
काठमाडौं । मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङ्नामको कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’को तेस्रो संस्करण प्रकाशित भएको छ ।
साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशन गरेको हो । यो कृतिले २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।
आफ्नो कृतिको तेस्रो संस्करण प्रकाशित भएकोमा आफू हर्षित र उत्साहित भएको इतिहासकार इङ्नामले बताए । अहिले पनि आफू लिम्बुवानका खोज्न बाँकी कैयौं दस्तावेज खोजीमा व्यस्त भएको उनले बताए । उनले हाल आफूले पाँच सयजति थप दस्तावेज संकलन गरी तिनीहरूमाथि अध्ययन गरिरहेको पनि जानकारी दिए ।
इङ्नामको यसअघि ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गीप्रथा’ र ‘लिम्बू जातिको इतिहास’ प्रकाशित छन् ।
नेपाल सरकारका अवकाशप्राप्त सहसचिव उनी लिम्बुवान अध्ययन केन्द्र नामक अनुसन्धान संस्थासँग सम्बद्ध छन् ।



