कथा : प्रेमको बाँसुरी



मेरो अन्तिम च्याट थियो । उनले पनि समाप्ति गर्न चाहेकी थिइन् । ढिलोढिलो एउटा मेसेज आयो । पढें ।

‘प्रेमका लागि के दुःख गर्छौ ? धर्तीको शब्दकोश पल्टाएर हेर,’ उनले यतिमात्र भनेकी थिइन् । मेरो आँखा ठ्याम्म भरियो । रोएको स्टिकर पठाएँ ।

‘आँसुको शब्दकोश भन्या हैन ? धर्तीको शब्दकोश,’ उनले मेसेज पठाइन् ।

‘के भन्या ?’ मैले लेखें ।

‘तँ–तँ लेखक, बुझ्छस् होला नि ?’

उनले त्यति लेखेपछि मैले च्याट सकाएँ । उनले कुराकानी टुंग्याएर अफ भइन् । मेरोचाहिँ आँसु जमेजस्तो लाग्यो । किन्तु मनमनै भनें, ‘उनको संसारमा मेरो प्रवेश, एउटा गलगाँड थियो !’

मैले पराजय पाएँ । भित्रभित्रै यस्तो लाग्यो, बेमन्जुरी एउटा प्रेमको लडाइँ हो । जहाँ जित र हार हुन्छ । मैले हारें । मलाई यस्तै लाग्यो । यद्यपि मन भने मान्दै मानेन । साथीलाई भिडियो कल ठोकिहालें ।

‘प्रेम के हो ?’ सुरुमै प्रश्न गरें ।

साथी हाँस्यो । हाँस्दै भन्यो, ‘एताको मन उता टाल्ने ! उताको मन यता टाल्ने हौ !’

‘ए । तर, मेरो उक्कियो त !’

वसन्त बायुङ राई

‘लेखकहरूलाई काँ प्रेम आउँछ त हौ ? उही लेख्नेमात्र त हो ! अनि उक्किँदैन ?’

‘मेरो मन त साह्रै दुख्यो ?’ मैले भनें ।

‘याँ पृथ्वीको मन दुखेर बेलाबेला भुइँचालो जान्छ । कुरा गर्छौ ?’ साथी ठुस्कियो ।

‘मैले उनलाई कसरी पाउने हौ ? साथी होस् भन्न मुला,’ मैले भन्न कर गरें ।

‘हेर केटा तैंले पाउने हैन, सबै गुमाउने हो,’ साथीले ठूलो स्वर गर्यो ।

‘किन ?’

‘सबै पाए, तँ काँ किताब लेख्थिस् ? सबै गुमाएर त बौद्धिक भइस् ।’

‘मुला नफुर्का ।’

‘ठीक छ, केटीले बेमन्जुर गरी, बेमन्जुर हुन्छ । तिमीले उनलाई स्वतन्त्र दिनैपर्छ । त्यो तिम्रो धर्म भयो । बेकार ! स्वतन्त्र केटीलाई जबरजस्ती कब्जा नगर ।’

‘तर, मैले नगरे पनि उनलाई भोलि कसैले कब्जा गर्छ त ।’

‘सही हो, केटीले गहिरो माया गर्ने केटै रोज्छन् । त्यसमाथि केटाले संसारकै माया देखाउँछ । अनि कब्जा गर्छन् । बिया गर्छन् । बियापछिको गहिरो माया त उही मैदान त हो नि । सबैलाई थाहा भाकै कुरा

हो ।’

‘अब मैले के गर्नु त ?’

‘खुइँखुइँ किताब लेख्ने ।’

‘लु भो,’ मैले फोन काटें ।

फोन राखेपछि उनै केटी सम्झें । म कताकता दुखें । पत्तै पाइन । कतै मन दुख्योजस्तो लाग्यो । हृदय उफ्रिएजस्तो भयो । शिर भारी भएझैं लाग्यो । तर, कुन तन्तु दुखेको हो पत्तो पाइनँ । तर, ‘आई एम सरी, धर्तीको शब्दकोश पल्टाएर हेर,’ भन्ने मेसेजचाहिँ पटक–पटक हेरें । बेलुका ओछ्यानमा पल्टिएर उही मनले आफ्नो मानेको मान्छे सम्झें । कताको डलर कमाउने र म किताब च्यापिहिँड्ने प्राणी । शक्ति त पैसाको हो । किताब एउटा माध्यम । बेमन्जुर त्यसै भइहाल्यो ।

एक साँझ भट्टीमा औषधि चढाएँ । त्यो बेमन्जुरको सिग्नेचर थियो । कस्तो कठोर हुँदै पेटमा पुग्यो । थाहा थियो– गलत गर्दै छु । तैपनि १८० एमएल सकें । त्यसपछि घुँक्कघुँक्क रोएँ । तर, मीठो रोएँ ।
‘रुनु भनेको सपना पूरा गर्नु हो भाइ, रोऊ–रोऊ,’ साहुनीले केही बुझेसरी भनिन् ।

‘म रोएँ र दिदी ?’

‘भाइ मैले बुझिसकें । जोडीहरूले भन्छन् नि लभ टियर ! त्यही हो भाइ,’ साहुनीले थपिन् ।

मलाई लाज लाग्यो । निरर्थक कोठा फर्किएँ । बिल्कुल निस्सार छु । आफ्नो कोही छैनजस्तो लाग्छ । अभावको अप्ठ्यारो सानो शøया थियो । त्यहीं पल्टिएँ । त्यसपछि पृथ्वीको शब्दकोश खोलें । ढुंगा, माटो, वन–जंगल, जीवजन्तु, पशुपक्षी, आगो र पानीमात्र देखें । बाँकी उही अपूर्णाङ्गिनी देख्छु । उनैको बेमन्जुरी आकाश झरेजस्तो हुन्छ । पलपल थिचिरहन्छु । सास अड्किएझैं हुन्छ । म त्यसरी नै निदाएँ । निदाउनु पनि बिर्सिनु रहेछ ।

हिजोआज यस्तो लाग्छ, उनी मेरो जीवन थिइन् । उनीविना निरर्थक छु । निस्सार छु । र, केही छैनजस्तो लाग्छ । यो विशाल संसारमा आफ्नैवरिपरि उनी छन् जस्तो लाग्छ । निद्राबाट ब्युँझदा उनैले ब्युँझाएजस्तो लाग्छ । एक मनले भन्छु– बिचरा कठैबरा म । कठैबरा ममात्र थिइनँ । सायद समयै कठैबरा थियो । लाग्छ– उनी नै कठैबरा थिइन् । कठैबराको छायाँभित्र मायाको शीतल थियो । प्रेमको माला थिए । ती कम्ता मजाका थिएनन् । मानौं उनीसँग बोल्न ओठहरू हतारिन्थे । औंलाहरू मोबाइलको किबोर्डमा तेर्सिन्थे । ती सबै मायाको शीतल हैन ? प्रेमको अनन्त आभास हैन ? हो, पक्कै । एउटा सुन्दर सुरुवाती प्रेम थियो । यद्यपि, मैले प्रेमको परिभाषा बुझ्न सकिनँ । सायद प्रेमको परिभाषै नबुझी प्रेम हुन्छजस्तो लाग्छ । मायाको अर्थै नजानी माया हुन्छजस्तो लाग्छ । उनी मेरो जीवनमा यति प्रियजस्तो त लाग्दैनथ्यो कहिल्यै । प्रिय हुँदा आफ्नो महत्व बुझाएर गइन् । उनीविना जीवन त जीवनजस्तो लाग्दैन । यति विशाल संसारमा उनी हावाजस्तै बहेर कहाँ पुगिन् । सायद जिन्दगीको झरीमा पानीजस्तो बगेर गइन् होला । उनीविना यो संसार नितान्त एक्लो–एक्लो लागिरहेछ । नितान्त एक्लो ।

प्रतिक्रिया दिनुहोस्