बहानेपोखरी (खोटाङ) । ‘स्थानीयले बोप्लुपोखरी नै भन्छन्,’ ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका तेजबहादुर नाछिरिङ राईले जानकारी गराए, ‘तर, बहानेपोखरी भनेर चिन्ने धेरै छन् ।’
पोखरीको उत्तरतिर शंखजस्तो ढुंगा छ । ‘नाछिरिङ भाषामा ‘बोप’को शाब्दिक अर्थ शंख हुन्छ,’ राईले थपे, ‘शंख ढुंगाबाटै पोखरीको नाम रहन गयो ।’
उचाइमा रहेको डाँडा । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइ । त्यही डाँडामाथि दुई सय मिटर क्षेत्रफलमा फैलिएको आकर्षक पोखरी । पोखरीको पानी कहिल्यै सुक्दैन । पोखरीमा माछा पाइँदैन । सुन्दा जोकोही अचम्मित हुन्छन् ।
मुहानविनाको पोखरीबाट उत्तरतिर हेरे आँखाअगाडि टलक्क टल्केका हिमशृंखला देखिन्छन् । पोखरीआसपास शंखढुंगा, नागढुंगा, स्तुपा र जंगलको लोभलाग्दो मनोरम दृश्य । पोखरीको दक्षिणतिर स्थानीय यलम्बर राईले ओखर खेती लगाएका छन् । राईले ३० वर्षदेखि बाँझिएको १५ रोपनी जग्गामा ‘पावर फुड’ भनेर चिनिने ३०० बोट ओखर रोपेका हुन् ।
पोखरीआसपासका जंगल खर्क र चरिचरनका लागि उपयुक्त मानिन्छ । पोखरीआसपास चरिरहेका चौंरी, याक र भेडाका बथान देख्दा बहानेपोखरी पुगेकाको आँखा शीतल र मन फुरुङ्ग बनाइदिन्छ । ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा रहेको बहानेपोखरी पुग्नुभयो भने यस्तै–यस्तै आकर्षक दृश्य नियाल्न सकिन्छ ।
‘१५–२० वर्षअघिसम्म पोखरीको पानी खाइन्थ्यो,’ तेजबहादुरले सुनाए, ‘हिजोआज खाइँदैन । पोखरीको पानी प्रदूषित हुन थालेपछि प्रयोगमा ल्याउन छाडिएको हो ।’ गाउँ–गाउँबाट खर्क ल्याउनेको कमी छैन । खर्कका लागि बहानेपोखरी ल्याइएका पशुचौपायाले पोखरीकै पानी खाने गर्छन् । मानिस र पशुचौपायाको उपस्थिति बाक्लिएपछि पोखरीको पानी प्रदूषित बन्दै गएको बताइन्छ ।
दसैं–तिहारका अवसरमा खोटाङवासीले घुमघामको तालिकामा बहानेपोखरी पार्नुभयो उपयुक्त हुन्छ । घुमघाममा निस्कनु भनेको मनोरञ्जनमात्रै होइन, आफू बसेको समाजमा कस्ता–कस्ता मानिस बस्दारहेछन् ? उसलाई असर पार्ने कुरा के–के रहेछन् ? तिनको हालखबर के रहेछ भनेर बुझ्ने अवसर पनि हो ।
दुःखमा पनि आनन्द लिनु भनेको घुमघामै हो । हिँड्दा–हिँड्दा शरीर थाके पनि मन आनन्दित हुन्छ । यो घुमघामको विशेषता हो । पत्रकार मोहन मैनाली भन्छन्, ‘अन्य दुखाइमा मन पनि दुख्छ । तर, घुमघाममा त्यस्तो हुँदैन ।’
आकाश हेर्यो नीलो । उत्तरतिर हेर्दा सेतै हिमाल । चारै दिशा आँखा डुलाउँदा हरियो कार्पेट ओछ्याएजस्तो जंगल । तीन रङको संयोजनले जोकोहीलाई फुरुङ्ग पार्ने नै भयो । बहानेपोखरी पुगेपछि मानिसको मन चंगा भएरै छाड्छ । स्थानीय जनजीवन बुझ्न सघाउँछ ।
बहानेपोखेरी पुग्नेले नागढुंगा, शंखढुंगा, स्तुपा नटेके यात्रा अधुरो मानिन्छ । पोखरीआसपासका जंगलमा फुलिरहेका लालीगुराँस, चिमाललगायतको सुगन्घले तपाईंको यात्रा सुगन्धित बनाउँछ । आफ्नै अघि चौंरी, याक र भेडा चरिरहेको देख्न सकिन्छ । उनीहरूलाई छुन सकिन्छ ।
‘बहानेपोखरी बबाल लाग्यो,’ कांग्रेस खोटाङ आमन्त्रित सदस्य सयन्द्र राईको भनाइ छ, ‘पोखरीको डिलमा बसेर प्रकृतिको मनोरम दृश्य नियाल्दाको आनन्द करोडौंमा पनि किन्न सकिँदैन ।’
‘बहानेपोखरी प्राकृतिक हो,’ ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन राईले सुनाए, ‘प्रकृतिको सुन्दर उपहार बहानेपोखरीलाई कतै पनि नबिगारी पर्यटन प्रवद्र्धन गर्न पालिकाले प्राथमिकतामा राखेको छ ।’
सालिन्दा नेपाली नयाँ वर्षको दिन विभिन्न शीर्षकमा बहानेपोखरी पुग्नेहरू बढ्दै गएको स्थानीय बताउँछन् । उनीहरूका अनुसार, वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे पूर्णिमा (उँधौली)मा यहाँ पूजाआजा गरिन्छ । भव्य मेलासमेत लाग्छ । जनैपूर्णिमा र मंसिर पूर्णिमामा धामीझाँक्रीको समेत भीडभाड लाग्छ ।
‘शनिबार धेरै आउँछन्,’ पोखरीछेउमै सात वर्षदेखि पसल सञ्चालनमा ल्याएकी पसी शेर्पाले भनिन्, ‘अन्य दिन फाट्टफुट्टमात्रै ।’ शेर्पाको पसलको मेनु त्यति महँगो छैन । २५० मा दालभात र मासुभातको ३०० रुपैयाँ पर्छ । बास बसेको १५० मात्रै ।
बहानेपोखरी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई दृष्टिगत गर्दै यलम्बर राईले समेत ड्रिम हाउस निर्माण गरेका छन् ।