काठमाडौं उपत्यकावासी ७ दिन घरभित्रै बस्नुपर्ने


काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्नेगरी आदेश जारी गरेको हो ।

कोभिड–१९ संक्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै बुधबार राति १२ बजेदेखि भदौ १० गते लागू हुनेगरी उक्त आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । संक्रामक रोग ऐन–२०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम काठमाडौं उपत्यकाभरि लागू हुनेगरी उक्त निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार बुधबारदेखि औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउनेगरी १७ बुँदे निर्णय गरिएको छ । अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ ।

जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन । कोभिड–१९ को संक्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको तस्बिरसहितको परिचयपत्रका आधारमा बिहान ९ देखि १०ः३० सम्म र बेलुका ३ देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउनेछन् । त्यसबाहेकका अन्य सवारी सञ्चालन गर्न पाइने छैन ।

सवारीसाधन सञ्चालनका लागि पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ । त्यस्ता अत्यावश्यक सवारीबाहेकका सवारी पनि सञ्चालन गर्न पाइने छैन ।

परम्परागत रूपमा र दैनिक रूपमा भइआएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेक सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना सञ्चालनमा रोक्ने यसअघिको निर्णयलाई कायमै राखिएको छ । यस्तै, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधि रोक्ने निर्णय पनि कायमै राखिएको छ ।

जानकारीअनुसार फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी संकलन, होटल, रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने निर्णयमा उल्लेख छ ।

अत्यावश्यक कामका लागि घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ । हवाई उडानबाट विदेश जानेका हकमा राहदानी, प्रवेशाज्ञा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै विमानस्थल जाने सवारीसाधनका हकमा भने सहजीकरण गरिने जनाइएको छ ।

त्यस्तै, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेमाथि कडा कारबाही गरिनेछ । उक्त आदेशको उल्लंघन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्