२५३ वर्षअघिको भाले खुँडा भेटियो, पोथी तरबार पनि सुरक्षित



सिन्धुली । सिन्धुलीगढी युद्धकालीन समयमा २५३ वर्षअघि प्रयोग गरिएको भाले खुँडा भेटिएको छ । युद्धकालीन समयको भाले खुँडा सिन्धुलीगढीमा निर्माणाधीन युद्ध संग्रहालयलाई उपलब्ध गराइएको छ ।

संवत् १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इस्ट इन्डिया कम्पनीसम्बद्ध अंग्रेज सेनाबीच भएको निर्णायक युद्धमा वंशुधर थापामगरले प्रयोग गरेको भाले खुँडा साबिक भद्रकाली गाविसका पूर्वअध्यक्ष तथा योद्धा वंशुधरका सन्तान हरिबहादुर थापाले युद्ध संग्रहालयलाई हस्तान्तरण गरेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए ।

हरिबहादुरले हामीलाई घरमै बोलाएर म र वर्दबहादुर गणका गणपति विजय थापामार्फत उहाँले युद्ध संग्रहालयलाई भाले खुँडा हस्तान्तरण गरेको नगरप्रमुख खत्रीले बताए । भाले खुँडा नेपालले अंग्रेजमाथि विजय प्राप्त गरेको स्थलमा बन्न लागेको युद्ध संग्रहालयमा राखिनेछ ।

‘युद्धकालीन समयमा प्रयोग भएका ऐतिहासिक घरेलु हतियार खोजी गरिरहेको उनले सुनाए । आफ्ना पुर्खाले लडाइँ लड्दा प्रयोग गरेका पुराना हतियार भए संग्रहालयमा हस्तान्तरण गर्न नगरवासीलाई आग्रह गरिएको छ ।

कमलामाई–३ मा रहेको ऐतिहासिक महत्वको सिन्धुलीगढीमा युद्ध संग्रहालयको निर्माणसँगै तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार तथा ऐतिहासिक सामग्री खोजी थालिएको हो । रतनचुराको खनियाँखर्कका स्थानीयले पगरी, गैंडे ढाल, पोथी तरबार दिने भएको बताइएको छ । साविकको जलकन्या गाउँ विकास समितिमा पनि त्यस्ता सामग्री हुन सक्ने भन्दै खोजी गर्न थालिएको छ ।

ऐतिहासिक सामग्री उपलब्ध गराउनेलाई नगरपालिकाले उचित सम्मान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्