सुनकोसीकिनारको राजदह भएर धेरैपटक ओहोरदोहोर गरियो । हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा बालाङमारी पर्छ । त्यही गाउँको कुनामा गहिरो दह छ, त्यसलाई हिजोआज ‘राजदह’ भनिन्छ । हलेसीमात्रै नभएर जिल्लाको उत्तरी भेगका मानिस राजदहको बाटो भएर ओहोरदोहोर गर्थे । तराई–मधेस झर्ने मूलबाटो यही थियो ।
राजदहवरिपरिको भौगोलिक बनावट अनौठो थियो । दहको भित्ताका ढुंगामा कपिएको अप्ठ्यारो बाटो । भीरको बाटो उक्लेपछि अलिकति तेम्मा (सम्म) ठाउँ आउँछ । त्यहाँ स–साना रुखका बुट्यान थिए । राजदहको बाटो छिचोलेपछि आइपुगिने रुखका शीतल छहारी साह्रै रमाइलो हुन्थ्यो । यहाँ आइपुगेपछि धेरैका धेरै खालका जिज्ञासा हुन्थे । विभिन्नखालका मिथक सुनाइन्थे, ‘यो दहमा नाग राजा बस्छन् । दहमाथिको ढुंगामा नाग राजा आफ्ना सेनासँग घाम ताप्न आउँछन् । यो दहभित्र दरबार छ । दहका भित्ताहरूमा राति झललल बत्ती बल्छन् । यो दह कहिल्यै पुरिँदैन ।’
थुप्रै किराती मिथकमध्ये हामीले धेरै सुनेको तर यो ठाउँ हो भनेर थाहा नपाएका रहेछौं । थाहा नहुनुमा थुप्रै कारणमध्ये एउटा हो, यसको नाम परिवर्तन गरिनु । मुन्दुमीहरूले यो दहको नाम हिजोआज पनि वाहिताम भन्छन् । मौखिक रिसियामा वाहिताम भनिन्छ । हिजोआज राजदह भनिए पनि मुन्दुमीहरूले वाहिताम नै भन्दै आएका छन् । नाम परिवर्तन भएपछि यो कथाको स्थानीयता हरायो । यहाँ किराती पुर्खाहरूले लडाइँ लडेको कथा छ । तर, यो ठाउँ हो भनेर धेरैलाई थाहा छैन । राजदह अर्थात् वाहितामको मिथक यस्तो छ ।
धेरै–धेरै पहिलेको कुरा हो, यो दहमा नाकिहों नामक नाग राजाको होंखिम (दरबार) थियो । नाकिहोंले आकर्षक र धेरै राम्रो दरबार बनाएका थिए । पछिबाट यो दह फुटेर सानो भएको हो । पहिले यहाँ विशाल दह थियो । बालाङमारीको सबै तेम्मा (समतल) खेतबारी दहले ओगटेको थियो । त्यसबेला उभों–उभों हिमाल तथा पहाडबाट यही बाटो भएर किराती पुर्खाहरू आवतजावत गर्थे । यही बाटो भएर नियामा (मधेस) तिर झर्थे ।
राजदहभन्दा धेरै माथि साल्पा सिलिचुङमा पनि एक जना पुर्खा बस्थे । उनको नाम ‘साल्पाहों’ साल्पा राजा थियो । उनको एकजना छोरा थिए । उनको नाम ‘नायुङ’ हो । नायुङलाई ‘नाकेङ’ पनि भनिन्छ । नायुङ बसेको, हुर्केको क्षेत्र साल्पा सिलिचुङ थियो । त्यसैगरी नाकिहोंको क्षेत्र हिजोआजको हलेसी क्षेत्र थियो । नाकिहोंको एक छोरी थिइन् । साल्पाहोंको छोरा नायुङ साल्पा सिलिचुङतिर बस्थे ।
नायुङ ठूलो हुँदै गए । ठूलो भएपछि उनलाई साल्पा सिलिचुङ क्षेत्र छाडेर मधेस (नियामा) तिर घुम्न मन लाग्यो । त्यसपछि नायुङले आपा साल्पाहों र आमा साल्पाहोंमालाई भनेछन्, ‘पापामामा अब म ठूलो भएँ । मधेसतिर घुम्न मन लाग्यो । घरबाट बाहिर घुम्न निस्कन्छु ?’

छोराको प्रस्ताव सुनेपछि साल्पाहों र साल्पाहोंमा तीनछक परे । साल्पाहोंमाले भनिन्, ‘हना नायुङ तिमीले यो के भन्दै छौ ? तिमी अझै पनि सानै छौं ।’
प्रतिउत्तरमा नायुङले भने, ‘आमा म अब ठूलो भइसकें नि । घुमफिर गर्न सक्ने भएको छु ।’
श्रीमती र छोराको कुरा सुनेपछि साल्पाहोंले भने, ‘नायुङले ठीकै भन्यो । अब ऊ केटाकेटी पनि छैन । घुम्न जान्छ भने जाओस् न त । तर, आमालाई सोधेर जाऊ । साथीहरूसँग जानू । एक्लै नजानू ।’ आपा साल्पाहोंको कुरा नायुङलाई मन पर्यो । ‘लौ–लौ आपा म एक्लै जान्न,’ नायुङले जानकारी गराए, ‘मेरा साथीहरू छन् । उनीहरूसँगै जान्छु ।’
नायुङ र उनका साथीहरूले मधेस घुम्न जाने योजना बनाए । उनीहरूले सल्लाह गरेर नियामातिर घुम्न घरबाट हिँडे । मधेस झर्दै गरेका उनीहरू दुधकोसी हुँदै सुनकोसी पुगे । उनीहरू सुनकोसी किनारैकिनार हिजोआजको बालाङमारी पुगेछन् । नायुङ र उनका साथीहरू ठूलो वातेम्खा (दह) मा पुगे । त्यहाँ पुग्दा दहभित्र झललल बत्ती बलिरहेको थियो । चारैतिर अग्लो–अग्लो डाँडा । बीचमा यति राम्रो ठाउँ । उनीहरूले अनौठो दह देखे । यस्तो राम्रो दह । दहभित्र दरबार । दरबारछेउमा गेटपाले । गेटपालेले नायुङ र उनका साथीहरूलाई त्यहाँबाट अघि बढ्न दिएनन् ।
‘होइन यहाँ को बस्छन्,’ नायुङले सोधे, ‘हाम्रो बाटो कसले छेकेको ? किन छेकेको हँ ?’
‘यो होंखिम (दरबार) वाइलुङ्माको आपा नाकिहोंको घर हो,’ गेटपालेले सुनाए, ‘नाकिहोंले यहाँबाट उता कसैलाई पनि जान नदिनु भनेका छन् ।’
नायुङ र उनका साथीहरूले अनेक बिन्ती गरे पनि उनीहरूलाई यहाँबाट अघि बढ्न दिइएन । रात पर्यो । उनीहरू राजदहछेउमै बास बसे । भोलिपल्ट बिहानै बाटो खुल्छ होला भनेर सुते । बिहान पनि बाटो खोलिएन । अझै ठूलो र अग्लो बार थपिए । रिस मिसिएको स्वरमा नायुङ कड्किए, ‘नाकिहों भनेको को हो ?’
गेटपालेले उत्तर दिए, ‘यो क्षेत्रको राजा ।’
नायुङ पनि के कम । उनले भने, ‘म पनि राजाकै छोरा हुँ । मेरो बाटो छेक्नेलाई म त्यत्तिकै छाड्दिनँ ।’
नायुङको कुरा नाकिहोंको कानसम्म पुग्यो । यस्ता कुरासँग नाकिहों के डराउँथे । नाहिकोंले नायुङको धम्कीलाई वास्तै गरेनन् । त्यसपछि नायुङलाई झन् धेरै रिस उठ्यो । उनले थपे, ‘म नाकिहोंको होंखिम भत्काइदिन्छु ।’
नायुङले यस विषयमा साथीहरूसँग सल्लाह गरे । साथीहरू पनि लडाइँ गर्न तयार भए । पानीभित्र लडाइँ लड्न पस्ने बेला नायुङले साथीहरूलाई भने, ‘म अब दहभित्र पस्छु ।’
‘दहभित्र हामीबीच घमसान युद्ध हुन्छ । मैले लडाइँ जिते भने यो दहबाट रगत आउँछ,’ नायुङले भने, ‘नाकिहोंले जित्यो भने दुध आउँछ ।’ वास्तवमा नाकिहोंको शरीरमा रगत थियो भने नायुङको शरीरमा दुध थियो । नायुङ घाइते हुँदा दुध आउने भयो भने नाकिहों मर्दा रगत आउने रहेछ भनेर सबैलाई थाहा भयो ।
साथीहरूसँग सल्लाह गरेर नायुङ धनुकाँध बोकेर दहभित्र पसे । नायुङ छुप्लुङ्गै पानीमा पस्दा पानीको छालहरू परपरसम्म पुग्यो । भूकम्प आएजस्तो भयो । जमिनै हल्लियो । नाकिहों र नायुङको महिनौं लडाइँ भयो । अन्तिममा दहबाट दुध बग्न थाल्यो । दुध आएको देखेपछि नायुङका साथीहरू रुन थाले । किनभने नायुङको शरीरमा दुध थियो । नायुङका साथीहरूले रोइकराइ गरे । आलापविलाप गरे । नायुङको ज्यान गएको खबर साल्पाहों र साल्पाहोंमालाई कसरी सुनाउनु भनेर दुःखेसो पोखे ।
एक कान, दुई कान हुँदै दुःखद खबर साल्पा सिलिचुङसम्म पुग्यो । आफ्नो छोरा नाकिहोंले मारेको कुरा साल्पाहों र साल्माहोंमाले थाहा पाए । उनीहरूलाई रिस उठ्यो । आफ्नो छोरा मार्ने नाकिहोंसँग बदला लिने योजना बनाए । साल्पाहों र साल्पाहोंमा हातहतियार, ढुंगासहित हलेसी क्षेत्र आइपुगे । साल्पाहोंमा दुई जिउकी थिइन् । भएको छोराको ज्यान गएकाले पेटको बच्चा जोगाउनुपर्छ भनेर सल्लाह गरे ।
त्यसपछि साल्पाहों र साल्पाहोंमाले तुवाचुङ डाँडामुनिको गाउँ (सल्ले) मा एउटा पोखरी बनाए । त्यसै पोखरीमा साल्पाहाेंमालाई राखेर साल्पाहों राजदहतिर लागे ।

राजदहमा साल्पाहों र नाकिहोंको महिनौं लडाइँ भयो । लामो समयसम्म लडाइँ हुँदा पहिरो गयो । हिजोआज पनि राजदहवारि च्यास्मिटारतिरको भित्तामा पहिरो छ । त्यसैगरी राजदहपारि पनि पहिरो छ । साल्पाहों र नाकिहोंको दहभित्र घमासान लडाइँ हुँदा बाहिर भूकम्म गएजस्तो हुन्थ्यो । लडाइँले गर्दा यो क्षेत्रमा अनिकाल सुरु भयो ।
लडाइँकै क्रममा राजदह भत्कियो । हिजोआज कुनामा सानो दहमात्र छ । लडाइँ भएको महिनौंपछि दहबाट रगत बग्न थाल्यो । रगत बगेको देखेपछि नायुङ अर्थात् साल्पाहों पक्षका मानिसले विजयोत्सव मनाउन थाले । उनीहरू विजयोत्सव मनाउँदै साल्पा सिलिचुङतिर बाटो लागे । त्यसपछि पनि राजदहबाट महिनौं रगत बगेको थियो । यसरी रगत बगिरहेको यो ठाउँलाई मुन्दुमीहरूले वाहिताम भन्न थालेको भनाइ छ ।
चाम्लिङ राई भाषामा ‘वा’ भनेको पानी, ‘हि’ भनेको रगत र ‘ताम’ भनेको आउनु हुन्छ । यसको अर्थ ‘पानीबाट रगत निस्कनु’ भन्ने हुन्छ । त्यसैले राजदहको मुन्दुमी नाम ‘वाहिताम’ रहेछ । हिजोआज ‘राजदह’ भन्न थालेपछि यहाँको पहिचान हराउन थालेको रहेछ । अब यो ठाउँलाई राजदह होइन ‘वाहिताम’ भन्नुपर्छ ।
सन्दर्भ–सामग्री
चाम्लिङ, भोगीराज (वि.सं. २०७२), किरात राई जातिमा प्रचलित वाइको संस्कारको अध्ययन अप्रकाशित स्नातकोत्तर शोघ नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय ।
राई, दीपेन्द्र, सम्पादक, त्रिधाम हलेसी, हलेसी तुवाचुङ नगरपालिकाका सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक पर्यटकीय स्थल–२०७७, प्रकाशक : हलेसी महादेवस्थान विकास समिति, खोटाङ ।
राई, शालिकराम (वि.सं. २०८१) साल्पा सिलिचुङ–सिलिछो मुन्दुमी मिथक र विश्वास, साल्पा सिलिचुङ, सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रि«य समिति ।
चाम्लिङ, तिलक, सम्पादक, खुवालुङ–२, किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका (विसं २०८१) ।
स्रोतव्यक्ति :
पदमकुमारी राई ‘ताराम्मा’, हलेसी तुवाचुङ नगरपालिका–५ बोहेम्मा, खोटाङ, कुराकानी २०७० ।
रकम राई, हलेसी तुवाचुङ नगरपालिका–५ बोहेम्मा, खोटाङ, कुराकानी २०८० ।