किरातीका परम्परागत घर कस्ता हुन्थे ? उनीहरू कस्ता घरमा बस्थे भन्ने इतिहास सुरक्षित गर्न मुन्दुममा वर्णन गरिएअनुसारको हलेसीमा पितृघर (माङ्खिम) बनाइने भएको छ ।
किरातीले निर्माण गर्ने घरसम्बन्धी मुन्दुममा वर्णन गरिएको छ । ‘घर बनाउँदा मूल खाँबो (खम्बा) सालको चाहिन्छ । दलिन पनि सालकै हुनुपर्छ । ढोका सल्लाको । घरको तला छाप्दा प्रयोग गरिने सरा (काठ) चिलाउनेकै हुनुपर्छ,’ मुन्दुममा वर्णन गरिएको छ, ‘बलौ (डाँडाभाटा राख्नअघि प्रयोग गरिने काठ) नावा (करम)को हुनुपर्छ । डाँडाभाटा भालुबाँसकै हुन्छ । काँस या सालिमो घाँसले घर छाउनुपर्छ । पानी नचुहोस् भनेर पानी कटाउने अर्थात् धुरी मार्ने ठाउँमा बाबियो प्रयोग गरिनुपर्छ ।’
किरातीका परम्परागत घर यसरी निर्माण गरिन्छन् । ‘तर, किरातीका परम्परागत घर विस्थापित हुँदै छन् । आधुनिक घरले च्याप्दै–च्याप्दै लैजाँदै छ,’ मुन्दुम अध्येयता भोगीराज चाम्लिङ भन्छन्, ‘गाउँ–गाउँमा सिमेन्टेड घर बनाउन थालियो । अबको ५० देखि १०० वर्षपछि परम्परागत घर विस्थापित हुने खतरा देखिन्छ । किरातीहरू कस्ता घरमा बस्थे भन्ने इतिहास सुरक्षित गर्न हलेसीमा बन्न लागेको माङ्खिमले सघाउ पुर्याँउँछ ।’
यो त भयो माङ्खिमको भौतिक पाटो । माङ्खिमको सामाजिक तथा सांस्कृतिक पाटो पनि छँदै छन् । ‘हामी पितृ–पुर्खालाई मान्छौं । तर, आ–आफ्नो घरमा सीमित छ । आ–आफ्नो घरभित्र सीमित पितृ–पुर्खालाई सार्वजनिक थलोमा निकाल्नुपर्छ,’ मुन्दुम अध्येयता चाम्लिङ सुझाउँछन्, ‘पितृ–पुर्खालाई सार्वजनिक श्रद्धा, मानमनितो गर्ने शक्तिका रूपमा विकास गरिनुपर्छ भन्ने हिसाबले हलेसीको खोक्चिलिपा बुक्टो (बसाहा गुफा)मा माङ्खिम बनाउन लागिएको हो ।’
माङ्खिमभित्रको संरचना पनि परम्परागत नै हुनेछ । माङ्खिमभित्र चुला हुन्छ । माछाक्मा हुने नै भयो । माछाक्मा राखिने माटोको घडा (घैला)लाई किराती कोकु (हजुरआमा)को प्रतीक मानिन्छ । हजुरआमालाई घरको मुली वा रक्षकका रूपमा आदर गरिन्छ । साम्खादाया हुनेछ । ङेसुवा (भार) रहने नै भयो । यसैगरी, माङ्खिमका कुनाकुनामा छुईसमेत राखिनेछ । छुई भनेका पितृ नै हुन् । छुईले पनि घरको रक्षा गर्छन् ।
माङ्खिम एकतले हुनेछ । माङ्खिमको धुरीमा वाबु (चिन्डो) रहनेछ । बसाहा गुफामा बन्न लागेको माङ्खिममा नियमित पुजारी रहनेछन् ।
बसाहा गुफामै माङ्खिम बनाउन लागिएको किन ?
किराती आदिम कोक्पा (हजुरबुवा) खोक्चिलिपा ‘रोसुङ्तो (चिचिङ्गा)मा बस्थे । उनी साँयकुमा खेती गर्थे । काम सक्ने लोभमा घर फर्कन ढिला हुँदा उनी बसाहा गुफामै आश्रय लिने गरेको मुन्दुम वर्णन गरिएको छ । किरात राई समुदायले पितृ र पुर्खालाई शक्तिका स्रोत मान्ने भएकाले खोक्चिलिपाले आश्रय लिएको बसाहा गुफामै माङ्खिम बनाउन लागिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी गराए ।
‘खोक्चिलिपा हाम्रा पितृ र पुर्खा हुन्,’ हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राईले गौरव गरे, ‘पितृ–पुर्खाले आश्रय लिएको ठाउँलाई सम्मानित बनाउँदै पितृ–पुर्खा बस्ने घरलाई ‘पवित्र घर’ बनाउने अवधारणासहित माङ्खिम बनाउन लागिएको हो ।’
हलेसी गुफाको प्रवेशद्वारको देब्रे र दाहिने दुवैपट्टिबाट बसाहा गुफा पुग्न सकिन्छ । हलेसी गुफाको देब्रेपट्टिबाट झर्दा पुगिने बसाहा गुफाको आडैमा माङ्खिम बन्न लागेको हो । हलेसी महादेवस्थान विकास समिति अध्यक्ष टंक राईको अध्यक्षतामा बसेको पहिलो बैठकले हलेसीमा माङ्खिम निर्माण गर्ने निर्णय गरेको समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले बताए ।
‘हलेसीमा माङ्खिम बनाउन वृहत्तर हलेसी गुरुयोजनामा पनि समेटिएको थियो,’ हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक भुजेलले सुनाए, ‘त्यसलाई मूर्त रूप दिन हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बजेट पास गरिसकेको रहेछ ।’
माङ्खिम निर्माणका लागि हलेसी तुवाचुङ नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको नगरप्रमुख राईले सुनाए ।
‘१५ लाख रुपैयाँमा माङ्खिम निर्माण सम्पन्न हुँदैन,’ समिति कार्यकारी निर्देशक भुजेलको भनाइ छ, ‘अपुग रकम जुटाउन नगरपालिका, विकास समितिसम्बद्ध लागिपर्नेछन् । मन्दिरको भेटीसमेत सदुपयोग गर्ने निर्णय भएको छ । माङ्खिम निर्माणपछि बसाहा गुफाको महत्व झन् बढ्नेछ ।’
ढिलोमा असार पहिलो सातादेखि माङ्खिम निर्माण थालिने निर्माण उपभोक्ता समिति अध्यक्ष मविन्द्र चाम्लिङ राईले जानकारी गराए । समिति उपाध्यक्षमा गजुरमान राई (हलेसी गैरीगुठ), सचिवमा कमल राई (गैरीगुठ), कोषाध्यक्षमा जानुका राई (हलेसी ऐंसेलुखर्क) र सदस्यमा प्रमोद गिरी (हलेसी) रहेका छन् ।