पालिकाबाहिर रहेकालाई सम्पर्कमा आउन अध्यक्ष राईको आह्वान



भोजपुर । पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईले विभिन्न कामको सिलसिलामा बाहिर रहेका पालिकावासीलाई पौवादुङ्मा गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न आह्वान गरेका छन् ।

पौवादुङ्मा गाउँपालिका अध्यक्ष राईले कामको सिलसिलामा बाहिर रहेका पालिकावासीलाई पौवादुङ्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईको मोबाइल नम्बर ९८४२२८५४३१ सम्पर्क गरी नाम, ठेगना, जनसंख्या, अस्थायी बसोवासको ठेगाना, टोल, घर नम्बर र फोन नम्बरसमेत टिपाउन आह्वान गरेका हुन् ।

‘यतिबेला पौवादुङ्मा गाउँपालिकावासी जो जहाँ हुनुहुन्छ, सम्बन्धित पालिकाका जनप्रतिनिधिसँग समन्वय गरेर उनीहरूसमक्ष राहत सामग्री उपलब्ध गराउन तत्पर छौं,’ अध्यक्ष राईले टेलिफोनमा भने, ‘गाउँ कार्यपालिकाले त्यस्तो निर्णय गरेका छौं । यस्तो दुःखद घडीमा पालिकावासी जीवनरक्षाका लागि हामी कुनै कसर बाँकी राख्ने छैनौं ।’

सहयोगको याचना गर्ने कोही न कोही पालिकावासी पक्कै हुनुपर्छ । त्यस्ताको जीवनरक्षाका लागि पालिकाप्रमुखका हैसियतले चासो राख्नु पौवादुङ्मावासीका लागि सुखद खबर हो । पीडितलाई सहयोग गर्न तथ्यांक आवश्यक पर्ने नै भयो । त्यसैले पौवादुङ्वा गाउँपालिका अध्यक्ष किरण राईले सामाजिक सञ्जाल फेसबुमार्फत सम्पर्कमा आउन आह्वान नगरिरहन सकेनन् ।

‘लकडाउनमा केवल खाना खान र खुवाउन नपाएको दुःख भोग्न र देख्न नसकेर एउटी आमाले आफ्ना छोराछोरीलाई विष खुवाइन् । आफू पनि खाएर आत्महत्या गरेको दुःखद समाचार प्रकाशन प्रसारण भएको थियो,’ अध्यक्ष राईले अनुरोध गरे, ‘पौवादुङ्मा गाउँपालिकावासीको त्यस्तो अवस्था सुन्न नपरोस् भनेर पालिकावासीलाई सम्पर्कमा रहन आह्वान गरेको हुँ ।’

गाउँपालिकाका सूचना अधिकारी ज्ञानु दाहाल ९८१९०६१०९५ र सूचना प्रविधि अधिकारी मुकेश राईको मोबाइल नम्बर ९८६०७८१६९० सम्पर्क गर्न उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्