संविधान संशोधनका पक्षमा मतदान गर्न काँग्रेसको निर्देशन



काठमाडौं । काँग्रेसले नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न संघीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको शनिबार राति अबेरसम्म बसेको बैठकले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुराबाट बग्ने काली (महाकाली) पूर्वको भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको दोहो¥याउँदै त्यस्तो निर्णय गरेको हो ।

सरकारले हालै ती भू–भाग समावेश गरी जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको निशान छापभित्र अंकित नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन गत जेठ ९ गते संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।

काँग्रेसले विगतमा आफ्नो पार्टी नेतृत्वका सरकारहरूले भारतीय पक्षसँग भएको हरेक औपचारिक÷अनौपचारिक वार्तामा सो भू–भागका सम्बन्धमा स्पष्ट धारणा राख्दै आएकोसमेत अवगत गराएको छ ।

बैठकले पार्टी सभापति एवम् तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले अघिल्लो संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्नसमेत संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्