जिन्दगीमा धेरै कुदियो । हिसाबै गर्ने हो भने जिन्दगी छोटो हुन्छ । त्यही कुदाइले मानव जीवन, मानवता, प्रकृति, विज्ञान, प्रेम, अध्यात्म, भौतिकविज्ञान, इतिहास, भूगोल, खगोलशास्त्र, दर्शनशास्त्रलगायत अनेकौं विचार तथा दृष्टिकोणको रंगशाला भेटिए । जस्तोसुकै संकटमा समेत निदाउँदै ननिदाउने जीवित व्यक्तित्व यहीक्रममा भेटिए । ऊ हिजोआज यसरी निदाइरहेछन्, जो सामान्य ‘अलार्म’ले ब्युझँदैनन् । उनले हिजो गरेको अनेकन संघर्षको थकान यसरी मेटाइरहेछन्, जो चौबीस घन्टामा एकपटक ब्युँझन्छ । ऊ ब्युँझदा घरको सारा काम चौपट हुन्छ । र पनि, उनलाई मतलब छैन ।
ऊ यसरी किन सुत्छ ?
एक बिहानै सहरको कोलाहलबाट टाढिन खोज्छु । ऊ ओछ्यानमै लडिरहेको हुन्छ । ऊ युद्धताका असाध्यै अनुशासित । आफूले पाएको भूमिका सक्रियतासाथ निर्वाह गर्ने ऊ जनयुद्धको एउटा सफलताको कडी हो । त्यस्तो मानिस निदाउनु अस्वाभाविक होइन । त्यसैले कमरेड उठ्नुहोस् । यसरी नसुत्नुहोस् । तपाईं सुतेकै कारण बैरीलाई फाइदै फाइदा भइरहेछ ।
मैले गरेको अनुरोधको जवाफ आउँदैन । त्यसपछि उनलाई ओछ्यानमै छाडेर बाटो लाग्छु । उनलाई ब्युँझाउन नसकेकोमा ग्लानि हुन्छ । मनको कुरा मनमै राखेर अनामनगर (काठमाडौं)तिर दौडन्छु अनामनगरमा शैलेन्द्र भुजेल (भोजपुर)को रेष्टुरेन्ट छ । पूर्वसल्लाहअनुसार नगेन्द्र राई (माओवादी, भोजपुर इन्चार्ज)सँग त्यहीं भेटिन्छौं । युद्धकालीन भोजपुरेहरूसँग अनेकानेक विषय र प्रसंग जोडिइन्छन् । शैलेन्द्रसँग औपचारिक चिनजान थिएन । भोजपुरमा कार्यरत रहँदैदेखि भुजेल कमरेडले पंक्तिकारलाई चिन्दारहेछन् । पानधारे जंगलमा सीपी गजुरेल उपस्थित पार्टी प्रशिक्षणमा झन् नजिकबाट चिनेको हुँ भनेर उनले प्रस्ट्याए । त्यो कार्यक्रममा व्यवस्थापन हेर्ने जिम्मेवारी पंक्तिकारले पाएका थिए ।
अनामनगरबाट सम्झनाको तरेलीमा तरेलिँदै भोजपुरको घोडेटारतिर पुग्यौं । सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा घोडेटारमा सहिद पार्क निर्माणका लागि योजना पेस गरेको नगेन्द्र राईले सुनाए । पार्क निर्माण योजनामै सीमित रह्यो ।
चन्द्र भुजेलले थपे, ‘जमिनजीले घोडेटार मोर्चामा शहादत प्राप्त नगर्नुभएको भए पूर्वमन्त्री सुदन किरातीले अहिले प्राप्त गरेको अवसर जमिन कमरेडले ओगट्थे ।’
सशस्त्र जनयुद्धमा भोजपुरे पदम साम्पाङहरूको योगदान पनि उत्तिकै थियो । साम्पाङको सपरिवार पार्टीका पूर्णकालीन बनेका थिए ।
‘संवत् २०६३ असार ९ गते घोडेटार मोर्चामा सहिद भएका बटालियन सहकमान्डर जमिनलगायत आठजना योद्धाको शव रानीबासको पूर्णेडाँडामुनिको जंगलमा खाल्डो खनेर राखियो,’ भुजेलले सुनाए, ‘त्यसको पाँच महिनापछि कमरेड ज्ञानुको नेतृत्वमा हतुवागढी ब्यारेकको पश्चिमपट्टि सार्वजनिक चौरमा समाधि निर्माण गरेर आठजना योद्धाको शव व्यवस्थापन गरी घोडेटार माध्यमिक विद्यालय प्रांगणमा सहिद स्मृति सभा गरिएको थियो ।’ उनले सुनाएको अतीतले एकछिन सन्नाटा छायो ।
पंक्तिकारले जमिनबारे थप नयाँ–नौलो जानकारी भए सुनाउन आग्रह गरे । ‘पार्टीमा अन्तर्विरोध चर्किएको थियो, त्यसैले जमिनलाई भोजपुर जनसरकारबाट जनमुक्ति सेनाको फर्मेसनमा पठाइयो,’ उनले थपे, ‘खास त्यस्तो कुरा त गर्नुहुन्नथ्यो । तर, त्यतिबेलाको परिस्थिति शंकास्पदजस्तै लाग्थ्योे ।’
‘माघको १४ गते राति घोडेटारको कालीध्वज गणमाथि हमला गर्ने पक्कापक्की भयो । हामी युँस्थित एमाले गाउँ विकास समिति उपाध्यक्ष बद्री खड्काको घरमा पुग्यौं,’ उनले प्रसंग जोडे, ‘त्यहीबेला जमिन दाइले हाँसीहाँसी भन्नुभयो– हामीलाई पुरपार गर्ने चन्द्र भाइहरू नै हुन् है बद्री कमरेड ।’
त्यसो भनिरहँदा बद्रीले गम्भीर जवाफ दिए, ‘लडाइँ हो, सतर्क भएर लड्नुहोस् ।’
जमिन र बद्री एकदमै मिल्ने साथी । बद्रीले जनयुद्धक्रममा पार्टीलाई सक्दो सहयोग गरे । त्यसैले आफू युद्धमा मर्ने कुरा नजिकका मित्रहरुलाई जमिनले सुनाउँदै आएका थिए ।
‘घोडेटार आक्रमणको समय नजिकिँदै थियो । दिन ढल्दै गयो । साँझ पर्दै गयो । सोही समय मलाई त भन्नुभयोे भरे ९ बजे आसपास म ढल्नेछु,’ चन्द्रले अतीत सम्झे, ‘चन्द्र भाइ मेरो शव राम्रोसँग निकालेर गाडिदिनू । पार्टी सत्तामा आएपछि पूर्णेडाँडामा मेरो पूर्ण कदको सालिक बनाएर राखिदिनू । त्यो डाँडामा मेरो निकै मिहिनेत पोखिएको छ ।’
‘हो, जमिनजीकै नेतृत्वमा पूर्णेडाँडामा ठूलो मैदान खनिएको थियो,’ माओवादी भोजपुर इन्चार्ज नगेन्द्र राईले भने, ‘उहाँको जीवनमा सम्झनलायक काम भएकाले त्यस्तो प्रस्ताव आएको हुन सक्छ । भोजपुर सांसद सुदन किराती र जमिन जीवित रहँदा गरेको सानो प्रस्ताव पार्टीले पूरा गर्नैपर्छ ।’
‘किराती मन्त्री हुनेबित्तिकै पूर्णेडाँडामा जमिनजीको सालिक र आठजनाको शव राखिएको ठाउँमा सहिद पार्क निर्माण गर्नेबारे प्रस्ताव राखेका थियौं,’ चन्द्रले जानकारी गराए, ‘विभिन्न चरणमा छलफल भयो । मन्त्रीज्यूले एकदम राम्रो प्रस्ताव भन्नुभए पनि व्यवहारमा कार्यान्वयन गर्नु भएन । सल्लाह गर्दै गरौं भनेर टार्नुभयो ।’
‘हुन त सहिद पार्क र सहिदको सालिक नबन्दैमा केही फरक पर्दैन,’ पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’को फौजी नेतृत्वमा घोडेटार मोर्चा लडेका चन्द्र भुजेल दुःखेसो पोख्छन्, ‘तर, नेतागणहरू सहिदको सपना साकार तुल्याउनभन्दा गुटगट राजनीतिक स्वार्थ पूरा गर्न जनप्रतिनिधि बनेको दुःखद अनुभूति हुन्छ ।’
सन्तवीर शिवाहाङ र मनमाया हाङ्खिमको कान्छो छोराका रुपमा संवत् ०३७ सालमा साबिक रानीवास गाउँ विकास समिति–२ पेक्लामा जमिनको जन्म भएको थियो । उनको वास्तविक नाम मिसम शिवाहाङ हो । उनले सुनसरीको धरानबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि सिक्किमको गान्तोकमा रहेको एक सैनिक कलेजबाट आईकम उत्तीर्ण गरी स्वदेश फर्की पूर्वमन्त्री गोपाल किरातीको नेतृत्वमा रहेको खम्बुवानबाट माओवादीमा एकता भई प्रवेशपछि पूर्णकालीन राजनीतिमा स्थापित भए ।
जमिनले खोटाङकी लक्ष्मी तामाङ ‘ज्ञानु’सँग ०६१ असोजमा जनवादी बिहे गरे । उनको दुई दाजु, दुई भाउजू, एक दिदी, एक बहिनी र पाँच भतिजाभतिजी छन् । ०६२ माघ १४ गते पार्टीको क्षेत्रीय व्युरो सदस्य सैन्य फर्मेसनमा विशालकुमार ब्रिगेडको प्रथम बटालियन सहकमान्डरका रूपमा घोडेटार मोर्चामा उनको शहादत भयो । जनसेनामा जानुपहिले भोजपुर जिल्ला जनसरकार प्रमुख, किरामुमो भोजपुर अध्यक्षजस्तो जिम्मेवारी निर्वाह गरे ।
जमिनकी धर्मपत्नी लक्ष्मी तामाङ ‘ज्ञानु’ले सुनाइन्, ‘जनसरकार प्रमुख, किरामुमो जिल्ला अध्यक्ष हुँदै माओवादी क्षेत्रीय ब्युरो सदस्यसम्म भएको थाहा छ ।’
पंक्तिकार अनामनगरबाट फेरि निदाइरहेको कमरेड उठाउन कपन फर्के । तर पनि उनलाई उठाउन सकेनन् ।