
दुर्छिम (खोटाङ) । गीत–संगीत मन नपराउने को होलान् र ? गीत नबुझे पनि संगीतको भाषाले जोकोहीलाई मोहित बनाउँछ । बनाइरहेकै हुन्छ । हिन्दी गीत नबुझ्नेले संगीत गज्जबले बुझिरहेका हुन्छन् । संगीतको भाषा बुझिनसक्नु छ ।
त्यसो भए चराको गीत मन पराउनेको कमी होला र ? चराले पनि गीत गाउँछ र ? भनेर छक्क पर्नुभयो होला । गाउँछ नि । उसले गरेको चिरबिरै चराको गीत हो । प्रत्येक चराले फरक–फरक तरिकाले चिरबिर गर्छन् । उसले गाउने गीत त्यही हो । तसर्थ, चराको गीत सुन्न हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, रङ्काडो खोटाङ आउनूस् है ।
‘चराको गीत सुन्दा कानै पवित्र हुन्छ,’ स्थानीय मीरा राईको भनाइ छ, ‘रङ्काडोमा बर्खामा १०० र हिउँदमा ५० प्रजातिका चराले गाएको गीत सुन्न पाइन्छ । यस्तो अवसर विरलै पाइएला ।’
रमाइलो रङ्काडोमा बाह्रै महिना चराको गीत सुन्न पाइन्छ । बर्खामा मात्रै होइन, हिउँदमा समेत चराको गीत त्यत्तिकै सुन्न पाइन्छ । ‘सिजन’अनुसार सबै चराले पालैपालो गीत गाएको सुन्दा मन चंगा हुने स्थानीय उत्रबहादुर राईको ठम्याइ छ ।
‘चराको गीत सुन्दा तनाव भाग्छ,’ मीरा राईले थपिन्, ‘तनावमाथि तनावमा हुनुहुन्छ भने रङ्काडो आउनूस् है । तनाव भगाउन चराको गीतले औषधिको काम गर्छ ।’ कम्तीमा एक रात एक बिहान बिताउनेगरी रङ्काडो पुगेमा चराको गीत सुन्दै कोदोको वासिम चुस्की मार्दै तनाव भगाउन सकिन्छ ।

अन्य गाउँठाउँभन्दा रङ्काडोमा धेरै चराचुरुंगी बास गर्ने ठाउँ हो । साँझ–बिहानमात्रै होइन, दिनैभरि कुनै न कुनै चराले गीत गाइरहेकै हुन्छन् । मानिसको चहलपहल कम हुँदै गएपछि चराले गीत गाउन थाल्छन् । चराको गीतले सुनसान गाउँलाई रमाइलो बनाइदिन्छ ।
क्षेत्रफल र घरधुरीका हिसाबले रङ्काडो सानो गाउँ हो । यहाँ स्थानीयले मान्ने सिद्ध सिकारी, देविथान प्रशस्तै छन् । स्थानीयले मौलिक संस्कार, संस्कृति आत्मसात् गर्दै आएका छन् । रङ्काडो देवी तथा सिकारी वासस्थल भएकाले नै सयौं प्रजातिका चराचुरुंगीले रमाएर बास गरेका होलान् भन्ने उत्रबहादुर राईको बुझाइ छ ।
गाउँभरि बाँसघारी प्रशस्तै छन् । चिउरीलगायत अन्य थुप्रै प्रजातिका रुखबिरुवा छँदै छन् । ‘मेरो घर तल्तिर पनि थुप्रै रुखबिरुवा छन् । तिनै रुखमा बसेर चराले मज्जाले गीत गाउँछन्,’ मीरा राईले जानकारी गराइन्, ‘अन्य गाउँठाउँभन्दा रङ्काडोमा चराले धेरै गीत गाउँछन् जस्तो लाग्छ । सूर्यको किरण भुइँमा नखस्दै ओछ्यानमै चराको गीत सुन्न पाउँदा कम्ती आनन्द लाग्दैन ।’

चिबे, ढुकुर, कालो जुरेली, सेतो जुरेली, भँगेरा, काफल पाक्यो, रुपी, कालिज, मयुरलगायतका चराले पालैपालो गीत गाउँदा रङ्काडो संगीतमय बन्छ । असार, साउनमा गाँवै थर्किनेगरी थिबिया चराले गीत गाउँछ । उसको गीत सुनूँसुनूँ लाग्ने नै भयो ।
रङ्काडोलाई संगीतमय बनाउन चराको योगदान कम्ती छैन । यसलाई कायम राख्न गाउँमा चराको सिकार गर्न प्रतिबन्ध लगाउनुपर्छ । एक रुख काटे दुईवटा रोप्ने प्रावधान बनाउन ढिला गर्न हुँदैन । चरा रुखबिरुवामा बस्ने भएकाले त्यसो गर्नैपर्छ । चरा संरक्षण गर्न पहल थालिहाल्नुपर्छ । चरा संरक्षणका लागि सचेतना जगाउनैपर्छ । त्यसो गरे चराको गीत सुन्न पाइरहिन्छ ।



