भक्तपुर । दसैंको बेलामा आकर्षक रूपमा खेलिने लिङ्गेपिङ काँठ क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेको छ । केही वर्षअघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ काठमाडौं उपत्यकामा देख्नसमेत मुस्किल परेको छ ।
दसैं आयो भन्नेबित्तिकै जसको पनि मनमा पिङ खेल्ने हुटहुटी हुन्थ्यो तर अहिले चाहेर पनि पिङ खेल्न पाइँदैन । दसैंका आगमनको सुरुवातसँगै खेलिने पिङ यसपटक देख्न पाइएन । कोरोना कहरले यसपटक दसैंमा पिङ कसैले हालेनन् ।
दसैंमा लिङ्गेपिङले दिने रौनक हराउँदै गएको छ भने विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको पुराना पुस्ताले बताउँछन् ।
एउटा जिल्लामा सयौंको संख्यामा देखिने यस्ता लिङ्गेपिङ भक्तपुरको सहरी क्षेत्रमा देखिएका छैनन् भने ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिएका हुन्छन् । बस्ती बाक्लिँदै गएकाले पिङ हाल्ने ठाउँ अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बाबियाको डोरीको समेत अभाव भएकाले पिङको संख्या कम हुँदै गएको चाँगुनारायण नगरपालिका–९ का ७३ वर्षीय रामेश्वर खत्रीले बताए ।
दसैंको बेलामा प्रत्येक व्यक्तिले एकपटक जमिनबाट पाउ अर्थात् खुट्टा हटाउनैपर्ने मान्यताअनुसार परम्परादेखि पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न मुस्किल परेको खत्रीको भनाइ छ ।
वर्षको एकपटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि अहिले पहिलेजस्तो पिङ खेल्ने दसैंमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ ।
सूर्यविनायक नगरपालिका–१ सिरुटारकी की २७ वर्षीया अनुषा आचार्यले पिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्ने चाहना चार वर्षदेखि अधुरै रहेको बताइन् । विगतमा बाटोबाटोमा पिङ भेटिने भएकाले मामाघर जाँदा र अन्य क्षेत्रमा जाँदा पिङ खेल्न पाइने तर पछिल्लो समय पिङ कतै देख्न नपाएकाले खेल्नसमेत नपाइएको उनको भनाइ छ ।
युवापुस्ता भने पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवम् आवश्यकता घट्दै गएको बताइन्छ । मध्यपुर थिमी–३ कौशलटारका मनीष गौतमले पिङभन्दा पनि इन्टरनेटलगायत विभिन्न गेम खेल्ने भएकाले पिङको महत्व घट्दै गएको बताउँछन् ।
नयाँ पुस्ता दसैंमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकैठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व घट्दै गएको उनको ठम्याइ छ ।