स्थानीय तह सरकारको उदाहरणीय कार्य


सिन्धुपाल्चोक । देश संघीयतामा गएपछि जिल्लावासीले घरदैलोमै सरकार पुगेको अनुभूति गरेका छन् । कतिपय स्थानीय तहले उदाहरणीय काम गरेर देखाएका छन् । तीमध्ये इन्द्रावती गाउँपालिका एउटा उदाहरणीय स्थानीय तह बन्न पुगेको छ ।

इन्द्रावती गाउँपालिकाले जनभावनाअनुसार विभिन्न योजना तथा परियोजना सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए । गाउँपालिकाको कार्यपालिकामा आफ्नो अल्पमत भए पनि हालसम्म कुनै पनि विषयमा अवरोध सिर्जना नभएको आमनागरिकको मागअनुसारै योजनाबद्व तरिकाले पालिकाले विकास र निर्माणका काम गर्दै आएको अध्यक्ष तामाङको भनाइ थियो ।

हालसम्म सबै वडाका टोलटोलमा मोटरबाटो खन्ने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने काम भइरहेकोे छ । विद्युतीकरणअन्तर्गत पालिका काठेपोल मुक्त गाउँपालिका घोषणाको अन्तिम तयारीमा छ भने पालिकाभित्र बसोवास गर्ने २८ हजारभन्दा बढी नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन लागिएको छ ।

स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको र गाउँपालिकाको प्रशासनिक भवनले उत्तिकै चर्चा पाइरहेको छ । प्यागोडा शैलीमा निर्माण गरिएको भवन सामाजिक सञ्जालका साथै विभिन्न सञ्चारमाध्यममा चर्चाको विषय बनेको हो । सबै वडा कार्यालयको भवन निर्माण भएर सेवा प्रवाह पनि हुन थालेको छ ।

खेलकुदको विकासका लागि सबै वडामा एक वडा एक खेल मैदानको अवधारणा ल्याई सबै वडावासीले आफ्नै वडाको मैदानमा खेल्ने अवसर उपलब्ध गराउन केही वडामा खेल मैदान निर्माण भइसकेका र केही वडामा निर्माणको अन्तिम चरणमा पुगेको छ ।

गाउँमै सुविधासम्पन्न अस्पताल

गाउँपालिकामा व्यवस्थित अस्पताल नहुँदा स्थानीयले स्वास्थ्यचौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपथ्र्यो । गाउँपालिकाले चार वर्षपछि इन्द्रावती गाउँपालिका–४ कै नवलपुर बजारमा १५ शय्याको अस्पताल निर्माण गरेपछि यो समस्या समाधान भएकाले स्थानीय उत्साहित छन् ।

अस्पताल निर्माणपछि एक्स–रे, रगत तथा स्वास्थ्य परीक्षण र औषधि खरिदका लागि चौतारा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । ५ करोड ५१ लाखको लगानीमा न्यु ड्रागइन पवित्र मल्टिपल डेभिड कम्पनीले तीन रोपनी जमिनमा बनाएको अस्पतालमा ३५ कोठा र १५ शय्या छन् ।

आकर्षक गाउँपालिका भवन

गाउँपालिकाले आकर्षक गाउँपालिका भवन बनाएको छ । सबैजसो पालिकाको भवन सामान्य या आधुनिक शैलीमा निर्माण गरिए पनि यहाँ भने पुरातात्विक प्यागोडा शैलीमा भवन बनाइएको हो । सुनकोसी अर्थात् थकाह्युल्साको किरातकालीन राज्यको इतिहास भएकाले पालिकाको भवन बनाउँदा पुरानै शैली अपनाइएको गाँउपालिकाका प्रमुख इन्जिनियर राजाराम घोरसैनीले बताए  ।

६ करोड ५१ लाखको लागतमा बनेको सो भवन स्वराज–टक्सार जेभीले १८ महिनामा निर्माण गरेको र भवनमा प्रविधिमैत्री कक्ष, हेल्प डेस्क, बैठक कक्ष र पदाधिकारीका लागि छुट्टाछुट्टै कार्यकक्ष छन् ।

जिल्लामा तीन नगर र नौ गाउँपालिका छन्  । हालसम्म इन्द्रावतीसहित मेलम्ची, बाह्रबिसे र चौतारा साँगाचोकगढी नगरपालिका तथा लिसंखुपाखर, पाँचपोखरी थाङपाल, जुगल गाउँपालिकाले कार्यालय भवन निर्माण भइसकेका छन् । भोटेकोसी, बलेफी, त्रिपुरासुन्दरी, हेलम्बु गाउँपालिकाले भने केन्द्र निश्चित गरेर भवन बनाउँदै छन्

प्रत्येक घरमा खानेपानी पुर्याइने

गाउँपालिकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान हुने भएको छ । पालिकाको वडा नम्बर ४ देखि १२ सम्मका सबै बस्ती समेटेर खानेपानी वितरण गर्न इन्द्रावती वृहत् खानेपानी आयोजना सुरु भएपश्चात् खानेपानी समस्या समाधान हुने भएको हो । आयोजनाका लागि हेटौंडास्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बोलपत्र आह्वान गरेर काम सुरु गरेको छ । सो आयोजना २० करोडभन्दा माथिको लगानीमा निर्माण थालिएको हो । उक्त आयोजनाबाट १३ हजारभन्दा बढी जनता लाभान्वित हुने र तोकिएको समयावधिअघि काम सम्पन्न हुने इन्जिनियर घोरसैनीले बताए ।

वडा नम्बर १ मा मुहान रहेको खानेपानी आफ्नो गाउँसम्म आउने भएपछि स्थानीय खुसी भएका वडा नम्बर ५ निवासी सुनील भट्टराईले बताए ।

भूकम्प स्मारक पार्क

गाउँपालिकामा भूकम्प स्मारक भृकुटी शान्ति पार्क निर्माण गर्न लागिएको छ । गाउँपालिकाका अध्यक्ष तामाङले उक्त पार्क शिलान्यासका अवसरमा यस गाउँपालिकालाई ऐतिहासिक रूपमा चिनाउनु नै गाउँपालिकाको पहिचान भएको बताए । यस्ता संरचना निर्माणले भावी पुस्तालाई अध्ययन, अनुसन्धान गर्ने ठाउँका रूपमा चिनाउन सकिने उनको भनाइ थियो ।

गाउँपालिकाले अघि सारेको योजनामा उपलब्ध स्रोतलाई दृष्टिगत गर्दै काम भइरहेको पनि अध्यक्ष तामाङले जानकारी दिए । पर्यटकीय स्थलअन्तर्गत पार्क बनाउन लागिएको र थामन ह्युल्साका रूपमा चिनिएको ठाउँलाई अब भृकुटी पार्कका रूपमा चिनाउने उनको भनाइ छ ।

राष्ट्रिय विभूति भृकुटीको विवाहमा यही बाटो प्रयोग गरेको किंवदन्ती रहेको र हालसम्म प्राप्त अभिलेखका आधारमा पनि भृकुटी पार्क निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा सो पार्क निर्माण गर्न लागिएको हो । गाउँपालिकाको १०औं गाउँसभाले सिपाघाट, ज्यामिरेमाने, नवलपुर ओखरेनी सडकमार्गलाई भृकुटीमार्ग नामकरण गरेको छ ।

भूकम्प स्मारक निर्माण

गाउँपालिकाको नवलपुरमा २०७२ को भूकम्पमा परी मृत्यु भएका गाउँवासीको सम्झनामा भूकम्प स्मृति पार्क निर्माण गरिएको छ ।

अध्यक्ष तामाङका अनुसार भूकम्पमा परी मृत्यु भएकाको नाम पार्कमा लेखिनेछ । त्यसबखत भूकम्पमा परी ५०० ले ज्यान गुमाएका थिए । भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

सबै वडा कार्यालयको आफ्नै भवन

प्रत्येक वडाको आफ्नै कार्यालय भवन बनाइएको छ । खेल क्षेत्रबाट गाउँपालिकालाई चिनाउन रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । पालिकाभित्र एक वडा एक खेल मैदानसमेत बनेको छ । विद्यालय र अस्पतालका लागी आवश्यक जनशक्ति व्यवस्था गरिएको छ । कृषिमा अनुदान र दूध बेच्ने किसानलाई गाउँपालिकाले अनुदानसमेत दिने भएको छ । स्मार्ट पालिका बनाउनका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिएको पालिकाका सूचना अधिकारी मनोज दंगालले बताए ।

गाउँपालिकाको सडक र वडा नं १० को सडक कालोपत्रे गरिएको छ । त्यस्तै, गाउँपालिका वरिपरिको एक किलोमिटर सडकसमेत कालोपत्रे गर्न लागिएको इन्जिनियर घोरसैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्