खोटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो ।
घरबाट एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन शुक्रबार साँझ भरुवा बन्दुक पड्काउनक्रममा गोली लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ ।
मृतक बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट टाढा भएकाले उक्त घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख प्रनाउ चिमरियाले सुनाए ।
बाबुआमा वैदेशिक रोजगारीमा विदेश गएपछि शैलेन्द्र मानकाजी (आमाको बहिनी) को घरमा बस्दै आएका थिए । बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले जानकारी गराए । दस स्थानीय तह रहेको जिल्लामा बाँदर आतंक बढेपछि स्थानीय बासिन्दाले विभिन्न प्रक्रिया अपनाएर धपाउने गरेका छन् । जिल्लाका कतिपय स्थानीय तहका बासिन्दाले चन्दा संकलन गरेर बाँदर धपाउनेलाई खर्च दिने गरेका छन् ।