हलेसी (खोटाङ) । औपचारिक रूपमा बैठक सुरु भयो । हलेसीमा रहेको होटल हलेसी भिलेजमा सुरु भएको बैठकको सुरुमै प्रनितिनिधिसभा सदस्य विशाल भट्टराईले हलेसी महादेवस्थान विकास समितिका नवनियुक्त सदस्यमध्ये पाँचजनालाई सदस्यको पत्र थमाए ।
समितिका नवनियुक्त सदस्य सुरेन्द्रकुमार राई, प्रदीप राई, प्रमोद गिरी, जानुका राई र निर्पध्वज राईले पत्र पाइसकेपछि बैठकमा सहभागीले ताली बजाए ।
हलेसी महादेवस्थान विकास समिति अध्यक्ष टंक राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबाट काठमाडौंमै पदभार ग्रहण गरिसकेका थिए ।
बैठकले निरन्तरता पायो । तीन घन्टा चलेको बैठकमा विविध विषयमा छलफल भएपछि क्रमशः निर्णय गरिए । टंक राईको अध्यक्षतामा बनेको समितिको पहिलो बैठक फलदायी भएको हलेसी महादेवस्थान विकास समितिसम्बद्ध सर्वधन बस्नेतले सुनाए ।
‘बैठकमा थुप्रै विषयमा छलफल भएका छन्,’ बैठकबाट बाहिरिएपछि नेकपा नेतासमेत रहेका नवनियुक्त सदस्य सुरेन्द्रकुमार राईले खुसी व्यक्त गरे, ‘त्यसमध्ये संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर हलेसी गुरुयोजनालाई तीव्रता दिने अध्यक्ष राईले प्रतिबद्धता जनाउनुभएको थियो ।’
‘हलेसी महादेवस्थान विकास समितिमा पूर्वसांसद टंक राईलाई पाउँदा कम्ती खुसी लागेको छैन,’ बैठकबाट बाहिरिएपछि नेकपा नेता राईले थपे, ‘अब भने हलेसी भेगको वृहत्तर विकासले गति लिनेछ ।’
पहिलो बैठकमा के–के निर्णय भए त ? सर्वप्रथम समितिले बैठक बसेको अघिल्लो दिनसम्म गरेका कामको समीक्षा गरिएको समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले जानकारी गराए ।
त्यसपछि ?
त्यसपछि आगामी दिनमा गर्नुपर्ने योजनाको खाका बनाइएको समितिसम्बद्ध बस्नेतले सुनाए ।
३ नम्बर प्रस्तावमा परेको थियो– तत्काल गर्नुपर्ने काम । ३ नम्बर प्रस्तावको (क) मा हलेसी गुफा र बसाहा गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षणको योजना निर्माण गरी कार्यान्वयन गरिहाल्ने निर्णय गरिएको नवनियुक्त अध्यक्ष टंक राईले बताए ।
बैठकले हलेसी गुफाको उपयुक्त ठाउँमा किरात राई समुदायको पितृथलो अर्थात् तीन चुला बनाउने निर्णय गरेको छ । ‘किरात राई समुदायले चुलालाई पितृथलोका रूपमा मान्छन्,’ नवनियुक्त अध्यक्ष राईको भनाइ थियो, ‘अब बनाइने चुलोमा चौबीसे घन्टा आगो बल्रिहनेछ । पुरानो किरातघर बनाइनेछ ।’
प्रस्ताव नम्बर ३ को (ख) मा त्रिधार्मिक स्थल हलेसीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वबारे अनुसन्धान गरी आगामी आर्थिक वर्षभित्र त्रिधार्मिक शोधग्रन्थ प्रकाशित गर्ने सर्वसम्मत निर्णय गरिएको थियो ।
भैरवकुण्ड क्षेत्रमा तत्काल ढल निकासको व्यवस्था गर्ने प्रस्ताव नम्बर ३ (ग)को प्राथमिकतामा परेको थियो ।
वर्तमान कार्यसमितिमा रहेका हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईबाहेक सबैको उपस्थिति रहेको पूर्ण बैठकले हलेसी आइपुगेका पर्यटकको बसाइ र घुमघाम सहज बनाउन पथप्रदर्शक तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसैगरी, हलेसी महादेवस्थान विकास समितिले दरबन्दीमा तीन कर्मचारी भर्ना गर्ने भएको छ । त्यसमध्ये इन्जिनियर, लेखापाल र कम्प्युटर अपरेटर गरी तीनजनालाई दरबन्दीमा भर्ना प्रक्रिया थालिने भएको हो ।
गत शुक्रबार बसेको बैठकमा सांसद विशाल भट्टराई, जिल्ला समन्वय समिति प्रमुख बवि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल र मालपोत अधिकृत विष्णुप्रसाद काफ्लेको उपस्थिति रहेको थियो । भट्टराई, चाम्लिङ, शर्मा र काफ्ले हलेसी महादेवस्थान समितिको सदस्य रहने समिति गठन आदेशमा उल्लेख छ ।
यस्तो छ– हलेसी महादेवस्थान विकास समितिको नयाँ कार्यसमिति
अध्यक्ष : टंक राई
सदस्य सचिव : सम्मरबहादुर भुजेल
सदस्य : सुरेन्द्रकुमार राई
सदस्य : प्रदीप राई
सदस्य : प्रमोद गिरी
सदस्य : जानुका राई
सदस्य : निर्पध्वज राई
सदस्य : विशाल भट्टराई (प्रतिनिधिसभा सदस्य)
सदस्य : राजन राई (प्रदेशसभा सदस्य)
सदस्य : बवि चाम्लिङ (जिल्ला समन्वय समिति प्रमुख)
सदस्य : इवन राई (हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख)
सदस्य : शालिकराम शर्मा पौडेल (प्रमुख जिल्ला अधिकारी)
सदस्य : विष्णुप्रसाद काफ्ले (मालपोत अधिकृत)
यस्तो छ– हलेसी महादेवस्थान विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशकको सूची
१. तिलक तिम्सिना (अध्यक्ष), १. जनक कार्की (कार्यकारी निर्देशक) २०४९
२. कुलप्रसाद फुयाँल (अध्यक्ष), २. चण्डीश्वर राई (कार्यकारी निर्देशक) २०५१
३. लघुधन राई (अध्यक्ष), ३. ………………….(कार्यकारी निर्देशक) २०५३
४. नारायणसिं राई (अध्यक्ष), ३. देवराज कार्की (कार्यकारी निर्देशक) २०५६
५. कर्णबहादुर घले गुरुङ (अध्यक्ष), ५. रमेशकुमार पौडेल (कार्यकारी निर्देशक) २०६२
६. युवराज थापामगर (अध्यक्ष), ६. विनोद राई (कार्यकारी निर्देशक) २०६५
७. फटिक श्रेष्ठ (अध्यक्ष), ७. रोजन राई (कार्यकारी निर्देशक) २०६५
८. गोपालकृष्ण दाहाल (अध्यक्ष), ८. तामन राई (कार्यकारी निर्देशक) २०६९
९. खडेन्द्र राई (अध्यक्ष), ९. सम्मरबहादुर भुजेल (कार्यकारी निर्देशक) २०७३
१०. टंक राई (अध्यक्ष), १०. सम्मरबहादुर भुजेल (कार्यकारी निर्देशक) २०७७