माछा मार्ने जालमा बेरिँदा दूधकोसीमा डुबेर मृत्यु



बाहुनीडाँडा (खोटाङ) । माछा मार्न जाल थाप्नेक्रममा दूधकोसीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सविन राईको निधन भएको छ । जाल थाप्नेक्रममा जालमै बेरिँदा दूधकोसीमा डुबेर राईको निधन भएको हो ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने सोक्माटारमा रहेको झोलुंगेपुलनजिकै बिहान ११ः५५ बजे डुबेका उनको शव दिउँसो १ः३० बजे फेला पारिएको वडाध्यक्ष रुद्र राईले जानकारी गराए । नदीमा डुबेपछि उद्धार गर्नेक्रममा खोजी गर्दा ५० मिटर तल जालमै बेरिएको अवस्थामा उनलाई मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

सहोदर जेठा दाजु बृखधन राई सिकिस्त बिरामी परेर सामुदायिक अस्पताल ओखलढुंगा पठाइएकै दिन सविन राईको नदीमा डुबेर ज्यान गएको स्थानीयले जानकारी गराएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल झिकाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए ।

सविन राई ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको महादेवस्थान माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्