काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने जानकारी गराए । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयअनुसार सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय भएको बताए ।
सरकारको तर्फबाट गरिएको सिफारिसका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई समेत सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गरेकी थिइन् । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले तीनजना सदस्य नियुक्त गर्ने प्रावधान रहेको छ ।
यसअघि सिफारिससहित नियुक्त भएका राष्ट्रियसभा सदस्यमा डा. खतिवडा, रामनारायण विडारी र बिमला राई पौडेल छन् । त्यसमध्ये डा. खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमै सकिएको थियो ।