
क्रान्तिकारी लेखक, पत्रकार, कवि एवं सहिद कृष्ण सेन ‘इच्छुक’को ‘प्रिय चन्द्रागिरि’ कविता पढेपछि चन्द्रागिरि पुग्ने हुटहुटी जागेको थियो । संवत् २०८१ चैत १ गते चन्द्रागिरि पुग्ने मौका मिल्यो । पत्रकार दीपेन्द्र राईको संयोजनमा चन्द्रागिरि पुगियो ।
फागुन पुछारको दिन काठमाडौं मूलपानी चौरको एक बसाइमा पत्रकार राई, मित्र उपेन्द्र तिमिल्सिना र पंक्तिकारबीच त्यता जाने निधो गर्यौं । राई सरले फागुन दोस्रो साता चन्द्रागिरि जान तयारीका लागि प्रबन्ध मिलाउन अग्रिम जानकारी दिए । उनीसँग छोटो दुरीको पदयात्रा, मर्निङ र इभिनिङ वाक धेरै पटक गरेको थिएँ । लामो पदयात्रा गरेका थिएनौं । पदयात्राको अघिल्लो दिन ९ः३० बजे बौद्ध टुसालमा भेटेर कोठा पुग्दा मित्र तिमिल्सिनाले भोलि बिहान ७ बजे संयुक्त यातायात चढेर कालीमाटी चोक आइपुग्न अनुरोध गरे । चैत १ गते शुक्रबार बिहान तोकिएकै समयमा कालीमाटी पुगें । त्यतिबेलासम्म कोही आइपुगेका थिएनन् । सबै भेला भएपछि गन्तव्य पहिल्यायौं । कालीमाटीबाट ५० मिनेटको बस यात्रापछि दक्षिणकाली नगरपालिका–३, फर्पिङ, भञ्ज्याङ ओर्लियौं । बसमा यात्रुले सुरक्षित यात्राका लागि सल्लाह, सुझाव दिए ।

भञ्ज्याङबाट उकालिनुअघि खाजा खायौं । यात्रामा चाहिने पानी, कोल्डड्रिङ्क्स, कफी खाने पेपर ग्लास, बिस्कुट, चाउचाउ र चक्लेट किन्यौं । ९ः१५ बजिसकेको थियो । भञ्ज्याङबाट सय खुड्किला माथि रहेको गणेश आधारभूत विद्यालयले स्वागत तथा बिदाइ एकैपटक गरेजस्तो लाग्यो । केही समय सल्लाघारीबीच उकालिरह्यौं । कतिपय ठाउँमा ढुंगे सिँढी थिए । हात्तीवन रिसोर्टमुनिका पाखैभरि लोभलाग्दो घाँस देखियो । कक्षा ५ मा अध्ययनरत विद्यार्थी बिदा सदुपयोग गर्दै घाँस काटिरहेकी थिइन् । १०ः१४ मा हात्तीवन रिसोर्ट गेट पुग्यौं । पदमार्गमा दैनिक कति यात्रु प्रवेश गरे भनेर जानकारी राख्न हात्तीवन रिसोर्टनजिकै प्रवेश प्रणाली सुरु गरिएको रहेछ ।
त्यहाँबाट अघि बढेपछि दुई डाँडा छाडेर चम्पादेवी मन्दिर पुग्यौं । नाक ठोक्किने उकालोमा पाइला घिसार्न सकस पर्यो । हात्तीवन रिसोर्ट छाडेपछि गुराँस, कटुस र मालिङ्गोले स्वस्थ हावा प्रवाह गर्दै कार्बनडाइअक्साइडको स्वागत गरिरहेको थियो ।
उकालो सकियो होला भन्दा अर्को ठाडो उकालोले कुरिरहेको हुन्थ्यो । चम्पादेवीबाट १ घन्टा १३ मिनेट हिँडेपछि अलिकति तेर्साे अनि ओरालो हुँदै फेरि उकालियौं । १ घन्टा २ मिनेट हिँडेपछि २ः४९ मा भस्मेश्वर डाँडा पुग्यौं । त्यहाँबाट काठमाडौं उपत्यका हेर्दा कंक्रिटको जंगल देखियो । भस्मेश्वरडाँडामा चारैजनाले तस्बिर लिएपछि चन्द्रागिरिको पुच्छर बाटोको लहरा पछ्याउन थाल्यौं । भस्मेश्वरको तालु डढेलोले भस्मै बनाएको थियो ।

गुप्तेश्वर भञ्ज्याङ पुग्नअघि नागीमा कफी र बिस्कुट खायौं । दीपेन्द्र सरले बिहान ५ बजेतिर थर्मसमा दुई लिटर तातोपानी र कफी भारी हाले पनि दिउँसो ४ बजेतिर सुरुप्पै पारियो । पेटमा पुगेको कफी चन्द्रागिरि नपुग्दै पसिना र पिसाबबाट बाहिरियो । पंक्तिकारले पहिलोपटक पेपर कपमा ६ कप कफी खाए । त्यो पनि नागीमा ।
३ः५९ बजे गुप्तेश्वर भञ्ज्याङ पुग्यौं । त्यहाँबाट उकालिने नजिकै रोपवे रहेछ । उहिले हेटौंडादेखि काठमाडौं सिमेन्ट ढुवानी गर्ने यातायातको पुरानो साधन रोपवेमा टाँगिएको फलामे लठ्ठा र पोल खियाले मक्किँदै गएको देख्यौं । घरी उकालो घरी ओरालो हिँडिरह्यौं । वन फँडानी गरेर व्यवसायी चन्द्र ढकालले बनाएको होटल क्षेत्रबाटै भालेश्वर पछ्यायौं । २,५२० मिटर उचाइमा रहेको भालेश्वर डाँडामा घामले बिदाइको हात हल्लाउँदै गरेको अनुभूति गर्यौं ।

हामी पनि बासस्थल पर्कनु थियो । पैदल हिँडेर थानकोट ओर्लने निधो गर्यौं । ५ः१२ मा टेके पनि चन्द्रागिरिमा ४८ मिनेट बितायौं । मन्दिरको उत्तर–पश्चिममा पृथ्वीनारायण शाहको सालिक रहेको छ । दक्षिण–पूर्वपट्टि जिपलाइन । अलि मुनि ‘टप स्टेसन’बाट ‘बटम स्टेसन’सम्म झर्न १ घन्टा ३० मिनेट लाग्यो । ओरालो हिँड्न त्यत्तिकै कठिन । उपेन्द्र तिमिल्सिना र दीपेन्द्र राई अघि–अघि । मोहन दाहालजी र पछि–पछि । चारपाउले टेकेर ओरालो बाटो छोट्याउँदै गरेका दाहाल सरले तिमिल्सिना र राई सरलाई सम्मानपूर्वक गाली गरे । दिनभरि उकालो साँझ परेपछि ओरालो, त्यो पनि घनघोर जंगलबीचको हिँडाइ कम्ती कठिन थिएन । ओरालिँदै गर्दा कृष्ण सेन ‘इच्छुक’का कविताका विम्ब मानसपटलमा सल्बलाइरह्यो ।



