हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुबाट रेडियो खोटाङले परीक्षण प्रसारण थालेको छ । रेडियो खोटाङ १०३.३ मेघाहर्जले गत कात्तिक ७ गतेबाट परीक्षण प्रसारण थालेको हो ।
५०० वाट क्षमताको रेडियो खोटाङले परीक्षण प्रसारण थालेपछि जिल्लामा तीन रेडियो सञ्चालनमा आएका छन् । परीक्षण प्रसारणमा रहेको रेडियो खोटाङ खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, भोजपुर र धनकुटासम्म सुन्न सकिन्छ ।
‘आमरेडियोभन्दा फरक हुँदैन रेडियो खोटाङ पनि,’ खोटाङ मिडिया प्रालि सदस्य अगिन्द्र राईले भने, ‘रेडियोले उत्पादन गर्ने कार्यक्रम होस् या उसले प्रसारण गर्ने समाचार कृषि, पर्यटन र ग्रामीण विकासलाई प्राथमिकतामा राख्नेछ ।’
रेडियो खोटाङ बोल्न नसक्नेको बोली बन्नेछ । ‘हामी सूचनामूलक र मनोरञ्जनकारी मूल्यका लागि समर्पित रहनेछौं,’ खोटाङ मिडिया प्रालि सदस्य राईले जानकारी गराए, ‘यसैगरी, सामाजिक मुद्दाका चेतना सिर्जना गर्दै विश्वमा नेपाली सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्न मान्यता प्राप्त गर्ने प्रयास गर्नेछौं ।’
www.radiokhotang.org मा समेत सुन्न सकिने रेडियो खोटाङ मंसिर ८ गतेदेखि औपचारिक प्रसारणमा आउनेछ ।
रेडियो खोटाङ प्रसारणमा आउनअघि हलेसी तुवाचुङ नगरपालिकावासीको संलग्नतामा तुवाचुङ साप्ताहिक/तुवाचुङ डटकम (दीपेन्द्र राई), सितिमी मासिक (तिलक चाम्लिङ ), तेस्रो आँखा डटकम (सयन्द्र राई), इ–चौतारी डटकम, नेपाल वाडड डटकम (दमन राई), इ–हलेसी डटकम, हलेसीपाटी डटकम (मनोज गिरी), दिया च्यानल (दीपक दिया मिडिया), टाइमलाइन टीभी (किशोर चाम्लिङ), हलेसी अनलाइन टीभी (एसके चाम्लिङ), तुवाचुङ टीभी (एकराज बुढाथोकी), साइनो टीभी (प्रमोद श्रेष्ठ), स्पेसटाइम टीभी (नवीन चाम्लिङ राई ) र हौवा अनलाइन टीभी (जीवनजित राई)लगायत सञ्चारमाध्यम सञ्चालनमा छन् ।