हलेसी आफैंमा त्रिधार्मिक स्थल । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगम स्थलका रूपमा स्थापित । सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलका रूपमा लोभलाग्दो पवित्र स्थल । प्राकृतिक स्रोत–साधनयुक्त हलेसीजस्तो त्रिधार्मिक स्थल संसारमा सायदै भेटिएलान् । विश्वका साटवटै महादेश तथा विकसित राष्ट्र अमेरिका, स्वीट्जरल्यान्ड, सिंगापुर, हङकङ, थाइल्यान्डलगायत देश कृत्रिम रूपमा विकसित भए पनि हलेसीजस्तो प्राकृतिक पर्यटकीय सौन्दर्ययुक्त त्रिधार्मिक स्थल कतै भेटिएको छैन ।
कृषि सभ्यताको सुरुवात तुवाचुङबाटै भएको मानिन्छ । प्रत्येक नेपालीले पहाडी भूगोल तर विकासको हिसाबले उदाहरणका रूपमा लिइने भारतको दार्जिलिङ र सिक्किम हुन् । ती ठाउँभन्दा हलेसी हजारौं गुना बढी आकर्षित बन्ने सम्भावना उत्तिकै छ । यसका लागि हलेसीवासीले अर्जुनदृष्टिसहित अगाडि बढ्न जरुरी छ । दार्जिलिङ व्यवस्थित हुनुमा चिया खेतीको उत्तिकै हात छ । सिक्किम भने कृषिमा आर्थिक सुधार र व्यवस्थापनको संयोजन हो । तर, हलेसीमा जस्तो प्राकृतिक नदी, प्राकृतिक त्रिधार्मिक स्थल अथवा हलेसीबाट देखिने हिमशृंखला संसारमा कहीं कतै पाइँदैन । यसकारण हलेसीलाई विकास गर्दा दार्जिलिङ र सिक्किमभन्दा धेरै गुना फरक तरिकाले विकास गर्न सकिन्छ ।
कसरी बन्ला हलेसी सुन्दर नगरी ?
पृथ्वीको उत्पत्ति हुँदा धर्तीमाताले हलेसीका जनतालाई सुन्दर नगरीका रूपमा स्थापित हुनु भनेर दिएको यहाँको भौतिक संरचना छ । न त यहाँका जनता अगाडि बढे, न खोटाङको नेतृत्वले यसबारे ध्यान दिए । न राज्यले नै । हलेसीको विकास सुन्दर नगरीतिर लम्कन थालेकोमा दुईमत छैन । स्थानीय सरकार आएसँगै सडकको तीव्र विकास हुँदै छ । यसलाई स्तरोन्नति गर्न आवश्यक छ । हलेसीको उत्तरबाट बग्ने दूधकोसी अनि पश्चिम–दक्षिण भएर बग्ने सुनकोसीले हलेसीलाई बीचमा पारेको छ । यस्तो प्राकृतिक सम्पदा चाहे त्यो अमेरिकाको न्युयोर्क अथवा स्वीट्जरल्यान्डको जेनेभा वा अन्य देश कहीं कतै पाइँदैन । राज्यले सुरु गरेको दूधकोसी हाइड्रोपावर हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ५ र ७ को संगमस्थल बायाकुखोला (रातेखोला) पुछारमा निकालेपछि ६३५ मेगावाट विद्युत् उत्पादन हुनेछ । यसमा स्थानीयको लगानी सेयरका रूपमा हुनेछ । जसमा स्थानीयले सर्वसुलभ बिजुली उपयोग गर्न पाउनेछन् । सेयर लगानीमार्फत आर्थिक वृद्धि तथा उक्त हाइड्रोपावरमा स्थायी रूपमा रोजगारीको समेत अवसर प्राप्त गरिनेछ । सुक्खा खानेपानी (लिफ्टिङ)को निर्माण तीव्र भइरहेको छ । तर, स्थानीयको क्रियाशीलता बढाउन आवश्यक छ । कार्यान्वयन गर्न स्थानीय सक्रिय भएमा पिउने पानी छिट्टै व्यवस्था हुनेछ । आफू निष्क्रिय भएपछि कसले आफ्नो आवश्यकता कसले पूरा गरिदिन्छ त ? यसकारण हलेसीवासी एकढिक्का भएर अगाडि बढ्न आवश्यक छ ।
पर्यटन प्रवर्द्धन कसरी गर्न सकिएला ?
सामान्य रूपमा हलेसीबाट यातायात साधनमार्फत दूधकोसीसम्म पर्यटकलाई लगी त्यहाँबाट जलयात्रा (र्याफ्टिङ) बाट सुनकोसीका विभिन्न ठाउँमा ओर्लेर पुनः हलेसी फर्कन सकिन्छ । हलेसी तुवाचुङ नगरपालिकाको विशेष पहलमा हलेसी गुरुयोजना निर्माणसँगै यहाँको त्रिधार्मिक स्थललाई फराकिलो बनाउन सकिन्छ । त्रिधार्मिक स्थलबाट कम्तीमा तीन किलोमिटर टाढै बाह्य बस रोक्ने व्यवस्था गरेर स्थानीय विद्युतीय बसमार्फत दर्शन गर्न आउने जाने व्यवस्थापन गर्नुपर्छ । छोटो समयका लागि त्रिधार्मिक स्थल केन्द्र रहनेगरी त्यहाँबाट केही नजिकको सांस्कृतिक स्थल तुवाचुङलगायतको स्थलसम्म केबलकार व्यवस्था गर्नुपर्छ ।
सुनसरीको वराहक्षेत्रबाट सञ्चालन भइरहेको जलसेवा, जसमा धनकुटा र भोजपुरका यात्रीलाई गाडीबाट सात घन्टा पर्ने दूरी उक्त जलसेवा साधनबाट २० मिनेटमा यात्रा गर्न सकिन्छ भने त्यसलाई पूर्णता दिँदै तराईका जिल्ला भएर आउने भुटान, भारत र बंगलादेशका पर्यटकलाई सोझै जलयात्रामार्फत हलेसीसम्म ल्याउन सकिन्छ । अन्य ठाउँमा कृत्रिम रूपमा बनाएर पर्यटक आकर्षित गरेको पाइन्छ ।
नेपालमा कृत्रिम रूपमा बनाइएको विश्वका ठूला मूर्ति भक्तपुर र काभ्रेबीचमा रहेको महादेवको मूर्ति, दाङमा रहेको त्रिशूल, पाल्पामा रहेको करुवाले पर्यटन प्रवद्र्धन गरेका छन् । तर, हलेसीमा भएका सबै पर्यटकीय तथा धार्मिक स्थल प्राकृतिक हुन् । यसकारण अन्य विकसित राष्ट्र, पर्यटकीय र धार्मिक स्थलको दाँजोमा थोरै लगानीमा हलेसीलाई व्यवस्थापन गर्दा सुन्दर नगरीका रूपमा विकास गर्दै रोजगारी बढाउन सकिन्छ । उर्वर भूमिलाई सदुपयोग नगर्दा पनि यहाँको पर्यटन र धार्मिक स्थल व्यवस्थित गर्दा स्थानीयको आर्थिक स्तर विश्वको जुनसुकै नागरिकसरह बनाउन सकिन्छ । यसकारण हलेसीवासी यसबारे सचेत हुँदै जागरुक बन्न आवश्यक छ ।
यात्रा अनुभूति र सिकाइ
एक्काइसौं शताब्दीको शक्तिशाली देश भनेर चिनिने अमेरिकामा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । यो सन् २०१८ को कुरा हो । साँच्चै बाहिरबाट कल्पना गरेजस्तै त्यहाँको विकास भएको पाइन्छ । विकास हुनुमा स्थानीय (गोरा जाति) आफैंले भौतिक श्रम गरेरभन्दा एसियाली कोरियाका श्रमिकको कार्यक्षमताका कारण अमेरिकाको न्युयोर्क सय वर्ष अगाडि विकास भएको हो । अझ सय वर्षसम्म केही सुधार गर्नुपर्ने आवश्यकता छैन । अमेरिकाका गोरा जाति कार्यालयका कागजी र दिमागी कामभन्दा अरू गर्दैनन् । आफ्नो दिमाग परिचालन गर्दै विश्वका श्रमिकलाई काम गर्न लगाइरहेका छन् । अमेरिकामा दैनिक होइन, प्रत्येक घन्टा मौसम बदलिरहन्छ । तर पनि यसलाई अनुकूलित माध्यमबाट त्यहाँको विकास गरिएको छ । त्यहाँको प्राकृतिक स्रोत–साधन प्राकृतिकभन्दा बाह्यबाट ल्याएर बनाइएको कृत्रिम वातावरण बढी पाइन्छ ।
विश्वको सुन्दर सहर स्वीट्जरल्यान्डको जेनेभा पुग्ने अवसर मिल्यो । सन् २००९ र २०१७ मा संयुक्त राष्ट्रसंघको कार्यक्रममा स्वीट्जरल्यान्ड पुग्ने अवसर पाएँ । स्वीट्जरल्यान्ड पर्यटकीय हिसाबले संसारको उत्कृष्ट सहर मानिन्छ । यहाँ प्राकृतिक हिसाबले केही व्यवस्थित भए पनि कृत्रिम वातावरण र विकास गरिएको छ । विशेषतः युरोपेली देश भएकाले यहाँका जनता अमेरिकीजस्तै भौतिक निर्माणमा यहाँको जनताभन्दा अन्य मुलुकका नागरिकलाई श्रममा प्रयोग गर्ने गरेको पाइन्छ ।
यसैगरी, शान्तिका दूत विश्व सर्वहारा वर्गका नेता नेल्सन मन्डेलाको देश दक्षिण अफ्रिका पुगें । सन् २०१४ मा कार्यक्रमको सिलसिलमा पुग्ने अवसर मिल्यो । अफ्रिकी मुलुकका नागरिक काला जाति भएकाले गोराबाट सयौं वर्ष हेपिएर बस्नुपर्यो । यहाँ प्राकृतिक हिसाबले धनी भए पनि श्रम गर्ने प्रवृत्तिभन्दा पनि आफू हेपिएको र श्रम नगर्ने प्रवृत्ति भएकै कारण विकास हुन सकिरहेको छैन । श्रम नगर्ने प्रवृत्ति भएकै कारण एसियाली मुलुकका पर्यटकलाई ठग्ने प्रवृत्ति बढी पाइन्छ । तर, गोरा जातिले उपनिवेश बनाएकाले उनीहरूलाई ठग्दैनन् । गोरा देख्नासाथ मनोवैज्ञानिक रूपमै आफू दासी सम्झन्छन् ।
एसियाको सानो देश भुटान जोकोही जान सक्दैनन् । तर, सन् २०१६ मा संयुक्त राष्ट्रसंघको तालिममा पुग्ने अवसर मिल्यो । भुटान सानो देश भए पनि त्यहाँ पुग्ने पर्यटकले दैनिक २५० अमेरिकी डलर बुझाउनुपर्छ । बाँकी आफ्नो व्यवस्थापन आफैं गर्नुपर्छ । त्यहाँ प्राकृतिक रूपले धनी रहे पनि धार्मिक स्थल कृत्रिमै बढी छन् ।
सिंगापुर, थाइल्यान्ड, फिलिपिन्स, बंगलादेश अथवा खाडी मुलुक कतार, साउदी अरब जाने र अनुभव बटुल्ने अवसर पाउँदा प्रत्येक देशमा केही न केही कमी रहेको पाइयो । कुनै देशमा पूर्ण रूपमा कृत्रिम विकास र धार्मिक स्थलसमेत कृत्रिमै पाइयो ।
यसकारण प्रकृतिले दिएको सुन्दर नगरी हलेसी, अनि हलेसीका भाग्यमानी जनताले प्राकृतिक वरदानलाई बेवास्ता गर्दै अर्काको आसमा परनिर्भर बनाउन खोज्ने हामी सबै सजग हुन जरुरी छ । यसलाई सुन्दर नगरका रूपमा परिवर्तन गर्न धेरै होइन, अबको १५ वर्षभित्रै पूर्ण विकास गर्न नसके पनि आधार पूरा गरिसक्नेछौं । यसकारण हाम्रो सहकार्य र कदम आजैबाट सकारात्मक मनोविज्ञानतिर बदल्न जरुरी छ । यसको नेतृत्व हामी आफैं र मबाट गर्छु भन्ने संकल्पसाथ अगाडि बढन् जरुरी छ । तपाईं हाम्रो भाग्य र भविष्य हाम्रै हातमा छ ।