जात्रा



खेत खन्न छाडेर
भाँडा माझ्न छाडेर
गिट्टी ओसार्न छाडेर
मानिसहरू
जात्रा भर्न निस्किसके

स्कुल छाडेर
कार्यालय छाडेर
कारखाना छाडेर

मन्दिर छाडेर
मस्जिद छाडेर
गुम्बा छाडेर

मानिसहरू
जात्रा भर्न निस्किसके

गरिराखेका आफ्ना प्रिय काम सबै छाडेर
आज मानिसहरू
जात्रा भर्न निस्किसके
तिमी किन निस्कँदैनौ बेखमान ?

कविहरू, कलाकारहरू
नेता, पत्रकार, वकिल र प्राध्यापकहरू
सबै निस्किसके
बेखामान !
तिमी बाहिर निस्क
यो जात्रा तिम्रो हो
तिम्रो आँगनबाट सुरु भएको छ
तिम्रो पुर्खाको सम्झना
र सन्तानको चिन्ता
तिमीले नै गर्नुपर्छ
हामी त रमिते मात्र हौं, जात्रा भर्ने मानिस
यो विचारको रथ
तिमीले नै हाँक्नुपर्छ
छ्याङ खाएर तान या नखाई तान
यो रथलाई गल्लीगल्ली
तिमीले नै घुमाउनुपर्छ

पहाडका गाउँगाउँबाट
मधेसका बस्तीबस्तीबाट
हिमाल र काँठका भित्ताभित्ताबाट

बसमा कोचिएर
छतमा सुतेर
ढोकामा झुन्डिएर

मानिसहरू
जात्रा भर्न आइसके

बेखमान !
तिमी अझै किन मौन छौ
र, हुक्का तान्दै
इतिहासको बिस्कुन रुँगेर बसिरहेछौ ?
तिमी बाहिर निस्क

सुन बेखमान
तिमीमाथि अब कुनै छल हुने छैन
आकाश ताकिरहेको यो तिम्रो विचारको रथ
यी मानिसका हुलले
अब ढल्न दिने छैनन्
यो एक्काइसौं शताब्दीमा
अब कुनै तानाशाहले तिम्रो नाक काट्न सक्ने छैनन्

सूर्यले स्नान गरिसक्यो
फूलहरू फुल्न थालिसके
क्षितिज रातो भइसक्यो
हामीले आस्थाको बलि चढाइसक्यौं
जात्रा सुरु भइसक्यो
बेखमान
तिमी बाहिर निस्क ।

प्रतिक्रिया दिनुहोस्