डिकुवा (खोटाङ) । वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले २७औं स्थापना दिवसका अवसरमा वाम्बुले राई भाषाको कविता प्रतियोगिता गर्ने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा, दाम्ली खोटाङमा वाम्बुले राई भाषाको २५औं कविता प्रतियोगिता गर्ने निर्णय गरेको वाम्रास अध्यक्ष गजुरधन राईले जानकारी गराए ।
मंसिर २० गते हुन लागेको कविता प्रतियोगितामा सहभागीले ‘पिलुम्बा’ शीर्षकमा कविता लेख्नुपर्नेछ । विभिन्न चाडबाडमा पितृलाई खानेकुरा चढाउने घरभित्रको स्थान वा फेली गर्ने ठाउँलाई वाम्बुले राई समुदायले पिलुम्बा भन्ने गर्छन् । पितृ गर्ने पवित्र स्थान पिलुम्बा हो ।
वाम्बुले भाषा बोल्न, लेख्न र पढ्न जान्ने जोकोहीले कविता प्रतियोगितामा सहभागी हुन पाउने वाम्रास उपाध्यक्ष गणेश राईले सुनाए । कविता बढीमा १५० शब्दको हुनुका साथै वाचन गर्दा तीन मिनेटमा सकिनुपर्नेछ ।
प्रतियोगितामा सहभागीले इमेल, भाइबर र म्यासेन्जरमा समेत कविता पठाउन सक्नेछन् । [email protected], [email protected] र [email protected] मा कविता पठाउन सकिनेछ । यसैगरी, मंसिर २० गते बिहान ८ बजेभित्र प्रतियोगिता स्थलमै कविता दर्ता गर्न सकिने वाम्रासले जनाएको छ ।
प्रतियोगी कविले प्रतियोगितामा कविता वाचन गर्दा मौलिक भेषभूषा लगाउनुपर्नेछ । यसैगरी, पुरस्कृत कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नुपर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ६ हजार, तृतीयलाई ४ हजार र सान्त्वना दुईजनालाई २/२ हजार रुपैयाँ नगद तथा प्रमाण–पत्र प्रदान गरिनेछ ।