टीका लगाए पनि जमरा नराख्ने माझी समुदाय


बाग्लुङ । बागलुङ नगरपालिका–१ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दसैंंंको रौनक छ । कालीगण्डकीकिनारमा रहेको बस्ती माझी समुदायको हो । संवत् २०४८ तिर बाग्लुङ–पोखरा सडक निर्माणक्रममा विस्थापित माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् ।

विस्थापित परिवारका पुस्तौं पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दसैंमा माझी समुदायमा एउटा अनौठो परम्परा छ । दसैंको विशेषता जमरा माझी समुदायले शिरमा लगाउँछन् । तर, आफ्ना घरमा स्थापना नहुने मान्यता छ ।

दसैंका अछेतासँग जमरा लगाउने तर आफ्ना घरमा घटस्थापनामा राख्ने चलन भने छैन । ‘हाम्रा परम्परा यस्तै हो भन्ने किंवदन्ती छ । मैले जान्ने भएदेखि जमरा घरमा राखिएको छैन । मागेर लगाउने चलन छ,’ माझी बस्तीका ३३ वर्षीय कृष्ण माझीले भने । आफू जान्ने–बुझ्ने भएदेखि दसैंको टीका लगाए पनि जमरा राखेको थाहा नभएको माझी सुनाउँछन् ।

दसैंको दिन माझी टीकाजमरा त लगाउँछन् तर जमराचाहिँ मागेर । यस वर्ष दसैंमा पनि खनियाबासको माझी समुदायले कसैका घरमा झमरा राखेका छैनन् । माझी समुदायमा परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन् । माझी समुदायमा अन्यत्र बस्नेले भने जमरा राख्छन् । ‘माझी भए पनि हाम्रो माइत त जमरा राख्नुहुन्छ,’ स्थानीय फूलकुमारी माझीले भनिन्, ‘खै कुन्नि किन हो, यहाँ त जमरा नराख्ने चलन रहेनछ । जिजुबाजेको पालामा त जमरा राख्थे रे । कुन्नि के हो नराम्रो घटना भएपछि राख्न छाडेका रहेछन् ।’ खनियाबास र मालढुंगाका माझीले घरमा जमरा राख्दैनन् ।

अर्काका घरबाट जमरा लिएर भए पनि लगाउने, मीठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा छ । जिजुबाजेका पालादेखि नै दसैंका लागि जमरा राख्न छाडिएको ६७ वर्षीय सोमबहादुर माझीको भनाइ छ ।

‘जुन वर्ष जमरा राख्यो, त्यस वर्ष घरकी कन्याको मृत्यु भएपछि जमरा राख्न छाडिएको किंवदन्ती छ,’ उनले सुनाए। ‘वर्षैपिच्छे जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा राख्न छाड्यौं । दसैं मनाउन छाडिएन । त्यसका लागि जमरा चाहियो । अरूलाई मागेर भए पनि दसैंंमा जमरा लगाइन्छ ।’ अन्यत्रका माझी समुदायले भने जमरा आफ्नै घरमा राखेर दसैंमा लगाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्