हलेसी तुवाचुङ नगरपालिका ‘सिल’, आलोचनात्मक ‘स्टाटस’ लेख्नेलाई शाखा अधिकृतबाट कारबाही माग



दुर्छिम (खोटाङ) । अर्को व्यवस्था नभइन्जेलका लागि हलेसी तुवाचुङ नगरपालिका ‘सिल’ गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थाननिवासी २० वर्षीया युवकमा कोरोना संक्रमण पुष्टि भएपछि ११ वडा समेटिएको हलेसी तुवाचुङ नगरपालिका ‘सिल’ गरिएको हो ।

मंगलबार बिहान हलेसीमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयमा १ घन्टा बसेको सर्वदलीय बैठकले निर्णय गरेलगत्तै नगरपालिका ‘सिल’ गरिएको हो । बैठकले समयसीमा नतोके पनि परिस्थिति हेरेर ‘सिल’ खोलिने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी गराए ।

स्वास्थ्यचौकी र सुरक्षा निकायबाहेक हलेसी तुवाचुङ नगरपालिका र नगरका ११ वटै वडा कार्यालय बन्द गरिएका छन् । शैक्षिक संस्था भने पहिल्यैदेखि बन्द थिए । नगरपालिका ‘सिल’ गरेपछि दैनिक उपभोग्य सामग्री किनबेचका लागि बिहान र बेलुका निश्चित समय तोकिएको छ भने बाँकी समय पसलसमेत बन्द गरिने भएको छ ।

कोरोना संक्रमित २० वर्षीय युवकको घरसमेत ‘सिल’ गरिएको छ । काठमाडौंको पेप्सीकोलामा बस्दै आएका ती युवक गत वैशाख १२ गते बा४ख २२११ नम्बरको यात्रुवाहक बसबाट हलेसी आएका थिए । बन्दाबन्दीले अप्ठ्यारो परेको सिकायत आएपछि हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौं उपत्यकामा बसोवास गर्ने नगरवासीलाई घरसम्म ल्याउने निर्णय गरी उनीहरूलाई उद्धार गरेको थियो । उद्धारक्रममा ती युवकसमेत घर आएका थिए ।

यसैगरी, नगर प्रवेश र बाहिरिनलाई रोक लगाइएको छ । त्यतिमात्रै होइन, अत्यावश्यकबाहेकका यातायात साधन गुडाउनसमेत पूर्ण रूपमा रोक लगाइएको हो ।

‘तत्कालका लागि नगरभित्र सञ्चालित निर्माणकार्यसमेत बन्द गर्ने निर्णय भएको छ,’ सर्वदलीय बैठकमा नेकपाबाट सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्य डिल्ली चाम्लिङले भने, ‘कोरोना संक्रमण परीक्षण तीव्र बनाउन ५०० प्रति पीसीआर परीक्षण गर्ने सामग्री मगाउने निर्णय भएको थियो ।’

कोरोना संक्रमित भेटिएपछि मंगलबार हलेसीमा ४३ जनाको स्वाब संकलन गरिएको थियो । संकलित स्वाब मंगलबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी पठाइएको छ । कोरोना संक्रमित युवकलाई उपचारका लागि मंगलबार अपराह्न पाँच बजेतिर मोरङको विराटनगरमा रहेको कोरोना अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ । उनलाई सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।

सर्वदलीय बैठकले तराईलगायत विभिन्न ठाउँबाट गरिने खाद्यसामग्री र तरकारी आयातमा समेत रोक लगाइएको बैठकमा सहभागी एक नेताले सुनाए । त्यस्तो निर्णयपछि खाद्यसामग्री र तरकारी बोकेर तराईबाट आएका यातायात साधन दुर्छिमको छापडाँडामा रोकिएको थियो ।

‘नगरले काठमाडौं उपत्यकाबाट नगरवासीलाई उद्धार गरेपछि कतिपयले सामाजिक सञ्जालबाट आलोचनात्मक टिप्पणी गरेका थिए,’ बैठकमा सहभागी अर्का नेताले पोल खोले, ‘त्यस्तालाई कारबाही गर्न नगरका शाखा अधिकृत रविकिरण आचार्यले प्रस्ताव राखेका थिए । तर, मेयर सापले अस्वीकार गर्नुभयो ।’ कारबाही मागबारे बुझ्न शाखा अधिकृत आचार्यलाई टेलिफोन गर्दा सम्पर्क हुन सकेन ।

बैठकले चार दलसम्बद्ध नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत आलोचनात्मक टिप्पणी नगर्न सर्वदलीय सहमति गरेको थियो ।

सर्वदलीय बैठकमा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, नगर उपप्रमुख बिमला राई, नेकपातर्फ डिल्ली चाम्लिङ, काँग्रेस, जसपा र राप्रपाबाट क्रमशः चक्रकुमार राई, मविन्द्र राई र पेसल बस्नेत सहभागी थिए ।

बैठकमा नगरपालिकाका शाखा अधिकृत रविकिरण आचार्य, योजना शाखाका दीपक रिजाल, स्वास्थ्य संयोजक रामकुमार भगत, सहसंयोजक प्रकाश घिमिरे, इप्रका हलेसी इन्चार्ज दिनेश खरेल र नगर इन्जिनियर नवीन कौशलसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्