भोजपुर । पौवादुङमा गाउँपालिका भोजपुरकोले बन्दाबन्दीका समयमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दैनिक खाजा भत्ता वितरण गर्दै आएको छ ।

कार्यस्थलमा दिनरात खटिएका उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसाथ भत्ता वितरण थालिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । कार्यस्थलमा दिनरात खट्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने उद्देश्यले गाउँ कार्यपालिकाको निर्णयअनुसार उनीहरूलाई दैनिक खाजा भत्ता दिँदै आएको उपाध्यक्ष राईले बताइन् ।

गाउँपालिकाको निर्णयअनुसार सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका इन्चार्जले दैनिक तीन–तीन सय र अन्य सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले दुई–दुई सय रुपैयाँका दरले भत्ता पाउँदै आएका छन् । त्यस्तै, इन्चार्जले महिनामा एक हजार र स्वास्थ्य स्वयम्सेविकाले पाँच सयको सञ्चार खर्चसमेत पाउँदै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ, प्रहरी चौकी बास्तिम, प्रहरी चौकी च्याङ्ग्रेका तीन इन्चार्जसहित ४१ जना सुरक्षाकर्मीलाई भत्ता दिँदै आएको छ ।

यसैगरी, स्वास्थ्यचौकी श्यामशिला, तिवारीभञ्ज्याङ, बास्तिम, च्याङ्ग्रे, सानोदुङ्मा र ठूलोदुङ्माका ६ जना इन्चार्जसहित ३५ जना स्वास्थ्यकर्मीले पनि भत्ता पाउँदै आएका छन् ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने ठूलोदुङ्माको फत्तेपुर, सानोदुङ्माको अँधेरीघाट र सिक्रेमा पर्ने मुख्य सीमानाकामा रहेका तीनजना हेरालुलाई दैनिक एक हजार भत्तासँगै एक हजार सञ्चार खर्च र ५४ जना स्वास्थ्य स्वयम्सेविकालाई मासिक पाँच सयका दरले सञ्चार खर्च दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले जानकारी दिए ।

कोरोना महामारी संक्रमण फैलिन नदिन गाउँपालिकाका सबै घर–घरमा स्वास्थ्यकर्मीले जाँच गर्ने व्यवस्था मिलाएको उपाध्यक्ष राईले जानकारी दिइन् । गाउँपालिकाले सबै स्वास्थ्यचौकीमा सरकारले दिएको ३५ प्रकारका औषधिबाहेक अन्य थप नौप्रकारका औषधि खरिद गरेर वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राईको भनाइ छ ।

‘कोरोना महामारीमा गाउँपालिका गम्भीर भएर लागेको छ,’ उनले सुनाए, ‘हामीले गर्भवतीलाई क्याल्सियम र किशोरीलाई आइरन चक्की नियमित रूपमा वितरण गर्ने व्यवस्था मिलाएका छौं ।’

गाउँपालिकाले कार्यसम्पादनलाई ध्यानमा राख्दै भत्ता वितरण गरेकाले दैनिक काम गर्न सहज भएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले बताए । संयोजक दाहालले भने, ‘अन्य ठाउँमा यस्तो सुविधा छैन । गाउँपालिकाले गरेको यो निर्णयले हामीलाई काम गर्नमा मनोबल थपिएको छ भने कार्यस्थलमा खट्नसमेत सहजता छ ।’

प्रतिक्रिया दिनुहोस्