दुर्छिम, (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख इवन राईले विश्वव्यापी महामारीका रूपमा फैलिएको ‘कोरोना कहर’लाई दृष्टिगत गर्दै नगरवासीलाई सहयोग गर्न चाहने इच्छुक व्यक्ति, संघ, संस्थालाई हलेसी तुवाचुङ नगरपालिकाको माछापुच्छ्रे बैंक लिमिटेड, हलेसी शाखामा रहेको नगरस्तरीय विपत् व्यवस्थापन कोषको खाता नम्बर ७७०१५२४६५०९१७०६३ मा नगद संकलन गर्न आह्वान गरेका छन् ।
हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख तथा नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समिति संयोजकसमेत रहेका राईले चैत २२ गते बसेको बैठकलाई सम्बोधन गर्दै खाद्यसागम्री सहयोग गर्न चाहने इच्छुक व्यक्ति, संघ, संस्थाले वडा र नगरमा सम्पर्क गर्न आह्वान गरेका हुन् ।
बैठकले विपत् व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारलाई समेत सहयोग माग गरेको नगरप्रमुख राईले बताए ।
कोरोना भाइरसबाट बच्न र बचाउन सरकारले ‘लकडाउन’ घोषणा गरे पनि अति आवश्यकीय कामकाज देखाउँदै मध्यपहाडी राजमार्ग हुँदै आवत–जावत गर्न छाडेका छैनन् ।
नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बैठकले त्यस्ता व्यक्तिलाई दृष्टिगत गर्दै हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा रहेको प्रहरी चौकीमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको उनले जानकारी गराए ।
संवत् २०७६ चैत १ गतेदेखि चैत २२ सम्म ३२ जना नगरवासी घर फर्केका छन् । त्यसमध्ये हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा २, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार ६, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम २, हलेसी तुवाचुङ नगरपालिका–७ मंगलटार १, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ ९, हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले २ र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका १० जनाको तथ्यांक संकलन गरिएको छ ।
विदेशबाट घर फर्केका ३२ जनाको नाम, ठेगाना, सम्पर्क नम्बर अभिलेख राखी उनीहरूलाई नगर र स्वास्थ्यकर्मीले कडा निगरानीमा राख्न बैठकले निर्णय गरेको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले जानकारी गराए ।
यसैगरी, असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराउने राहतसम्बन्धी मापदण्ड–२०७६ बमोजिम निर्देशिकाअनुसार लक्षित परिवारको लगत विवरण संकलनार्थ वडास्तरीय समन्वय समितिलाई पत्राचार गर्ने बैठकले निर्णय गरेको हो ।