हलेसी (खोटाङ), २ चैत
हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले चालु आर्थिक वर्षको चौथो नगरसभा र हिउँदे नगरसभाको संशोधित बजेट तथा कार्यक्रममार्फत ल्याइएका योजना समयमै सम्पन्न गर्न आग्रह गरेका छन् ।
नगरप्रमुख राईले हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को हिउँदे नगरसभालाई सम्बोधन गर्दै संशोधित बजेट तथा कार्यक्रम समयमै सम्पन्न गर्न नगर कार्यपालिकासम्बद्ध सबै सदस्य र राष्ट्रसेवक कर्मचारी आग्रह गरेका हुन् ।
‘हामीले चनाखो भई निर्णय गरेका सबै योजना चालु आर्थिक वर्षभित्रै सम्पादन र सम्पन्न गर्न आजैबाट लाग्नसमेत अनुरोध गर्दछु,’ उनले दुःखेसो पोखे, ‘चालु आर्थिक वर्षलाई नगरसभाबाट पारित योजना तथा कार्यक्रम समयमै सञ्चालन र सम्पन्न गर्ने अभियानका रूपमा लैजाने नीति अंगीकार गरिए पनि आर्थिक वर्षको आधा समय बितिससक्दासमेत योजना सञ्चालनमा अपेक्षित उपलब्धि देखिएको छैन ।’
‘हाम्रासामु चुनौती थुप्रै छन्,’ उनले विश्वास व्यक्त गरे, ‘हामी सबैको साथ, सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउन सके ती चुनौती सजिलै पार गर्न सक्छौं । हामी सबैको प्रयत्नले सार्थक उपलब्धि हासिल गर्न समय लाग्दैन ।’
संशोधित बजेट तथा कार्यक्रम कार्यान्वयनमा लैजाँदै गर्दा हिउँदे नगरसभाबाट भएका नगरको मुहार फेर्ने योजना तथा कार्यक्रम कार्यान्वयनमा केही कठिनाइ हुन्छ भन्ने आफूलाई शंका लागेको सुनाउँदै आ–आफ्नो क्षेत्रबाट नगरको मुहार फेर्न सबैलाई साथ–सहयोग गर्न नगरप्रमुख राईले अनुरोध गरे ।
हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को हिउँदे नगरसभा गत फागुन २६ गते सम्पन्न भएको थियो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको होटल जाम्बालामा नगर प्रमुख इवन राईको सभाध्यक्षमा नगरसभा सम्पन्न भएको हो ।
हिउँदे नगरसभामा नगर उपप्रमुख बिमला राई अनुपस्थित रहेकाले नगरप्रमुख इवन राईले नगरको वार्षिक कार्यक्रमको अर्धवार्षिक अनुगमन प्रतिवेदन पेस गरेका थिए ।
यसैगरी, चौथो नगरसभा र हिउँदे नगरसभामा विधायन समिति संयोजक तथा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष रमेश राउतले नगर कार्यपालिकामा पेस गरिएका कार्यविधि पारितका लागि नगरसभामा पेस गरेका थिए ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारीले नगरसभामा उपस्थितलाई न्यानो स्वागत गर्दै स्वागत मन्तव्य दिएका थिए ।
नगरका शाखा अधिकृत रविकिरण आचार्य (सातौं) द्वारा सञ्चालित नगरसभामा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशबाबु घिमिरेले २०७६ साउनदेखि फागुन २५ सम्म नगर कार्यपालिकाबाट भएका निर्णय अनुमोदनका लागि वाचन गरेर हिउँदे नगरसभामा पेस गरेका थिए ।
हलेसी तुवाचुङ नगरपालिकाको हिउँदे नगरसभामा प्रस्तुत बजेट कार्यान्वयनको प्रगति प्रतिवेदन
हलेसी तुवाचुङ नगरपालिकाको नगर उपप्रमुखज्यु, प्रमुख प्रशासकीय अधिकृतज्यू, सभामा उपस्थित नगरसभाका सदस्यज्यूहरू, नगरपालिकाका कर्मचारीहरू, उपस्थित पत्रकारज्यूहरू सबैमा हार्दिक नमस्कार तथा सम्मान व्यक्त गर्दछु ।
हामीले यस ऐतिहासिक चौथो नगरसभामा समुन्नत हलेसी तुवाचुङ नगरपालिका निर्माण गर्ने दीर्घकालीन सोचसहित चालु आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट तथा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा मिति २०७६/०३/३१ गते सर्वसम्मतले पारित गरी काम गर्दै आएका छौं । यस घडीमा देश र जनताको मुक्तिका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र र समृद्धिका लागि संघर्ष गर्नुहुने सबै नगरवासी तथा त्यसको सक्षम नेतृत्व प्रदान गर्नुहुने अग्रणी राजनीतिक व्यक्तित्वहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।
नेपालको संविधानले आत्मसात् गरेको संघीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन व्यवस्थाले सफल कार्यान्वयन गर्नका लागि नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको परिदृश्यलाई साकार पार्न योजना तर्जुमा गरी सोको प्रभावकारी कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय सरकारका नीति, योजना, बजेट तथा कार्यक्रमहरूमा पारस्पारिक सम्बन्ध हुन आवश्यक छ र सोहीअन्तर्गत केही सुधारात्मक सम्बन्ध स्थापित हुँदै गएको महसुस भएको छ । हामीले चालु आव ०७६/७७ को चौथो नगरसभामा यस वर्षका लागि ४८ करोड ८ लाख ७ हजारको बजेट तथा कार्यक्रम तयार गरी सभाले पास गर्दै विनियोजन ऐनमार्फत नगरपालिकालाई खर्च गर्ने अख्तियारी प्रदान गरेका थियौं । आव ०७६/७७ को माघ मसान्तसम्म संशोधित वार्षिक बजेट ४७ करोड ७९ लाख ३० हजार रहेको छ । जसअन्तर्गत चालुतर्फ २६ करोड ७९ लाख ३० हजार ७ सय ५० (५६.०६ प्रतिशत) र पुँजीगततर्फ २० करोड ९९ लाख ९९ हजार २ सय ५० (४३.९३ प्रतिशत) रहेको छ । ०७६ माघ मसान्तसम्मको निकासा १९ करोड ७९ लाख ३१ हजार ७ सय ७० पैसा ७३ रहेकोमा चालु खर्चमा १२ करोड ६० लाख १५ हजार ३ सय ३० पैसा ७३ र पुँजीगत खर्चमा ७ करोड १९ लाख १६ हजार ४ सय ४० रहेको छ ।
नगरवासीले दिएको अगाध माया र ममताबाट प्रेरित भई ‘त्रिधार्मिक तपोःभूमि हलेसी’का रूपमा अगाडि बढाई सबैमाझ परिचित गराउनेगरी सबै क्षेत्रमा बजेट विनियोजनको व्यवस्था मिलाइएको थियो । चालु आव ०७६/७७ को हिउँदे नगरसभाबाट आर्थिक वर्ष ०७६÷७७ का लागि पारित भएका नीति तथा कार्यक्रमले समृद्ध नगर निर्माण गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरी हामीले नगरस्तरीय गौरवका कार्यक्रमहरू समेत समावेश गरेका थियौं । उक्त नीति तथा कार्यक्रमले नगरका लागि विशेष महत्व मानिने योजना :
(क) वृहत् हलेसी गुरुयोजना
(ख) नगर विद्युतीकरण कार्यक्रम
(ग) रक गार्डेन
(घ) शैक्षिक सुधार वर्ष कार्यक्रम
(ङ) सुख्खा तथा बाढीपीडितलाई राहत वितरण
(च) नगर खेलकुद विकासका लागि खेल प्रशिक्षक व्यवस्था
(छ) नवीकरणीय ऊर्जा सडकबत्ती जडान
(ज) हलेसी धर्मशाला निर्माण
(झ) उज्यालो नगर घोषणा अन्तर्गत वडा नं. ४ बडहरेका सम्पूर्ण घर धुरीहरूमा विद्युत् विस्तार गरी उज्यालो वडा घोषणा सम्पन्न । साथै विद्युतीकरण हुन बाँकी बस्तीमा निकट भविष्यमा विद्युत् विस्तार गरी उज्यालो नगर घोषणा गर्ने कार्यक्रमको अन्तिम तयारी ।
(ञ) हलेसी–धितुङ–भाडबेंसी–रेग्मीटार प्रदेश नं. १ सँग जोड्ने सडक
(ट) राँगाकाटे वडा कार्यालय कुर्लेघाट भौगोलिक विकट दूरदराजमा रहेको सडक
(ठ) च्यास्मिटार–वाफ्लाङ–डिकुवा–राईघाट सडक
(ड) अर्खौले हाटबजार व्यवस्थापन
(ढ) दुर्छिम र च्यास्मिटारमा ल्याब सञ्चालन
(ण) दुर्छिममा भिडियो एक्स–रे मेसिन सञ्चालन
(त) ज्येष्ठ नागरिक घर–दैलो उपचार कार्यक्रमबाट १ हजार ५५० जना ज्येष्ठ नागरिक लाभान्वित
(थ) नगरस्तरीय रातमाटे खेलमैदान निर्माणाधीन । उक्त कार्यक्रम सञ्चालनका लागि सार्वजनिक खरिद ऐन, प्रचलित अन्य नियम कानुन पालना गर्दै अगाडि बढ्नेक्रममा केही ठूला योजना हाल कार्यान्वयनक्रममा रहेका छन् भने केही कार्यान्वयन हुनेक्रममा रहेको छ । सो हुँदाहुँदै पनि हामीले चालु आव ०७६÷७७ को साउनदेखि हालसम्म आइपुग्दा उल्लिखित नगरसभाले दिएको म्यान्डेटअनुसार मासिक रूपमा हुने नगर कार्यपालिका बैठकबाट सो समयमा आइपर्ने नगरसभामा पास भएकाबाहेकका अत्यावश्यक योजना तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक देखी निर्णय गर्दै कार्यान्वयन चरणमा जाँदै गर्दा उक्त कार्यक्रमलाई थप आम्दानीको स्रोत सुनिश्चितता भएको हुँदा हामीले गत नगरसभामा आँकलन गरेको आयभन्दा हालसम्म आइपुग्दा केही वृद्धि हुने अवस्था देखिएकाले उक्त कार्यपालिका बैठकबाट निर्णय भई कार्यान्वयन चरणमा रहेका कार्यक्रमलाई पूरक बजेटका माध्यमबाट नगरसभाले पारित गरेरमात्र खर्च गर्न पाउने कानुनी व्यवस्था रहेकाले साबिकमा चौथो नगरसभाले पास गरेका योजना तथा कार्यक्रमको अलावा विभिन्न समयमा वडा कार्यालयहरूबाट सिफारिस भइआएका थप कार्यक्रम समावेश गरी कार्यक्रम सञ्चालनको आवश्यकता र स्रोतको आपूर्तिका आधारमा यस आव ०७६/७७ को हिउँदे नगरसभाबाट अनुमोदन र पारित गरी कार्यान्वयनमा लैजान यो नगरसभा आयोजना गरिएको व्यहोरासमेत म अनुरोध गर्दछु ।
हामीले यस आर्थिक वर्षलाई नगरसभाबाट पारित भएका योजना तथा कार्यक्रम समयमै सञ्चालन गर्ने अभियानका रूपमा लैजाने नीति अंगीकार गरेकोमा हाल आर्थिक वर्षको आधा समय व्यतीत भइसक्दा समेत योजनाहरूको सञ्चालनमा अपेक्षित उपलब्धि नदेखिएकाले म नगरसभाको सम्पूर्ण सदस्यज्यूहरू र राष्ट्रसेवक कर्मचारीहरूलाई यसप्रति अविलम्ब चनाखो भई हामीले निर्णय गरेका सबै योजना चालु आर्थिक वर्षभित्रै सम्पादन गर्न आजैबाट लाग्नसमेत अनुरोध गर्दछु ।
नगरसभा सदस्यज्यूहरू,
अब म यस गरिमामय हिउँदे नगरसभासमक्ष आर्थिक वर्ष ०७६÷७७ को संशोधित बजेट तथा कार्यक्रम निर्माणका लागि स्थानीय आवश्यकता, नगरकार्यपालिका बैठक र नेपालको संविधानको धारा १२१ को उल्लिखित व्यवस्थाअनुसार यो संशोधित कार्यक्रम तथा बजेट तयार गरी कार्यान्वयनमा ल्याउन लागेको कुरा राख्दछु ।
(१) नेपालको संविधान धारा १२१
(२) स्थानीय आवश्यकता
(३) चौथो नगरसभाको म्यान्डेटअनुसार यस चालु आवमा भएका नगरकार्यपालिका बैठकको निर्णय ।
हामी संशोधित बजेट तथा कार्यक्रम निर्माण गरी कार्यान्वयनको चरणमा ल्याउँदै गर्दा हिउँदे नगरसभाबाट भएका नगरको मुहार फेर्नेखालका योजना तथा कार्यक्रम कार्यान्वयनमा केही कठिनाइ हुन्छ कि भन्ने मलाई शंका लागेको छ । सबैले आ–आफ्नो क्षेत्रबाट नगरका मुहार फेर्ने काममा साथ र सहयोगको अपेक्षा राखेको छु ।
हामीले गत नगरसभामा हाम्रा पाँचवटै विषयगत क्षेत्र तथा उपक्षेत्र समेटेर आवश्यकता, औचित्यता, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, नेपालको संविधान, अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन आदि समेतका आधारमा योजना तथा कार्यक्रम तय गरी सबै क्षेत्रलाई समान रूपमा विकासको प्रत्याभूति दिलाउने अवधारणाअनुरूप तय गरिएका उक्त योजना तथा कार्यक्रमअनुसारै यस हिउँदे नगरसभाबाट पारित हुँदै गरेको संशोधित बजेट तथा कार्यक्रमसमेत समावेश गरेका छौं ।
यस चालु आव ०७६/७७ को चौथो नगरसभाबाट कुल राजस्व असुलीको अनुमान ११ करोड ६६ लाख १६ हजार गरिएको थियो । जसमध्ये आन्तरिक स्रोतमा १ करोड अनुमान गरिएकोमा ०७६ माघ मसान्तसम्म ३९ लाख ९८ हजार ३ सय ३१ असुल भई अनुमानित आम्दानीमा ३९ प्रतिशत प्रगति भएको छ भने बाह्य स्रोतबाट १० करोड ६६ लाख १६ हजार अनुमान गरिएकोमा हालसम्म ४ करोड २३ लाख ४५ हजार ६ सय ९५ पैसा ५० अर्थात् ३९.७१ प्रतिशत आम्दानी भएको व्यहोरा जानकारी गराउँदछु ।
यसरी हेर्दा हामीले अनुमान गरेको राजस्व लक्ष्यमा नपुग्ने देखिन्छ । नगरपालिकाले साबिकदेखि असुल गर्दै आइरहेको सबै किसिमका करलाई थप वैज्ञानिक बनाउन आवश्यक पहलकदमी गर्दै यसै आवदेखि सबै वडा कार्यालयमा राजस्व सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याउन लागिएको छ, जसले राजस्व आम्दानीमा थप वृद्धि हुनुका साथै रेकर्डहरू व्यवस्थापनमा सहजता हुने विश्वाससमेत व्यक्त गर्दछु ।
अब म यस हिउँदे नगरसभासमक्ष आव ०७६/७७ को संशोधित बजेट तथा कार्यक्रमका लागि प्रस्ताव गरिएको बजेट तथा कार्यक्रमको विवरण पुस्तिकामार्फत पेस गरेको छु ।
अन्त्यमा,
यस ‘त्रिधार्मिक तपोःभूमि हलेसी’को विकास, समृद्धि र समुन्नतिका लागि निरन्तर सद्भाव र सहयोग गर्नुहुने नगरसभाका अध्यक्षलगायत सम्पूर्ण नगरसभा सदस्यज्यूहरू, नगरपालिकाका कर्मचारीहरू, पत्रकार, सुरक्षाकर्मी, राजनीतिक दललगायत सबैमा हार्दिक आभार प्रकट गर्दै संशोधित बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सबै पक्षहरूको साथ र सहयोगको अपेक्षा गरेको छु । हाम्रासामु चुनौती थुप्रै छन् । हामी सबैको साथ, सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउन सकेमा ती चुनौती सजिलै पार गर्न सक्नेछौं भन्नेमा कसैको पनि विमति नहोला । आगामी दिनमा हामी सबैको प्रयत्नले सार्थक उपलब्धि हासिल गर्न सकौं भन्ने अपेक्षा गर्दै चालु आवको चौथो नगरसभा र हिउँदे नगरसभाको संशोधित बजेट तथा कार्यक्रममार्फत ल्याइएका योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न आगामी दिनमा सबैको सक्रिय सहयोग पाउने अपेक्षा गर्दै सम्पूर्ण महानुभावप्रति हार्दिक आभार प्रकट गर्दछु ।
धन्यवाद ।
२०७६ फागुन २६
इवन राई
नगर प्रमुख
हलेसी तुवाचुङ नगरपालिका