हामी


हामी वीर छौं
तर बुद्धु छौं
हामी बुद्धु छौं
र त वीर छौं
हामी बुद्धु नभईकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पुस्ताको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
हामीलाई ज्ञान दान गर्नबाट इन्कार गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई
शक्तिलाई
र अस्तित्वलाई
तर हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौं
आफ्नो झुप्रोअगााडि
त्यसलाई पुज्छौं
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरूभन्दा बढी कुशलता प्राप्त गर्छौं
तर हाम्रो कुशलतादेखि आश्चर्य–चकित
भयभीत भई
प्रत्येक पुस्तामा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरुदक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बूढीऔंला काटेर उसलाई भेटी दिन्छौं
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्छौं
र मख्ख पर्छौं आफ्नो गुरुभक्तिमाथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले हामी वीर त छौं
तर बुद्धु छौं
र त हामी वीर छौं
हामी बुद्धु नभईकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं ।

प्रतिक्रिया दिनुहोस्