पानी बा



डिकुवा (खोटाङ) । दाम्लीवासीका पानीपीडाबारे खनिखोस्री साध्य छैन । हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा, दाम्लीवासीले पुस्तौं पुस्तादेखि पानीपीडा भोग्दै आएका छन् । यसअघिका पुस्ताले भोगेका पानीपीडा त्यत्तिकै पीडादायी थियो ।

दाम्लीवासीको पानीपीडा कम गर्न स्थानीय रन्जित राई (६५) लागिपरेको थुप्रै भयो । संवत् २०५४ सालदेखि भुम्जु–नार्चिपा खानेपानी आयोजनाको चौकीदार भएर राईले स्थानीयको पानीपीडा कम गर्ने भूमिका निर्वाह गर्दै आएका छन् ।

चौकीदार राईले दैनिक बिहान ६ देखि ८ बजेसम्म र बेलुका ४ बजेपछि रिजर्भ ट्यांकीमा संकलित पानी खोलेर वितरण गर्नुपर्छ । त्यतिमात्रै होइन, गाउँमा रहेका पाँच धारामा पानी आएको नआएकोसम्म जानकारी राख्नुपर्छ । पानी नआएमा कारण पत्ता लगाई सबै धारामा पानी आउने बनाउनैपर्छ । मुहानमा गडबड भएर ट्यांकीमा पानी संकलन नभए उनी स्वयम्ले मर्मत–सम्भार गर्नुपर्छ ।

‘त्यतिबेला ?,’ उनले जानकारी गराए, ‘दाम्लीका ३५ घरपरिवारले पानी उपभोग गर्थे । प्रतिघरधुरीले मासिक १७ रुपैयाँ पारिश्रमिक दिन्थे ।’ हिजोआज ५७ घरपरिवारले सो आयोजनाको पानी उपभोग गर्छन् ।

‘हिजोआज ?,’ उनले थपे, ‘५७ घरधुरीले मासिक १०० रुपैयाँ पारिश्रमिक दिन्छन् । सय रुपैयाँ भनेको केही होइन । पैसाभन्दा भूमिकाप्रति उत्तरदायी छु । त्यसैले पाएको भूमिकाबाट अलग हुन सकिनँ ।’

गोरखा भूकम्प (०७२) र च्यास्मिटार–कुर्लेघाट सडक विस्तारपछि दाम्लीदेखि एक किलोमिटर दुरीमा रहेको भुम्जु–नार्चिपा खानेपानी आयोजनाको इन्ट्यांक भत्केपछि रिजर्भ ट्यांकीमा पानी जम्मा गर्न सम्भव भएन । त्यसपछि बिजुवाथान जंगलमा अर्को ट्यांकी बनाई त्यहींबाट पानी वितरण गर्न थालियो । स्थानीय बिहान सबेरै पानी लिन लामबद्ध हुन्छन् भने बेलुका ४ बजेपछि ।

‘बर्खामासमा पानीको त्यति अभाव हुँदैन,’ उनले वास्तविकता सुनाए, ‘सुक्खायाममा मुहानबाट जसोतसो संकलित पानी स्थानीयलाई वितरण गर्न छाडिएको छैन ।’ २७ वर्षदेखि भुम्जु–नार्चिपा खानेपानी आयोजनासम्बद्ध रन्जित राईले चौकीदारको भूमिकाका लागि १३ दिने तालिम लिएका थिए ।

दाम्लीबाट एक घन्टा पैदल दुरीमा धार्कुङ्मा पँधेरो छ । त्यहाँको पानी सुक्दा चार घन्टा हिँडेर डिक्खोलाबाट पानी बोकेर खाएको स्थानीय बूढापाकाले बिर्सेका छैनन् । दाम्लीवासीको पानीपीडा कम गर्न साबिक डिकुवा गाउँ विकास समिति ४ र ५ दाम्ली भञ्ज्याङमा भुम्जु–नार्चिपा खानेपानी आयोजना सञ्चालनमा ल्याउन तात्कालिक जिम्मावाल कर्णबहादुर राई (बाम्राई) ले जिल्लामा आयोजना दर्ता गरेको स्थानीय धनीराम राईले जानकारी गराए ।

खानेपानी आयोजना सञ्चालनका निम्ति एडीबी इन्जिनियरका रूपमा घनश्याम भट्टराई ०३६ मै सर्बेका लागि डिकुवा आएको भुम्जु–नार्चिपा खानेपानी उपभोक्ता समिति अध्यक्ष धनीराम राई बताउँछन् ।

त्यतिबेला खानेपानी आयोजना सञ्चालनका लागि डिकुवाबाट दर्ता प्रक्रिया पुगेका तीन मुहानबाट खानेपानी आयोजना सम्पन्न गर्न एडीबीले ७ लाख रुपैयाँ खर्चेको स्थानीय प्रेमसुन्दर राईको भनाइ छ ।

त्यसताका तीन मुहानबाट तीन खानेपानी सञ्चालन गर्न तीन खानेपानी आयोजनाले ६०/६० हजार रुपैयाँ धरौटी राखेका थिए । तीनवटै खानेपानी आयोजनाका लागि रकम संकलन गर्न बलुईका कुलबहादुर राईले भूमिका खेलेका थिए ।

यसैगरी, खहरेखोला मुहानबाट बाइटार र खड्याउलाखोला मुहानबाट टारगाउँ गरी साबिक डिकुवा गाविस ४ र ५ अनि २ र ३ नम्बर वडाका लागि खानेपानी आयोजना सञ्चालन गरिएको थियो ।

सबै तस्बिर : मोतीराज राई

प्रतिक्रिया दिनुहोस्