कात्तिके (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडासदस्य डिल्ली चाम्लिङले १० हजार रुपैयाँ र खेल सामग्री सहयोग गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत रहेका वडासदस्य चाम्लिङले तल्लो कात्तिकेमा स्थापित दुई समूहलाई आर्थिकसहित खेल–सामग्री सहयोग गरेका हुन् । उनले साबिक महादेवस्थान गाउँ विकास समितिको ६ र ९ नम्बर वडामा स्थापित जनकल्याणकारी सेवा समाज र सदावहादर सांस्कृतिक समाज तल्लो कात्तिकेलाई पाँच/पाँच हजार र एक–एक सेट भलिबल–नेट हस्तान्तरण गरेका हुन् ।
‘जनप्रतिनिधिले पाउने भत्ताबापत सहयोग गरेको हुँ,’ उनले भने, ‘मेरो सानो सहयोगले स्थानीय युवाको खेल क्षमता वृद्धि होस् । मैले गरेको आर्थिक सहयोगले दुवै खेलमैदान स्तरोन्नति गर्न दुई–दुई घन्टाबराबरको स्काभेटरको शुल्क बुझाउन सहयोग पुग्नेछ ।’
तल्लो कात्तिकेमा रहेको खेलमैदानमा गरिएको कार्यक्रममा वडासदस्य चाम्लिङले आर्थिक र खेलसामग्री हस्तान्तरण गरेका थिए । चन्द्रकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष चइन्द्र राई, नेकपा जिल्ला कमिटी सदस्य शुक्र विक, वडा कमिटी सचिव धनकुमार भुजेललगायत स्थानीयको सहभागिता रहेको थियो ।