फुटेको फोटो



‘हलो, सजना । भिडियो कलमा आऊ न,’ कुसुनाले पठाको म्यासेज उता पुगे पनि सजना सम्पर्कमा थिइनँ । अनलाइन देखाए पनि आइनँ । तर, पछि फुर्सद हुनासाथ कुराकानीमा जोडिएकी सजनालाई कुसुनाले भनिन्, ‘सजना, हिजोआज मान्छे सामाजिक सञ्जालमा पहिला–पहिलाको तुलना झन् बढी व्यस्त र सक्रिय देखिएका छन् । त्यही कारण होला इन्टरनेट सेवा पनि निकै स्लो छ । हुन त बन्दाबन्दीको समय जो छ, विश्वव्यापी महामारी कोभिड–१९ को प्रकोप तीन लाख बढी मानिस मरिसके । संक्रमित संख्या पचास लाख उँभो उक्लिँदा निको भएर घर पर्कने पनि २० लाख पुगेको रेडियाले भन्छ । तत्काल विषाणुको औषधि अथवा भ्याक्सिन नहुनाले यसको संक्रमणबाट बच्ने सबैभन्दा उत्तम ओखती घरमा बन्दाबन्दीमा बस्नुबाहेक विकल्प नहुनाले त्यो काम पनि समयको सदुपयोग नै त होला नि । हैन र ? नत्र मान्छेको भागदौड, पछाडि फर्किन्थे ? अरू कुरा भन्दा पनि यार, हरेक फेसबुके पोस्ट नियाल्नु नागरिक जसका पनि पुराना फोटा, कि हैन ?’

‘अँ त है, मान्छेको रूप, लवाइ, खवाइ बालकदेखि वृद्ध । यौवनदेखि जवान । मोटा, दुब्ला, पातला,’ बोल्दै गरेकी कुसुना अचानक शून्य भई । ‘ओई के भो ? कहाँ पुग्यौ ?’ सजनाको प्रश्न सुनेर झल्याँस्स उसले लामो सुस्केरापछि केही बताउन चाहेको संकेत । सजना, यी फेसबुके पोस्ट हेर्दा कता–कता पुरानो घाउ बल्झेझैं व्यथा । मन पनि खै के नुनविनाको तरकारीजस्तै खल्लो । खिस्रिक्क भा’छु ।

तर, किन भनेर नसोध मलाई । म आज त्यो उकुसमुकुस पोख्नेवाला छु । कोरोना करहले जुराको यो समय पग्लेर म यसरी पोखिन्छु, फोटोमात्रै किन । ऊबेलाको जीवनै कहन्छु । साँच्चै, त्यसबेला मैले कुनै फोटो खिचिनँ ? तर, हैन । स्कुल पढ्दा, कलेजताकादेखि दसैं–तिहारलगायत विभिन्न चाड र उत्सव मनाउँदाका ती फोटा ‘पुरानाफाटाझैं’ ती मेरा तस्बिर घरको दराज, घर्रादेखि पुरानो ट्याङ्का जहा“तहीं बग्रेल्ती एल्बमहरू छन् । तर, जो चाहियो त्यो छैन ।

साथीको कुरा सुनेर अचम्मित सजना गहिरो बुझ्न हतारमा थिई । उही कारण आश्चर्यको पोको खोल्न कुनै अलमल नगरी फटाफट बोल्न आग्रह गरेपछि कुसुनाले थप्दै गई, ‘आँ, सजना, त्यसबेला गाउँ न सहर फोटो खिच्ने त्यो रिलवाला क्यामेरा था’छ नि ? एक रिलबाट २५/३० फोटा निस्कन्थे । त्यो पनि था’छ नि ? हो, फोटोग्राफरले जब त क्यामेराको रिल फिनिस्ट गर्थे । धुलार हेर्ने रहरचैं जस्तै हतार पनि कम्तीमा हप्ता कुर्नुपथ्र्यो । समय–समयमा खिचेका जीवनका रंगीविरंगी ती छायाँ तस्बिरहरू कहाँ, कसरी राख्ने, तिनको जतनपतनको काम प्रायः मेरो जिम्मा हुन्थ्यो ।’

मलाई अहिलेसम्म पनि याद छ, त्यस दिनको त्यो फोटो । कति उमंगले, कस्तो रङको कपडा । हामीले आफूलाई क्यामेराको रिलभित्र कैद गरेका थियौं । तर, कसरी भनौं ? आफ्नो अतीतबारे स्वयम्ले ? भेद खोल्ने काम त्यति सजिलो छैन । हैन । तैपनि परिस्थिले नै चाहेपछि, मेरो आँखाको नानी, त्याँभित्रको पानी तर त्योभन्दा पनि प्यारो छायाँ तस्बिर आज साथमा हुन्थ्यो त । यसरी बाढी चल्या बेला ऊ पनि फेसबुके हुलमा फन्फनी हुन्थ्यो । पक्का, प्रोफाइल पिक्चरकै रूपमा । फरक पर्थेन ।

जुन फोटो मैले गुमाएँ, त्यसको तुलना अरू कुनैसँग हुँदैन । त्यसकारण त्यो ज्यादै महत्वपूर्ण ग्राफी थियो । यता, फेसबुके जमात कोही आमाबुवासँग, कोही दिदीभाइ–दाजुबहिनी भने कोही स्कुल–कलेजका साथी होलान् । र, त्याँदेखि पर्तिरको हुल–बथान भनेको– भर्खर राम्ररी जन्मिन पनि नपाएकाको लस्कर । त्यो ताँती त झन् कति हो कति । दुनियाँको काइदा हेर्दा लाग्छ– सामाजिक सञ्जाल भनेको उनेरकै भान्साको डाडुपन्यू हो । यस्ता अनेक दृश्य छन्, जसलाई हेर्दा घरीघरी त आँखाको गेडी नै फुत्त भुँइमा झर्लाझैं दिमाग पनि रनन्न हुन्छ । अरू त अरू हजारौं मानिस भोकभोकै सयौं किलोमिटर पैदल हिँडेका बेला कसैलाई भने थरीथरी पकवान्न सजाउनै हतार । साथीहरू कोही झोलुंगेपुलमा स्टाइल देखाउँछन् भने कोही चौडा सडकको धुलौटे राजमार्गमा गाडीको हुँटहुँटै नाचिरहेका भेटिन्छन् । त्यसो त लालीगुराँस नबोक्ने, नदी–ताल र झार–बुट्यान नभुल्नेको संख्या पनि कम छैन । तर, जसले जति नै देखाए पनि मेरो त्यो फोटो ? कसरी भुलौं ज्यान ?

बुवा कडा स्वभावको हुनुहुन्थ्यो । उहाँको निगरानी एक झल्कोमात्रै पनि डरले थर्कमान हुन्थ्यौं, हामी केटाकेटी । त्यसो भनेर बुवाप्रति क्रूरता पस्किन खोज्या हैन । यद्यपि, मातापिताको हातबाट कुनै दिन ‘एक लबटो’ खा’को याद छैन । यति हो, उहाँको भावनाविपरीत काम कुरा के गर्न हुने, के गर्न नहुने, त्योचाहिँ पहिल्यै पक्का हुनुपथ्र्यो । अर्को अचम्म कुरा, जति नै रिस उठे पनि बुबाले ‘तँ’ शब्द कहिल्यै प्रयोग गर्नुहुन्थेन । अरू ? स्कुल पढ्न रोकावट थिएन । न त छोराछोरीमा भेदभावको दृष्टिकोण नै ।

त्यसबेलाको त्यो बालापन । सेतै फुलेको हिमाल, त्यो पहाड, त्यो झरना, त्यो वन–जंगल, वसन्त कोकिल कुनाकन्दरादेखि बर्खामास खेत रोपाइँ ओहो ! कुन शब्दले बयान गरौं ? यति रमाउथें, म यति रमाउँथें, रोमाञ्चित त्यसबेलाको वर्णन स्वयम् नै वृहत् नेपाली शब्दकोश बन्न मन लाग्थ्यो ।

दुई महिना बर्खेबिदा कटाउन त्यो औडाहा मन । हुन त पढाइ लेखाइमा मेरो प्रगति समग्र विद्यार्थी नै थिएँ । उसो त त्यसबेलाका स्कुले कसले पो पढ्नैमात्र पाइन्थ्यो र ? दिउँसो स्कुल, बिहान, बेलुका घरमा कामको चाङ । सबैको आ–आफ्नै रुटिन हुन्थ्यो ।

सुनौलो गोरेटोमा बिहानी हावाले ल्याएको खुसीको वर्णन, त्यो झोकाभरिभरि झोला कसरी भुलौं म ? उसको त्यो लचकदार हिँडाइ, लुकीछिपी मायालुहेराइ आँखामा उर्लिएको छालझैं उसका नयनको चाहना कसरी बयान गरौं  म ? यति सुन्दर चहक चमक थियो कि मायाको त्यो आवा कसरी इन्कार गर्न सक्थें र ? हुनुपर्ने रूपदेखि रङ त्याँदेखि ढंग इसाराको पाटो भनौं भने बोली, वचन र व्यवहार केमात्रै फिट थिएन, ऊ ?

बोल्दैथे तर सुनिएन । अहँ, गुनामझैं अवरुद्ध इन्टरनेट सेवा । त्यसपछि सजना लेख्दै थिई, ‘टुसाएको दुईपाते सुइरो, फैलिरहोस् माया छेउदेखि कुना ।’ ती हरफहरू ? मानौं उनेरलाई जुटाउने नै सजना थिई । छाँटकाँटले मिलेका परेवा जोडी हाँसीखुसी हनिमुन बिताएको कल्पना गरी । फूलैफूलको त्यो मौसम सपना पनि यति रंगीविरंगी चित्र कि, इन्द्रेणी रङझैं आहा कति मीठो जिन्दगी, कल्पनामै दुनियाँ यति रमाइलो । युगले बधाइ भन्नैपर्छ । धर्तीको माटो भूगोल साराले गीत गाउनैपर्छ । कम्मर भाँच्ने दुई मुटु एक धड्कन शौभाग्य बनेर कल्पना नगरीमा भन्ने प्रसंग नेट पनि संकेत भनेझैं विश्वासको दियो अझ यसरी चम्कियो । हजार करोड कामना, शुभकामना वर्तुन थप्न लाग्दा त्यहीबेला कुसुनाको आवाज थियो, ‘हलो सजना, अघि भन्दै थिएँ । त्यसरी शब्दमा थेग्न नसक्ने हाम्रो माया तर आफैंलाई विश्वास छैन । अमीर मेरो भएन । पटक्कै पत्यार लाग्दैन । कसरी ? म उसको न ऊ मेरो । त्यो पल सम्झिँदाखेरी अभिशापझैं लाग्छ जिन्दगी ।’

हामी एउटै कक्षा पढ्ने विद्यार्थी । निकै मिहिनेती थियौं । आफूले नबुझेको पाठ छलफलबाट समाधान ननिस्के नोटकापी पनि आदान–प्रदान गथ्र्यौं । स्कुल जाने बाटोदेखि हाटबजारको पाटो । मेरो अमीरसँगको अर्को अमिट छाप भनेको उही त फोटोग्राफी कहानी । अनेक हुर्मतका बागजुद एक दिन इन्च फरक नपरी उभियौं र केही थान फोटा खिच्यौं । हो, त्यो याद ! जीवनभरि कसरी भुलौं ?

अमीरले पठाएका अनगिन्ती प्रेमपत्रसँगै हाम्रो फोटा । तर, घरमा कहाँ लुकाऊँ ? घरीघरी हेरिरहनुपर्ने उसलाई मैले कसरी/कता छिपाऊ ? मानौं, बिरालोलाई छाउरा सार्ने चटारोजस्तै मलाई पनि आफ्नै धौ–धौले सताउँथ्यो ।

बिन्दु ढकाल अधिकारी

त्यसबेलाको जीवनमा मैले भुल्नै नसकेको अविस्मरणीय पल । हरेक वर्ष दसैंको टीकाको दिन निधारभरि रातो अछेता टाँसेर शिरमा पहेंलो जमरा सिउरिदिँदै बुवाले आशिर्वचन दिनुहुन्थ्यो, ‘नवदुर्गा भवानीको प्रसाद लाईकन छोरी कुसुना तिमीलाई कुनै रोग नलागोस्, कहिल्यै शोक पनि नपरोस् । हाम्रो इज्जतमा विनादाग धेरै पढेर सक्षम बन्दै जाऊ । कन्यादान गर्ने ज्वाईं पनि उस्तै जेहेनदार, मिहिनेती भेट्यौ भने जिन्दगी सोचेभन्दा सार्थक हुन्छ ।’ तर, मेरो अमीर ? ऊ त्यस्तो इज्जत बेइजतभन्दा पनि स्कुल छाडेको वृत्तान्त !

नसोचेको सत्य आइपरेको त्यस दिन कठोर चुनौती थपियो । हो, त्यही पल रेडियो नेपालबाट गायक मुरलीधर यसरी प्रस्तुत हुनुभयो, ‘उडायो सपना सबै हुरीले ।’ तर, कसको सपना, कुन सपना ? मेरो बिहेको कुरा ? तर, अमीरबाहेक राम, राम त्यो सोच्नुभन्दा बरु मर्न तयार थिए“ । तर, हैन । मलाई के’था । मेरो प्राण नै कोही अर्कैसँग लसपस भइवरी उसैको बच्चा जन्माउने हल्ला बाफरे । सन्सनी थियो गाउँ । २०७२ सालको भुँइचालोझैं वातावरण, त्यसबेला मलाई सुनामी बन्न मन थियो । तर, कसरी ? आँधीबेहरी हुन त टेलिफोनको जमाना भए केसम्म हुन्थ्यो । था’ छैन । तर, फोन भन्नु कुन चराको नाउँ हो ? अत्तो न पत्तो बेला सिवाय अश्रुधारा कति बगें ! कति खसें ! मरुभूमि पनि जरुवा पलायो सायद ।

भित्रभित्रै एकोहोरो विक्षिप्त पिल्सेर पनि कति बाँच्नु जिन्दगी ? न त झट्टै मर्न सकें । मर्नुभन्दा बहुलाउनु निको भन्ने उक्ति बुवाको उही आशिर्वाद ‘छोरी, हाम्रो इज्जतमा दाग नलगाई धेरै पढेस् । उस्तै जेहेनदार ज्वाईंलाई…’ भन्ने पूरा वाक्य सानै उमेरदेखि यसरी गड्यो, त्यो यसरी गड्थ्यो । पीडाले गाँठो परेको मन, जति नै अधैर्य/कोलाहल पस्थिति थियो । यद्यपि, अब भने माया न पिरती । सबै झुटा । सबै मिथ्या । वसन्तको वहार बनेर आएको अमीरमय वातावरण पनि बिस्तार–बिस्तारै सेलाएझैं भ्रमको भित्ता च्यातेर कलेज पढ्न थालें ।

ढुकढुक मुटुको चाल शुभ थियो । या त अशुभ आयो । पक्का केही त थियो । समयसीमा कलेजको ढोकासम्म उसको आगमन तर आँखामा पट्टी बाँधेझैं मुखसम्म हेरिन् । त्यो पल मेरो अमीरलाई अहँ हेर्दै हेरिनँ । समयको पावन्दी ढुंगा भैसक्या मान्छे । सायद चट्टान बन्दाको परिणाम माया त ‘न्याउरी मारी पछुतो’ कसरी बताऊँ सजना ! के भनेर चित्त बुझाऊँ ?

जीवनको त्यस मोडमा हामीले खिचेको त्यो फोटो भलै मेरो साथ–हातमा छैन । तर, अन्तरकुन्तर, दिलदिमागमात्रै नभएर धर्ती, आकाश, पाताल भाग्यमा जुट्न छुटेका हामी भलै भोलि मरेर जाउँला । दिएको दागबत्ती पनि निमेषभरमा बलेर खरानी भई, त्यो पनि बाँकी नरहला तर मेरो अमीरलाई कसरी भुल्न सक्छु ? जीवनको त्यो फुटेज सिसा फुटेसरी फुटेको त्यो फोटो । फुटेको त्यो… ! त्यो फोटो  फुटेको । कुसुना त्याँभन्दा अगाडि बोल्नै सकिनँ । सजनातर्फ नियाल्दा ऊ पनि पहिल्यै अश्रुधारा बगाइवरी थकित मुद्रामा आफैंलाई पो चिमोट्दै रहिछे ।

धनकुटा । हाल : काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्