चिताएको पूरा भएपछि हलेसीमा १ तोलाको सुनको सिक्री


तस्बिर : सयन्द्र राई

हलेसी (खोटाङ) । त्रियुगा नगरपालिका–६ जलजले उदयपुरनिवासी प्रभा राईले हलेसी महादेवको नाममा १ तोला ४ लालको सुनको सिक्री चढाएकी छन् ।

त्रिनपा–१४ साउनेमा रहेको साउने स्वास्थ्यचौकीमा कार्यरत अनमी राईले पुस २७ गते हलेसी दर्शन गरी भाकल गरेअनुसार सुनको सिक्री चढाएकी हुन् ।

‘लोकसेवा आयोग पास गरें भने सुनको सिक्री चढाउँछु भनेर ६ वर्षअघि हलेसी आएर भाकल गरेकी थिएँ,’ हलेसी दर्शनपछि तिलुङ होटलमा बसेकी उनले सुनाइन्, ‘हलेसी दर्शन गरी भाकल गरेर जागिर खाएको ६ वर्ष पूरा भयो । विविध कारणले समयमै भाकल पूरा गर्न असमर्थ रहें । २०७६ चैतमा भाकल पुर्याउन हलेसी आउने योजना बनाएकी थिएँ । कोरोना महामारीले सम्भव भएन । ढिलै भए पनि भाकल पूरा गर्दा महादेव कति खुसी हुनुभयो थाहा भएन । तर, मचाहिँ असाध्यै खुसी छु । मन हल्का भएको छ ।’

तस्बिर : सर्वधन बस्नेत

प्रभा राईले हलेसी महादेवको नाममा चढाएको सुनको सिक्री हलेसी महादेवस्थान विकास समिति प्रतिनिधि सर्वधन बस्नेत, हलेसी गुफाका पुजारी गोपाल गिरी र श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति प्रतिनिधि हर्कराज राईले कागज गरेर लिएका छन् । बस्नेत, गिरी र राईले कागज गरेर बुझ्नअघि सुनको सिक्री शिवजीलाई छुवाइएको थियो ।

दर्शनार्थीले विभिन्न समयमा चढाएका सुन तथा चाँदी हलेसीकै नाममा सदुपयोग गरिने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए । नगरप्रमुख राईका अनुसार दर्शनार्थीले चढाएका सुन, चाँदी शिवजी तथा पार्वतीलाई चाडबाडविशेषमा गहना पहिर्याउन सदुपयोग गरिनेछ ।

हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले दर्शनार्थीले हलेसीमा चढाएका सुन, चाँदी हलेसी मन्दिरकै सम्पत्तिस्वरूप रहने जानकारी गराए ।

तस्बिर : सर्वधन बस्नेत

हलेसी दर्शन गरेर सुनको गहना चढाउँदा दर्शनार्थी राईले लोकसेवा तयारी गरिरहेका बहिनीहरूको परीक्षा सफलताको कामना गरेकी छन् । ‘मैले बहिनीहरूको लोकसेवा परीक्षा सफलताको कामना त गरें नै,’ उनले मनको कुरा खोलिन्, ‘बहिनीहरूले लोकसेवा परीक्षा उत्तीर्ण गरे पहिलो महिनाको तलबबापतको रकम वा त्यति रकमबराबरको सुनको गहना चढाउने भाकल गरेकी छु ।’

उदयपुरकी प्रभा राईकी आमाको दुवै मिर्गौला काम नलाग्ने भएको छ । राईले हलेसी दर्शन गरेर आमाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छन् । उनले सरकारी जागिरमात्रै होइन, सन्तानसुखको कामना गर्दै हलेसी महादेवसँग वर मागेकी थिइन् । नभन्दै उनलाई सन्तान सुखमात्रै होइन, सरकारी जागिरेको भूमिकामा समेत देख्न पाइएको छ । हलेसी दर्शनपछि उनको चिताएजति इच्छा आकांक्षा पूरा भएको हो ।

‘म लिम्चुङबुङ गाउँपालिकामा कार्यरत थिएँ । लिम्चुङबुङबाट हलेसी प्रस्टै देखिन्छ,’ उनले पुछारमा भनिन्, ‘करार सेवाको दुःखबारे करारमा काम गर्नेलाई थाहा हुन्छ । मैले लिम्चुङबुङबाटै रात–दिन हलेसीलाई ढोग्दै चाँडै स्थायी सेवामा प्रवेश गर्न पाऊँ भनी प्रार्थना गर्थें । मेरो प्रार्थना हलेसी महादेवले पूरा गरिदिनुभएकोमा कोटी–कोटी प्रणाम ।’

प्रतिक्रिया दिनुहोस्