‘सम्धीसाप तपाईंलाई जीवनभरि कहिल्यै नेता मान्दिनँ’



नेकपा खोटाङ ओली समूहले संसद् विघटनको पक्षमा २०७७ पुस १२ गते मोटरसाइकल र्याली निकाल्यो । त्यसको दुई दिनपछि पुस १४ गते नेकपा खोटाङ प्रचण्ड–माधव समूहले संसद् विघटनको विरोधमा कार्यक्रम गर्यो ।

संसद् विघटनविरुद्ध दिक्तेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताका सूचीमा पूर्वसांसद पाँचकर्ण राई (पीके)को नाम समावेश थियो । तर, पुस १३ गते राति नै नेता राई र नेकपा जिल्ला कमिटी सचिव रामप्रसाद दंगाल काठमाडौं लागे ।

आफ्ना नेता सुटुक्कै काठमाडौं लागेको थाहा पाएपछि नेकपा खोटाङ जिल्ला कमिटी सचिवालय सदस्य खडेन्द्रकुमार राईले टेलिफोन गरेर पीके राईलाई भने, ‘सम्धीसाप अबदेखि तपाईंलाई जीवनभरि कहिल्यै नेता मान्दिनँ ।’ सम्धीद्वयको टेलिफोन वार्तामा पीके राईले के प्रतिउत्तर दिए थाहा भएन । तर, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य खडेन्द्रकुमार राईले पीके राईसमक्ष आक्रोश व्यक्त गरे, ‘जिन्दगानीमा अब तपाईंको राजनीति सकियो ।’

‘हिजो बालुवाटार बैठकबाट पार्टीको केन्द्रीय सदस्य बनाएकोमा जसले प्रस्ताव गर्नुभयो, धेरै–धेरै धन्यवाद र आभार व्यक्त गर्दछु,’ नेकपा ओली समूहको केन्द्रीय सदस्यमा मनोनीत गरिएकै दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङ सचिव रामप्रसाद दंगालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘म पार्टीको जिल्ला सचिव र प्रदेश कमिटी सदस्यसमेत रहेको हुँदा हाल यो पार्टीको केन्द्रीय सदस्य पदमा आफू नरहने जानकारी गराउन चाहन्छु । धन्यवाद ।’

नेताद्वय राई र दंगाल नेकपा ओली समूहमा लागेपछि नेकपा खोटाङमा चर्चा चुलिएको छ । ओली समूह छाडेर नेपाल समूहतिर लागेका राई पुनः पुरानै क्याम्पमा फर्केका छन् भने नेकपा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका नेता दंगालसमेत अन्ततः ओली समूहमा लागेर कित्ता ‘क्लियर’ गरेका छन् ।

नेता राई र दंगालले कित्ता ‘क्लियर’ गरेसँग नेकपा हलेसी तुवाचुङ नगरपालिकामा समेत विभाजनको रेखा कोरिएको छ । नेकपा हलेसी तुवाचुङ नगरपालिकामा प्रचण्ड–माधव समूहको बहुमत देखिन्छ । प्रचण्ड–नेपाल समूहमा नेकपा खोटाङ जिल्ला कार्यालय सदस्य जीवन राई (संगीन), जिल्ला कमिटी सचिवालय सदस्य खडेन्द्रकुमार राई, अकिलकुमार राई, चइन्द्र राई, हस्तबहादुर राई (आमोद), जिल्ला कमिटी सदस्य राजुविक्रम चाम्लिङ, तारा राई, विष्णु दाहाल, वर्णकुमार राई, जुद्ध पुलामी, उदय राई र कुमार बुढाथोकी रहेका छन् भने नेकपा वडा नम्बर १ पार्टी अध्यक्ष एलबी राई छन् ।

यसैगरी, नेकपा हलेसी तुवाचुङ नगर कमिटी सचिव गोपाल दाहाल, नगर कमिटी सचिवालय सदस्य यादन राईसमेत यही समूहमा छन् । नेकपा हलेसी तुवाचुङ नगर कमिटी सचिवालय सदस्य राई हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको जनमत प्रभावित गर्न सक्ने युवा नेतामा पर्छन् । उनले नलपुर र समग्र अर्खौलेका राई समुदायको मत ‘क्याप्चर’ गर्न सक्नेमा पर्ने बताइन्छ ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा वडाध्यक्ष हरिकुमार खड्का र हलेसी तुवाचुङ नगरपालिका–३ वडाध्यक्ष भलाराज राई समेत प्रचण्ड–माधव समूहमा छन् । नेकपा हलेसी तुवाचुङ नगर कमिटी सचिवालय सदस्यसमेत रहेका वडाध्यक्ष खड्का प्रस्टै नखुले पनि आफू माधव नेपालतिरै रहेको अभिव्यक्ति दिने गरेका छन् ।

उता, च्यास्मिटार वडाध्यक्ष राई र नेकपा खोटाङ जिल्ला कार्यालय सदस्य खडेन्द्रकुमार राई सम्धी–सम्धी हुन् । खडेन्द्र प्रचण्ड–माधव समूहमा भएकाले भलाराज राई पनि सोही समूहमा रहनेमा द्विविधा रहेन ।

हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष सुरेन्द्रकुमार राई भने ओली समूहमा रहेका छन् । अध्यक्ष राईले प्रचण्ड–नेपाल समूहका नेता राजुविक्रम चाम्लिङलाई टेलिफोन गर्दै भनेका थिए, ‘ओलीले नेकपाको भ्रुण हत्या गर्यो । मलाई पटक्कै चित्त बुझेको छैन । म बाध्यताले ओलीपट्टि लागें । तर, ओलीको पार्टीमा आउनुस् भनेर कसैलाई भन्दिनँ ।’

नेकपा ओली समूहमा रमेश पौडेल, भूपेन्द्रकुमार राई, सम्मरबहादुर भुजेल, किशोरकुमार श्रेष्ठ, रमेश तिवारीलगायत नेता खुलेका छन् । पौडेल राष्ट्रिय युवा संघ सहसंयोजकसमेत हुन् । उनी नेकपा ओली समूह केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

राजनीति सत्ताबाट प्रभावित हुने सर्वविदितै छ । नेकपा विभाजनको असर तल्लो तहसम्म परेको छ । ‘अब मतदातालाई सोचेजस्तो तरिकाले कन्भिन्स गर्न गाह्रो देखियो,’ हलेसी तुवाचुङ नगरपालिकाका एक नेताको ठम्याइ छ, ‘सूर्य चिह्न कसले पाउँछ भनेर तलका कार्यकर्ताले पर्ख र हेरको अवस्थामा रहेको बुझिन्छ । त्यसपछि पार्टी विभाजनको रेखा प्रस्ट कोरिनेछ ।’

खडेन्द्रकुमार राई र अकिलकुमार राईले खुट्टा दह्रो टेकेमा हलेसी तुवाचुङ नगरपालिकामा प्रचण्ड–माधव समूहको बहुमत देखिन्छ । ती नेताको बुझाइ छ, ‘तर, पीके राई ओली समूहमा लागेकाले हलेसी तुवाचुङ नगरपालिकामा नेकपाको मत प्रभावित हुने देखिन्छ ।’

स्मरण रहोस्, साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का ‘झङ्कार’ र केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईबाहेक खोटाङका जुन–जुन पालिकामा नेकपाबाट विजयी जनप्रतिनिधि छन्, सबै नेकपा ओली समूहमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्